ठूला सवारीका कारण बीपी राजमार्ग जोखिममा

साँघुरो घुमाउरो सडक त्यहीँमाथि भूकम्पले पटकपटक भत्काएको सडकमा सरकारले पुनः ठूला सवारीलाई अनुमति दिएपछि स्थानीय तथा यात्रु चिन्तित छन् । बर्खायाम लागेसँगै दिन प्रतिदिनको झरीले राजमार्गलाई कमजोर बनाइसकेको छ ।

ठूला सवारीसाधन चल्न थालेपछि बीपी राजमार्गमा जोखिम बढ्ने सङ्केत देखिएको छ । भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले केही साताअघि बीपी राजमार्गमा ठूला सवारीसाधनलाई रोक लगाए पनि केही दिनअघि पुनः ठूला अनुमति दिएपछि राजमार्गमा जोखिम बढ्ने सङ्केत देखिएको हो ।
सिन्धुली–खुर्कोट सडकखण्ड अत्यधिक घुमाउरो भए पनि त्यही राजमार्गमा लामो समयदेखि बन्देज लगाइएका ठूला सवारीलाई मन्त्रालयले चल्न दिने निर्णय गरेसँगै राजमार्गमा ठूला सवारीको चाप समेत बढेको यात्रुको गुनासो छ । ठूला सवारीसाधन गुड्न थालेपछि साना यात्रुवाहक सुमो, माइक्रोलगायत सवारीलाई ठूला सवारीलाई चेप्न खोज्ने गरेको यात्रुको भनाइ छ ।

साँघुरो घुमाउरो सडक त्यहीँमाथि भूकम्पले पटकपटक भत्काएको सडकमा सरकारले पुनः ठूला सवारीलाई अनुमति दिएपछि स्थानीय तथा यात्रु चिन्तित छन् । बर्खायाम लागेसँगै दिन प्रतिदिनको झरीले राजमार्गलाई कमजोर बनाइसकेको स्थानीय बासिन्दा बताउँछन् ।

गत वर्ष मात्र बर्खायाममा खुर्कोट नजिकै ठूलो पहिरो गई त्यस क्षेत्रमा चल्ने सवारीसाधन ठप्प हुने स्थितिमै पुगे । तर त्यस क्षेत्रको स्थिानीयको पहलमा अर्को विकल्प बाटो सञ्चालनमा ल्याएपछि यात्रुवाहक बस सञ्चालनमा आउन थालेका हुन् । त्यो परिस्थिति यस वर्ष पनि नदोहारिएला भन्न सकिन्न ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीले सडकको अवस्था र यात्रुको चापलाई दृष्टिगत गरी उक्त सडकमा ठूला सवारी अनुमति दिन बाध्य भएको जनाए ।

उनका अनुसार बीपी राजमार्गमा चल्ने सवारीलाई दृष्टिगत गर्दै नयाँ कार्य योजना बनाइएको छ । राजमार्गमा प्रविधिक टोलीले जाँच गरी सडक क्षमताअनुरुप मात्र ठूला सवारी प्रवेश दिइएको उनले बताए ।

उनले अझै बीपी राजमार्गको स्थितिलाई हेरेर तथा गहन छलफल एवम् नयाँ योजनाबाट राजमार्गलाई व्यवस्थित बनाउने प्रतिबद्धतासमेत उनले व्यक्त गरे । अहिले स्थानीय तथा यात्रुले सरकारको यो कदमलाई विरोध जनाइरहेका छन् । ‘त्यो समस्यालाई पनि हामी क्रमबद्ध रुपमा विस्थापन गर्नेछौं,’ उनले भने ।

उता स्थानीय बासिन्दा र यात्रु भने बर्खायाम सुरु भएका कारण पहिरो तथा अन्य प्राकृतिक विपत्ति आउन सक्ने भन्दै त्रसित छन् । नेपालकै नमुना सडकका रुपमा चर्चित नेपाल थोक–खुर्कोट सडकखण्डको भविष्य धरासयी बन्ने पो हो कि भन्ने यात्रुको भनाइ छ । त्यस क्षेत्रमा अत्यधिक सवारीको चापसमेत रहेको आइतबार मात्र दोलखादेखि काडमाडौं आएका विष्णु काफ्लेले बताए । ठाउँठाँउमा ढुङ्गामाटो खसिरहेको र झरीले जमिनलाई पनि कमजोर बनाएको उनको भनाइ छ । अहिले बीपी राजमार्गको धुलिखेलदेखि नेपालथोकसम्मको सडकखण्ड दयनीय भइसकेको समेत उनले बताए ।

ठूला मालसामन बोकेका ट्रक, एस्काभेटर, डोजर, तथा अन्य सिन्धुली, ओखलढुङ्गा, रामेछाप, दोलखा, विराटनगर, काँकडभिट्टालगायत लामो दूरीका ठूला बसका करण सडकमा धेरै खाल्डा देखिन थालिसकेको उनले जानकारी दिए । राजमार्गमा बढी भार बोकेका सवारीसाधन चल्न थालेपछि राजमार्गको भविष्य नै खतरामा परेको उनको भनाइ छ । ‘यात्रुको सहजताका लागि साना यात्रुवाहक बस नै उपयुक्त हुन्छ,’ काफ्लेले भने ।

सरकारको यो कदमअघि पनि अत्यधिक मात्रामा बस, मोटरसाइकल एकआपसबीच ठोक्किने तथा घुमाउरो सडकका करण बस पल्टने समस्या हँुदै आएको थियो । तर अहिले मन्त्रालयको यो कदमले यात्रु तथा स्थानीय मारमा पर्ने तथा दुर्घटनाका हिसाबले पनि अत्यन्त जोखिम हुने देखिएको छ ।
यातायात व्यवस्था विभागका निर्देशक तुल्सीराम अर्याल भने यात्रुलाई दृष्टिगत गरी उक्त सडकखण्ड खोलिएको दाबी गर्छन् । अहिले बीपी राजमार्गमा ३२ सिटे सवारीलाई बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन अनुमति दिइएको उनले जानकारी दिए ।