बीबी एयरवेजले बोइङ व्यवस्थापन नगरे काटेर हटाउने विमानस्थलको तयारी

टीबीआई गु्रपअन्तर्गतको बीबी एयरवेजले नेपाल एयरलाइन्सको जहाज खरिद गरे पनि बीबी एयरवेजसँग वायुसेवा सञ्चालन अनुमतिपत्र खारेज भएका कारण स्वामित्व भने हस्तान्तरण भएको छैन ।

नेपाल एयरलाइन्समार्फत बीबी एयरवेजले खरिद गरेको बोइङको व्यवस्थापन २ महिनाभित्र गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बीबी एयरवेजलाई निर्देशन दिएको छ ।

नेपाल एयरलाइन्सको ३० वर्ष पुरानो जहाज बीबी एयरवेजले १५ करोड १७ लाखमा खरिद गरे पनि जहाज विमानस्थलमै पार्किङ मात्र गरेर राखेको भन्दै व्यवस्थापन गर्न र नगरे काटेर हटाउने भन्दै विमानस्थल कार्यालयले बीबी एयरवेजलाई समयसीमा दिएको हो ।
‘हामीले बीबी एयरवेजलाई जहाज व्यवस्थापन गर्न दुई महिनाको समयसीमा दिएका छौं,’ विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने । नेपाल नागरिक उडड्यन प्राधिकरण, विमानस्थल कार्यालय र बीबी एयरवेजबीच एकसाताअघि मिटिङ गरेर जहाज व्यवस्थापनका लागि सयमसीमा दिइएको उनले बताए । ‘समयसीमाभित्र जहाज व्यवस्थापन नभए विमानस्थल कार्यालयले आफ्नै तरिकाले व्यवस्थापन गर्छ,’ उनले भने ।

टीबीआई गु्रपअन्तर्गतको बीबी एयरवेजले नेपाल एयरलाइन्सको जहाज खरिद गरे पनि बीबी एयरवेजसँग वायुसेवा सञ्चालन अनुमतिपत्र खारेज भएका कारण स्वामित्व भने हस्तान्तरण भएको छैन ।

विमानस्थलमा साढे दुई वर्षदेखि ग्राउन्डेड बोइङ ७५७–२०० जहाज गत असोजमा खरिदका लागि बैना गरेर गत माघमा पुरा रकम भुक्तान गरेको थियो ।

दुई महिनाभित्र जहाज व्यवस्थापन हुने टीबीआई गु्रपका निर्देशक शिशिर भट्टले बताए । ‘हामीलाई दुई महिनाको समयसीमा छ, त्यतिबेलासम्म हामीले जहाज व्यवस्थापन गर्छाैं,’ उनले भने ।