प्रभावमा पार्न आईकाओको प्रोत्साहन प्रमाणपत्र लिन मन्त्री अधिकारीलार्इ लैजाँदै प्राधिकरण

आईकाओले आफ्नो बुलेटिन सार्वजनिक गरेर क्यानलाई निमन्त्रणा गरेपनि क्यानका महानिर्देशक सञ्जीव गौतमले मन्त्री अधिकारीलाई लिएर अर्काे साता क्यानडा जान लागेका हुन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) ले नेपाललाई गम्भीर सुरक्षा चासोबाट हटाइएको प्रोत्साहन प्रमाणपत्र ग्रहणका लागि आईकाओले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निमन्त्रणा गरेपनि प्राधिकरणले पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पठाउने भएको छ ।

आईकाओले आफ्नो बुलेटिन सार्वजनिक गरेर क्यानलाई निमन्त्रणा गरेपनि क्यानका महानिर्देशक सञ्जीव गौतमले मन्त्री अधिकारीलाई लिएर अर्काे साता क्यानडा जान लागेका हुन् । नेपालसहित १४ देशका निर्देशक तहका कर्मचारी उपस्थित हुने कार्यक्रममा प्रभावमा पार्न प्राधिकरणले मन्त्री अधिकारीलाई लैजान लागेको प्राधिकरणका एक निर्देशकले क्यापिटल नेपाललाई बताए ।

‘प्रधानमन्त्रीले मन्त्रीहरुलाई विदेश जान कडाइ गरिरहेकै बेला क्यानले मन्त्रीलाई प्रस्ताव गरेर क्यानडा लैजानु अर्थपूर्ण छ,’ उनले भने । आईकाओको निमन्त्रणा मन्त्रीलाई पनि आएको हैन क्यानलाई बुलेटिनमार्फत आएको हो, सामान्य निमन्त्रणमा प्रमाणपत्र थाप्न मन्त्री जानु राम्रो नहुने उनले बताए ।

यो कार्यक्रममा नेपालभन्दा पनि कमविकसित र विकसित मुलुकहरु पनि छन् तर अरु मुलुकबाट निर्देशक वा महानिर्देशक तहका कर्मचारी प्रमाणपत्र ग्रहण गर्न जाने भएकाले मन्त्रीज्यूलाई लैजान लागेको विषय अर्थपूर्ण रहेको उनको भनाइ छ ।

आईकाओले नेपाललाई झन्डै ४ वर्षपछि गम्भीर सुरक्षा चासोको सूचीबाट गत जुलाईमा हटाएको थियो । नेपालले सन् २०१७ मा सुरक्षा चासोको मापदण्ड पूरा गरेकाले आईकाओले प्रमाणपत्र प्रदान गर्न लागेको हो ।

नेपालसहित बङ्गलादेश, बुर्किना फासो, कोस्टारिका, तान्जिनिया, रुवान्डा, इक्वेटरियल घिनी, रोमानिया, पानामा, कुवेत, जोर्डन, इन्डोनेसिया, पोर्चुगल र फिनल्यान्डलाई आईकाआले क्याउन्सिल प्रेसिडेन्ट सर्टिफिकेट प्रदान गर्न लागेको हो ।

नेपालको हवाई सुरक्षा सम्मानका लागि प्रदान गरेको अवार्डका लागि मन्त्री नै जान लागेको प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए । ‘खासमा महानिर्देशक मात्र जाने योजना हो, तर आईकाओले तीन महिना नेपालमै बसेर धेरै सहयोग र सुझाव दिएको थियो । त्यसकारण मन्त्रीज्यू नै जान लाग्नुभएको हो,’ उनले भने ।