भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणपछि भारतीय पर्यटक बढ्दै

भारतीय पर्यटकलाई चितवनमा ल्याउन केही समयअघि मात्र पटना, बनारस र लखनऊमा ’चलिए पडोशी के पास, हरपल खुशहाल नजारा भी खास‘ भन्ने नारासहित त्यहाँ रहेका ट्राभल एजेन्सी, होटल व्यवसायी र पर्यटन व्यवसायीहरुसँग छलफल गरी प्रचारप्रसार गरेर फर्किएको घिमिरेले बताए ।

शितलता खोज्दै भारतीय पर्यटकहरु नेपाल आउन थालेका छन् । डाँडाकाँडाले भरिपूर्ण नेपालमा भारतभन्दा धेरै कम गर्मी हुने भएकाले नजिकको गन्तव्य नेपालमा गर्मी छल्न आउने भारतीयको सङ्ख्या बढ्दै गएको हो ।

भारतमा यतिबेला अधिकांश स्कुलहरु बिदा हुने भएकाले घुमघामका लागि रोजाइमा नेपाल पर्ने गरेको होटल एसोसिएसन अफ नेपाल (हान)का महासचिव विनायक शाहको भनाइ छ । ’यो समय भारतीय पर्यटकहरुको सिजन हो,’ महासचिव शाहले भने, ‘अहिले नेपालका अधिकांश होटलहरु भारतीय पर्यटकले नै भरिएका छन् ।’ भारतमा ४५/४६ डिग्री तापक्रम हुने भएकाले धेरै भारतीयहरु नेपाल आउने गरेका छन् । धार्मिक यात्रा पनि हुने र गर्मी पनि छलिने भएकाले उनीहरुको रोजाइमा नेपाल पर्ने गरेको हो ।

नेपाल आउने भारतीय पर्यटकहरु पोखरा, सौराहा, मुस्ताङ र काठमाडौंमा बढी घुम्ने गरेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।

नेपालको तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा पछिल्लो पटक भारतीय पर्यटकहरु धेरै आउन थालेका छन् । क्षेत्रिय होटल सङ्घ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरेले सौराहा आउने पर्यटकको सङ्ख्यामध्ये ४० प्रतिशत भारतीय पर्यटक रहेको बताएका छन् । ‘यो समय पर्यटकका लागि अफ सिजन हो,’ अध्यक्ष घिमिरे भन्छन्, ‘तर भारतीय पर्यटकले सौराहाको होटलमा चहलपल बढेको छ ।’ नजिकको गन्तव्य भएकाले पनि भारतीय पर्यटकहरु सौराहामा बढी आउने गरेको अध्यक्ष घिमिरेको भनाइ छ ।

भारतीय पर्यटकलाई चितवनमा ल्याउन केही समयअघि मात्र पटना, बनारस र लखनऊमा ’चलिए पडोशी के पास, हरपल खुशहाल नजारा भी खास‘ भन्ने नारासहित त्यहाँ रहेका ट्राभल एजेन्सी, होटल व्यवसायी र पर्यटन व्यवसायीहरुसँग छलफल गरी प्रचारप्रसार गरेर फर्किएको घिमिरेले बताए । ‘हामी अफ सिजनमा चितवनमा कसरी पर्यटक भित्र्याउने भन्ने सोचमा लागेका छौं,’ अध्यक्ष घिमिरे भन्छन्, ‘नारायणगढ मुग्लिन सडक बनिसकेकाले अर्को वर्षबाट थप पर्यटक भित्रिन्छन् ।’

यस्तै राजधानी नजिकै रहेको चन्द्रागिरिमा पनि भारतीय पर्यटकको सङ्ख्या बढेको छ । चन्द्रागिरि हिल्स लिमिटेडका सेल्स एन्ड मार्केटिङ म्यानेजर विख्यात बिक्रम राणाले अरु बेलाभन्दा यो सिजनमा भारतीय पर्यटक बढी आउने गरेको बताए । भालेश्वर महादेवको दर्शन गर्न र चिसो हावा खान दिनहुँ बाक्लै भारतीय पर्यटक चन्द्रागिरि पुग्ने गरेका छन् ।

मन्दिरसम्म पुग्न केबलकार सञ्चालन भएकाले धेरै पर्यटकहरुको आँखा अहिले चन्द्रागिरिमै रहेको मार्केटिङ म्यानेजर राणाको भनाइ छ । उनले केबलकार सञ्चालनको दोस्रो वर्षमै उल्लेख्य मात्रामा स्वदेशी र विदेशी पर्यटक आउने गरेको बताए ।

सरकारी तथ्याङ्कअनुसार नेपाल आउने कुल पर्यटकमध्ये सबैभन्दा बढी भारतीय छन् । उनीहरुको सङ्ख्या १७.१ प्रतिशत छ ।
विगतमा दक्षिण भारतबाट बढी पर्यटक आउने भएपनि पछिल्लो पटक उत्तर भारतबाट नेपाल आउने पर्यटकको सङ्ख्या बढ्दै गएको पर्यटन व्यवसायीहरुको भनाइ छ ।

गत महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गरेपछि भारतीय मिडियामा नेपालको पर्यटनका विषयमा आएका समाचारले राम्रो प्रभाव पार्न थालेको सिलिङ्क्स ट्राभलका प्रबन्ध निर्देशक राजु ढकालले बताए ।

‘नेपाल आउने भारतीय पर्यटकको सङ्ख्या बढिरहेको छ, भारतीय प्रधानमन्त्रीको भ्रमणपछि सकारात्मक प्रभाव पर्न थालेको महसुस भएको छ,’ ढकालले भने ।