हवाई रुटको निर्णायक वार्ताका लागि भारतीय पक्ष भोलि आउँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आउँदा नयाँ हवाई रुटका लागि दुवै देशका प्राविधिकहरुलाई छलफलमा बस्न निर्देशन दिएका थिए ।

नयाँ हवाई रुटका लागि जेठ ३१ र असार १ गते निर्णायक वार्ता हुने भएको छ । वार्ताका लागि भारतको एयर्पोट्स अथोरिटी अफ इन्डिया (एएआई)का प्रतिनिधिहरु भोलि (मङ्गलबार) नेपाल आउँदैछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले एएआईका प्राविधिकहरु र नेपालका तर्फबाट नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्राविधिकहरुबीच वार्ता हुने जानकारी दिए । दुई दिनसम्म हुने वार्ता निष्कर्षमा पुग्नेमा आफूहरु विश्वस्त रहेको लामिछानेले बताएका छन् ।

वार्तामा नेपालले पहिलेदेखि माग गर्दै आएको दुई ओटा हवाई रुटको विषयमा छलफल केन्द्रित हुने बताए । नेपालले पहिलो महेन्द्रनगर र दोस्रोमा विराटनगर वा जनकपुरमध्ये एक रुट माग गर्दै आएको छ । यसअघि भारतीय पक्षसँग क्यानले ईमेल र टेलिफोनमार्फत् धेरै पटक वार्ता गरिसकेको छ । पटक पटक भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि क्यानले भारतीय पक्षलाई नेपाल आउन एक महिना अघि पत्र पठाएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आउँदा नयाँ हवाई रुटका लागि दुवै देशका प्राविधिकहरुलाई छलफलमा बस्न निर्देशन दिएका थिए ।

नेपालले यसअघि पटक–पटक हिमालय रुट दिन आग्रह गरे पनि भारतले आनाकानी गर्दै आएको छ । हिमालय रुट पाइयो हो भने चीन, थाईल्यान्ड, श्रीलङ्का लगायतका देशबाट आउने जहाज सीधै हिमालय रुट प्रयोग गरेर आउन सक्नेछन् । नेपाल र भारतका दुवै नागरिक उड्डयन मन्त्रालयबीच नयाँ एयर रुटका लागि सहमति भए पनि नेपाल र भारतबीच हुनुपर्ने खुला आकाश सम्झौता (एएसए) हुन नसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भनाइ छ ।

नेपालमा हाल सिमराको रुटबाट मात्र अन्तर्राष्ट्रिय जहाजहरु नेपाल भित्रिने गरेका छन् । सिमराबाट मात्र अन्तर्राष्ट्रिय जहाजहरु नेपाल भित्रिँदा एयर ट्राफिक जाम बढ्ने गरेको छ । एउटा मात्रै रुट प्रयोग गरेर आउँदा एयर ट्राफिक जाम बढी हुने गरेको र सबै जहाज सिमराबाट घुमेर काठमाडौं आउँदा भाडा पनि महँगो भएको प्राधिकरणले जनाएको छ ।