पर्यटक उद्धारमा ठगीः हेल्थ सेन्टरमा एक रात बसेको ३० हजारदेखि डेढलाखसम्म

हेलिकप्टर कम्पनी, ट्राभल एजेन्सी र नाम कमाएका स्थापित अस्पतालहरुले नै एक रात बसेको अस्वाभाविक शुल्क लिएको पाइएको हो ।

नेपाल आउने विदेशी पर्यटकलाई पदयात्राका क्रममा बिरामी भएका पर्यटकको उद्धार गरेर उपचार गर्ने अस्पतालहरुले एक रातको ३० हजारदेखि डेढलाख रुपैयाँसम्म बेडको शुल्क लिने गरेको तथ्य खुलेको छ ।

हेलिकप्टर कम्पनी, ट्राभल एजेन्सी र अस्पतालको मिलेमतोमा पर्यटकलाई बिरामी बनाएर र बिरामी अवस्थामा उद्धार गरी चर्काे रकम असुलेर ठगी गर्ने गिरोह सक्रिय भएको पाइएको छ । पर्यटक उद्धारको नाममा मापदण्ड नै नपुगेका अस्पताल, स्वास्थ्य संस्था र नाम कमाएका स्थापित अस्पतालहरुले नै एक रात बसेको अस्वाभाविक शुल्क लिएको पाइएको हो ।

विरामी पर्यटकको उपचारमा इरा हेल्थ प्रालिले पर्यटकबाट एक रातको शुल्क ३० हजारदेखि डेढलाख रुपैयाँसम्म असुलेको रिपोर्ट प्राप्त भएको छ । अस्पतालमा हुनुपर्ने कुनै पनि मापदण्ड नरहेको हेल्थ सेन्टरमा नेपालका स्थापित अस्पतालभन्दा पनि बढी महँगो लिइएको भन्दै अस्पतालको बिलसहित मन्त्रालयमा उजुरी परेको हो । इरा हेल्थले भारतीय पर्यटक रघु राम्पाबाट एक रातको उपचार खर्च ९० हजार रुपैयाँ लिएको छ । बिलमा रात बसेको शुल्कमात्र ३० हजार रुपैयाँ छ ।

हेल्थ सेन्टरले एक रात बस्दा १४ शीर्षकमा ८ सय १७ अमेरिकी डलर असुलेको हो । हेल्थ सेन्टरले बिरामीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठमेलमा रहेको हेल्थ सेन्टरसम्म पुर्याएबापत ५ हजार एम्बुलेन्स शुल्क असुलेको छ । त्यस्तै परामर्श शुल्क भनेर ८ हजार लिएको छ भने रेसिडेन्ट मेडिकल अफिसर तथा नर्सिङ चार्ज भनेर १० हजार लिएको छ ।

त्यस्तै स्वाकन अस्पताल, बयोधा अस्पताल, सिविक, ग्राण्डी, नर्भिक, नेपाल मेडीसिटी अस्पतालले पनि पर्यटकमार्फत चर्काे शुल्क लिएको भन्दै उजुरी परेका छन् ।

यस्तै हिमालयन सोसल जर्नी, एस द हिमालय, नेपाल हाइकिङ टिम, यूनिक एडभेन्चर, नेपाल इन्भारोमेन्टल ट्रेकिङ, नेपाल भिजन ट्रेकिङ, हिमालय सिनरी, सेभेन समिट, फ्लाइट कनेक्सन, अल्पाइन रेस्क्यु, हिमालयन रेक्स्यु, ग्रेट हिमालय, इजी हेली चार्टर सर्भिसलगायतका कम्पनीमाथि पर्यटकलाई बिरामी बनाएर वा बिरामी अवस्थामा उद्धार गरेर ठगी गरेको उजुरी परेको हो । त्यस्तै मन्त्रालयमा एयर डाइनेस्टिक, मनाङ एयर, सिम्रिक एयर, माउन्टेन हेलिकप्टर्स, हेलि एभरेष्टलगायत हेलिकप्टर कम्पनीले उद्धार गर्दा कमिसनका आधारमा उद्धार गर्ने गरेको उजुरी परेको छ ।

मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय ले त्यस्ता कम्पनीलाई छानविनको दायरामा ल्याउने जानकारी दिए ।  ‘अहिले हामीकहाँ आएको उजुरीको आधारमा छानबिन भैरहेको छ, सूचना पनि सङ्कलन गरिरहेका छौं,’ उनले भने ।

पर्यटकको बिरामीअवस्थाको बिमा रकमबाट कमिशन लिने र अस्पताल, ट्राभल र हेलिकप्टरहरुसँग मिलेमतो गर्नेमा केही पाइलटहरु पनि रहेको मन्त्रालयले जनाएको छ । पाइलटहरुले नै उद्धार कम्पनी खोलेर अवाञ्छित काम गरिरहेको पनि देखिएकाले अनुसन्धान भएको मन्त्रालयले जनाएको हो ।