अवैधानिक रुपमा मलेसिया बसेका सयौं नेपाली पक्राउ

मलेसियन सरकारले दुई महिनाको समय दिएर अवैधानिक रुपमा बसेका नेपालीलाई घर फर्कन निर्देशन दिएको थियो । समयसीमाभित्र नफर्कने कामदारलाई पक्राउ गर्ने कार्यलाई सरकारले तीव्रता दिएको हो ।

अवैधानिक रुपमा मलेसियामा रहेका विदेशी कामदारलाई धरपकड गर्ने क्रममा नेपाली कामदार पनि पक्राउ परेका छन् । मलेसियन सरकारले दुई महिनाको समय दिएर अवैधानिक रुपमा बसेका नेपालीलाई घर फर्कन निर्देशन दिएको थियो । समयसीमाभित्र नफर्कने कामदारलाई पक्राउ गर्ने कार्यलाई सरकारले तीव्रता दिएको हो ।

सरकारको आग्रहलाई अटेर गरेको भन्दै आइतबार अध्यागमन विभागले सयौंको सङ्ख्यामा नेपाली कामदारलाई गिरफ्तार गरेको हो । एनआरएन मलेसियाका संरक्षक रमेशप्रसाद तिवारीले आइतबारमात्र सयौंको सङ्ख्यामा नेपाली पक्राउ परेको जानकारी दिए । हालसम्म कति नेपाली पक्राउ परे भन्ने यकिन जानकारी भने नआएको तिवारीको भनाइ छ । पक्राउ परेका नेपालीहरुलाई छानबिनका लागि डिपोर्टेसन क्याम्प(घरफिर्ती केन्द्र)मा राखिएको छ । डिपोर्टेसन क्याम्पमा पासपोर्ट र भिषा भएको र नभएको छानबिन गरी आवश्यक कारबाही गर्ने मलेसियन सरकारको तयारी रहेको जनाइएको छ ।

मलेसियाको सरकारी सञ्चारमाध्यम बनार्माका अनुसार सयभन्दा बढी नेपाली पक्राउ परेका छन् ।

मलेसियामा रहेका अवैधानिक विदेशी कामदारलाई पक्राउ गर्ने क्रममा नेपाली कामदारहरु पनि पक्राउ परेका छन्, मलेसियास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलले क्यापिटल नेपाललाई बताए । ‘हामीले पक्राउ परेका कामदारको विवरण सङ्कलन गरिरहेका छौं,’ उनले भने ।

मलेसियामा एक लाखभन्दा बढी नेपालीहरु अवैधानिक रुपमा काम गर्दै आएका छन् । नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाले जेठ २१ गते सार्वजनिक अपिल गर्दै अवैधानिक रुपमा रहेका नेपाली कामदारलाई अगष्ट ३०, २०१८ भित्र स्वदेश फर्कन अनुरोध गरेको थियो । मलेसियन सरकारले दिएको समयसीमाभित्र घर नफर्कने नेपालीलाई अध्यागमन कानुनबमोजिम कारबाहीमा परी जेल तथा डिपोर्टेसन क्याम्प (घरफिर्ती केन्द्र)मा लामो समयसम्म राखेर यातना दिने जनाएको थियो ।

मलेसियामा नयाँ सरकार आएसँगै विदेशी कामदारलाई कडा गरिएको हो । त्यहाँको निर्वाचनकै क्रममा विदेशी कामदारलाई मलेसियामा कडा गरिने र स्वदेशी कामदारलाई विषेश प्राथमिकता दिइने घोषणा गरिएको थियो । प्रधानमन्त्री महाथिरले अवैधानिक रुपमा बसेका सबै देशका कामदारलाई आ–आफ्नो देश फर्कन निर्देशन दिएका थिए ।