श्रममन्त्रीले मागे अन्तिम श्रमस्वीकृति नपाएर मलेसिया जान नपाएका कामदारको सूची

एक महिनाअघि श्रममन्त्री विष्टले कामदारलाई आर्थिक भार पारेर ठगी गरेको भन्दै बायोमेट्रिक, भीएलएन, माइग्राम्स, जीएसजीलगायतको संस्था खारेज गरेर कारबाहीको दायरामा ल्याएका थिए । सो घोषणासँगै नयाँ व्यवस्था नहुँदा मलेसिया कामदार जाने प्रक्रिया रोकिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार व्यवसायीसँग सबै प्रक्रिया पूरा गरेर अन्तिम श्रम स्वीकृति नपाई मलेसिया जान रोकिएका कामदारको सूची मागेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घसँग आइतबार मन्त्रालयमा बैठक गरी मन्त्री विष्टले कामदारले खर्च गरिसकेर अन्तिम श्रमस्वीकृति नपाउँदा जान रोकिएका कामदारको सूची मागेका हुन् ।

‘भिसा पाएर तत्काल कति जना कामदार जान रोकिएका छन्, त्यसको सूची उपलब्ध गराउनस्, ती कामदार १५ दिनभित्र उड्छन्,’ मन्त्री विष्टले बैठकमा बताएको वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङले बताए ।

बायोमेट्रिक, भीएलएन, माइग्राम्स, जीएसजीलगायतलाई पैसा बुझाएर अन्तिम श्रम स्वीकृति रोकिएका कामदारमात्र अहिले पठाउने विषयमा छलफल भएको र त्यसका लागि सूची उपलब्ध गराउने कुरा भएको उनको भनाइ छ । ‘सबै खर्च गरेर उड्न नपाएका कामदारलाई समस्या परेपछि सङ्घकै पहलमा मन्त्री विष्टसँग बैठक बसेको हो, यो विषयमा उहाँ सकारात्मक हुनुभयो,’ उनले भने ।

सङ्घले एक साताअघि अन्तिम श्रम स्वीकृति नपाएर मलेसिया जान रोकिएका कामदारको अवस्था बुझेको थियो । विभिन्न म्यानपावर कम्पनीसँग जानकारी माग्दा अहिले २ हजार कामदार अन्तिम श्रम स्वीकृति नपाएर मलेसिया जान रोकिएको तथ्याङ्क उपलब्ध भएको गुरुङले बताए ।

एक महिनाअघि श्रममन्त्री विष्टले कामदारलाई आर्थिक भार पारेर ठगी गरेको भन्दै बायोमेट्रिक, भीएलएन, माइग्राम्स, जीएसजीलगायतको संस्था खारेज गरेर कारबाहीको दायरामा ल्याएका थिए । सो घोषणासँगै नयाँ व्यवस्था नहुँदा मलेसिया कामदार जाने प्रक्रिया रोकिएको छ ।