नेपालबाट मलेसिया जान बन्द, कामदारको नयाँ मागमा प्रमाणीकरण

कारवाहीपश्चात् नयाँ व्यवस्था नहुँदा कामदार मलेसिया जाने प्रक्रिया बन्द भएको छ । तर मलेसियास्थित नेपाली दूतावासले मलेसियन कम्पनीले लिने नयाँ कामदारका लागि प्रमाणीकरणको काम भने जारी राखेको छ ।

सरकारले नेपालबाट रोजगारीका लागि मलेसिया जाने प्रक्रिया बन्द गरेपनि मलेसियास्थित नेपाली दूतावासले नयाँ कामदारको मागलाई प्रमाणीकरण गरिरहेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारलाई बायोमेट्रिक, भीएलएन, माइग्राम्स, जीएसजीलगायतका संस्थाले ठगी गरेको भन्दै ती संस्थालाई खारेज गर्दै कारवाहीको घोषणा गरेका थिए । कारवाहीपश्चात् नयाँ व्यवस्था नहुँदा कामदार मलेसिया जाने प्रक्रिया बन्द भएको छ । तर मलेसियास्थित नेपाली दूतावासले मलेसियन कम्पनीले लिने नयाँ कामदारका लागि प्रमाणीकरणको काम भने जारी राखेको छ ।

मलेसियास्थित नेपाली दूतावासले एक महिनाको अवधिमा १६ हजार नयाँ कामदारको मागलाई प्रमाणीकरण गरेको जनाएको छ । नेपाल सरकारबाट अहिलेसम्म नयाँ कामदारको मागलाई प्रमाणीकरण नगर्न कुनै पत्र नआएकाले प्रमाणीकरण नरोकिएको दूतावासले जनाएको छ ।

‘हामीलाई अहिलेसम्म नयाँ कामदारको मागलाई प्रमाणीकरण नगर्न कुनै पत्र आएको छैन, त्यसैले काम भइरहेको छ,’ दूतावासका निमित्त राजदूत कुमारराज खरेलले बताए । ‘नेपालबाट कामदार रोकिएको विषयमा पनि कुनै जानकारी आएको छैन, यहाँ प्रक्रियाअनुसार नै काम भइरहेको छ,’ उनले भने ।

सरकारले मलेसिया बन्द गर्नुअघि सम्पूूर्ण प्रक्रिया पूरा गरेका कामदारलाई उड्न दिने जनाएको छ । सबै प्रक्रिया पूरा गरेर उड्न बाँकी करिब ८ हजार कामदारका विषयमा मन्त्रालयले सोचिरहेको मन्त्री गोकर्ण विष्टले बताए ।

अबदेखि मलेसियामा रोजगारका लागि नयाँ व्यवस्था हुन्छ, उनले भने । मलेसियासँग श्रम सम्झौता गरेर मात्र कामदारलाई आर्थिक भार नपर्ने गरी कामदार पठाउने उनले बताए । ‘मलेसियासँग कामदारको विषयमा निरन्तर कूटनीतिक पहल भइरहेको छ, छिट्टै कुनै निकास निस्कन्छ,’ उनले भने ।