समितिले फेक  रेस्क्यू छानबिनका लागि ४ अन्तर्राष्ट्रिय बिमा कम्पनीसँग जानकारी माग्यो

समितिले यसअघि ट्राभल/ट्रेकिङ एजेन्सी, अस्पताल, उद्धार संस्था तथा हेलिकप्टर कम्पनीलाई छानबिनको दायरामा ल्याइसकेको छ । ती संस्थालाई उद्धार गरेको पर्यटकको नाम, उपचार गरेको अवस्थालगायत सम्पूर्ण विवरण मागिसकेको छ ।

नेपाल आउने विदेशी पर्यटकलाई पदयात्राका क्रममा बिरामी अवस्थामा उद्धार गरी चर्काे रकम असुल गरी ठगी गरेको विषयमा छानबिन गर्न गठन गरेको समितिले अन्तर्राष्ट्रिय ४ बिमा कम्पनीलाई नेपाल आएका पर्यटकहरुले उद्धारपछि बिमा दाबी गरेको र भुक्तान गरेको विषयमा जानकारी मागेको छ ।

समितिले यसअघि ट्राभल/ट्रेकिङ एजेन्सी, अस्पताल, उद्धार संस्था तथा हेलिकप्टर कम्पनीलाई छानबिनको दायरामा ल्याइसकेको छ । ती संस्थालाई उद्धार गरेको पर्यटकको नाम, उपचार गरेको अवस्थालगायत सम्पूर्ण विवरण मागिसकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले बिरामी बनाएर तथा ‘फेक’ उद्धारका नाममा विदेशी पर्यटकसँग चर्काे रकम लिई ठगी भएको विषयमा छानबिन गर्न अन्तर्राष्ट्रिय बिमा कम्पनी ग्लोबल रेस्क्यू, बसपा, एसओएस र नोम्याड्स कम्पनीलाई नेपाल आएका पर्यटकको बिमाका विषयमा जानकारी मागेको हो ।

विभिन्न समयमा नेपाल आएर बिरामी अवस्थामा उद्धार भएका र बिमा दाबी गरेका पर्यटकहरुको विषयमा सम्पूर्ण जानकारी मागिएको छानबिन समितिका एक सदस्यले क्यापिटल नेपाललाई बताए । नेपालका विभिन्न अस्पताल, ट्राभल र हेलिकप्टर बम्पनीबाट विवरण सङ्कलन गरिसकिएका र, त्यसलाई सहयोग हुने भएकाले अन्तर्राष्ट्रिय बिमा कम्पनीसँग पनि जानकारी मागिएको उनले बताए ।

समितिले केही ट्राभल÷ट्रेकिङ एजेन्सी, हेलिकप्टर कम्पनी तथा स्वास्थ्य मन्त्रालयमार्फत केही अस्पताललाई पत्र पठाउँदै विदेशी पर्यटकको उद्धार गरेको स्थान, मिति, समय, बिरामीको नाम, ठेगाना, हेलिकप्टरको भाडा, बिरामी लगिएको अस्पतालको नाम र ठेगानाको सम्पूर्ण जानकारी यसअघि नै मागिसकेको छ ।

रवीन्द्र अधिकारी पर्यटनमन्त्री भएपछि गत डेढ महिनाअघि पर्यटकलाई बिरामी बनाउने र फेक उद्धार गर्ने ट्राभल कम्पनी, अस्पताल तथा हेलिकप्टर कम्पनीलाई कारबाही गर्ने बताउँदै त्यसका लागि मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेका थिए । समितिलाई असार १५ गतेभित्र प्रतिवेदन बुझाउन समयसीमा दिएपनि समितिले असार १५ देखि थप दुई महिनाको समय मागेको छ ।

छानबिन समितिले अहिलेसम्म पहिलो चरणमा १० हेलिकप्टर कम्पनी, १४ ट्राभल कम्पनी, ७ अस्पतालाई छानबिनको दायरमा ल्याएर पत्र काटिसकेको छ । त्यस्तै दोस्रो चरणमा २२ ट्राभल कम्पनीलाई पनि पत्र काटेर उद्धारको सम्पूर्ण विवरण मागेको छ ।

मन्त्रालयका सहसचिव तथा छानबिन समितिका संयोजक घनश्याम उपाध्यायले अहिले विदेशी बिमा कम्पनीसँग नेपालमा बिमा भुक्तान गरेको अवस्थाका विषयमा जानकारी मागेको बताए । ‘हामी यस विषयमा विस्तृत अध्ययन गरिरहेका छौं, त्यसैले पनि समय लागिरहेको छ,’ उनले भने ।