किन तोकिएन भ्रमण वर्ष २०२० को राष्ट्रिय संयोजक ?

भ्रमण वर्ष सुरु हुन करिब १८ महिना मात्र बाँकी रहे पनि हालसम्म संयोजक तोक्न नसक्नु विडम्बना भएको पर्यटन व्यवसायीहरुको भनाइ छ ।

सरकारले भ्रमण वर्ष २०२० को राष्ट्रिय संयोजक अझै तोक्न सकेको छैन । भ्रमण वर्ष सुरु हुन करिब १८ महिना मात्र बाँकी रहे पनि हालसम्म संयोजक तोक्न नसक्नु विडम्बना भएको पर्यटन व्यवसायीहरुको भनाइ छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले भ्रमण वर्षको राष्ट्रिय संयोजक नतोक्दा प्रचारप्रसारले तीव्रता पाउन नसकेको बताए । ‘भ्रमण वर्षको विषयमा हालसम्म कुनै गहन छलफल भएको छैन,’ टानका अध्यक्ष दाहालले भने, ‘अब कर्मकाण्डी ढङ्गले प्रचार गरेर हुँदैन, डिजिटल मार्केटमा जान सक्नुपर्छ ।’ उनले भने, ‘भ्रमण वर्षलाई सफल नै बनाउने हो भने सरकारले तत्काल राष्ट्रिय संयोजक तोकेर कामको बाँडफाँट गर्नुपर्छ, र घोषणालाई घोषणामा मात्र सीमित राख्नु हुन्न । पर्यटकहरुलाई आकर्षण गर्न नेपालले कुन कुन विषयको प्रचारप्रसार गर्ने भन्ने विषय पनि टुङ्गिएको छैन । भूकम्पले क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माण हुन सकेको छैन ।

होटल एसोसियसन अफ नेपाल (हान)का महासचिव विनायक शाहले राष्ट्रिय संयोजक नभएकै कारण प्रचारप्रसारमा ढिलाइ भइरहेको बताए । भ्रमण वर्षको तयारी के भइरहेको छ, कसरी अघि बढेको छ, केही जानकारी समेत नभएको उनको भनाइ छ । ‘नेपालको कुन प्रडक्टलाई मुख्य प्रचार गर्ने भन्ने विषय नै टुङ्गो लागेको छैन,’ महासचिव शाह भन्छन्, ‘निजी क्षेत्र सहयोग गर्न तयार छ, त्यसका लागि कामको बाँडफाँट त हुनुप¥यो नि !’

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष सीएन पाण्डेले सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन आफू लागिपर्ने बताए । मूल आयोजक समिति गठन भइसकेको र उपाध्यक्ष चयन हुन बाँकी रहेको बताउँदै केही समयपछि संयोजक छनौट हुनेमा आफूहरु विश्वस्त रहेको अध्यक्ष पाण्डेको भनाइ छ । निजी क्षेत्रलाई सँगै राखेर पर्यटन मन्त्रालय तथा पर्यटन बोर्डले संयुक्त छलफल गर्न आवश्यक रहेको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले भदौ १५ गतेभित्र संयोजक तोक्ने बताए । ‘हामी आन्तरिक तयारीका साथ अघि बढिरहेका छौं,’ सचिव देवकोटाले भने, ‘बजेट कार्यान्वयन हुन ढिला भएकाले संयोजक नतोकेका हौं ।’ सरकारले बजेटमार्फत् २०२० लाई भ्रमण वर्ष घोषणा गरेपनि मन्त्रालयले भने आन्तरिक रुपमा पहिले नै तयारी गरिसकेको जानकारी दिए । अहिले पर्यटन बोर्डमा सचिवालयको स्थापना गरी काम अगाडि बढाइरहेको उनले बताए ।