प्रधानमन्त्रीज्यू, कुन बुँदामा टेकेर प्रतिरक्षा गर्ने ?

कुनै अवसर आउँछ भने त्यतिबेला तपाईंका आसेपासे को छन् र कसैले वर्षाैंदेखि फाइदा लिइरहेको छ, उसैलाई अवसर दोहोर्याईतेहेर्याई दिनुहुन्छ अनि अहिले पार्टी कार्यकर्ताले तपाईंको प्रतिरक्षा गरिदिनुपर्ने ? के कार्यकर्ता भनेका तपाईंलाई अप्ठ्यारा परेका बेला काँध थाप्ने र तपाईंको जयजयकार गर्ने काममा मात्र लिप्त हुने साधन मात्रै हुन् ?

सरकारले यातायात क्षेत्रको सिन्डिकेट खारेज गर्ने भन्दा जनताले स्वागत गरेकै थिए । तर, आज सरकारसँग व्यवसायीको कुरा मिल्यो भनेपछि के जनताले सिन्डिकेटधारीलाई फूलमाला र अबिर लिएर जात्रामा निस्कनुपर्ने ?

तपाईंले चुनावी घोषणापत्रमा निःशुल्क वाइफाई भनेर प्रचार गर्नुभयो । तर अहिले २ प्रतिशत थप सेवाशुल्क र १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुर लगाउनुभयो । के जनताले आफ्नो काँधमा अनाहकमा थोपरिएको १५ प्रतिशतको करको भार बोकेर सरकारको जयजयकार गर्नुपर्ने हो । हो, दूरसञ्चारका क्षेत्रमा केही विकृति भित्रिएका छन् । फोनमा कुरा गर्नेभन्दा सामाजिक सञ्जालका फेसबुक, म्यासेन्जर, ह्वाट्सअप, इमो आदिका माध्यमबाट कुरा हुँदा राज्यले ठूलो मात्रामा राजस्व गुमाएको छ । तर, त्यसका लागि उपयुक्त विधि र प्रक्रिया अध्ययन गरी व्यवस्थित गर्नुपर्ने थियो । त्यसो नगरी सामान्यभन्दा सामान्य नागरिकमा परेको भारलाई बिर्सेर हामी सरकारले गरेको काम एकदमै राम्रो छ भनेर विपक्षीसँग भिड्न जानुपर्ने हो ?

कहाँ सहयोग गरेनन् जनता र तपाईंका पार्टी कार्यकर्ताले ? कुनै अवसर आउँछ भने त्यतिबेला तपाईंका आसेपासे को छन् र कसैले वर्षाैंदेखि फाइदा लिइरहेको छ, उसैलाई अवसर दोहोर्याईतेहेर्याई दिनुहुन्छ अनि अहिले पार्टी कार्यकर्ताले तपाईंको प्रतिरक्षा गरिदिनुपर्ने ? के कार्यकर्ता भनेका तपाईंलाई अप्ठ्यारा परेका बेला काँध थाप्ने र तपाईंको जयजयकार गर्ने काममा मात्र लिप्त हुने साधन मात्रै हुन् ?

अवश्य पनि नेपालमा राजनीतिक अस्थिरता सिर्जना गर्न अनेकन तिकडम गर्ने समूह सक्रिय छन् । त्यसबारे नबुझ्ने सायदै कम छन् । तर, त्यो वातावरण कसले सिर्जना गरेको प्रधानमन्त्रीज्यू ? शान्त रुपमा बसिरहेकाहरुलाई उद्वेलित गर्ने काम कसले गरेको हो ? पार्टी कार्यकर्ताले कि सरकारले ? त्यसै पनि कम्युनिस्टले अधिनायकवाद लाद्छन् भन्ने कुरा निर्वाचन अघिदेखि नै आएको हो । त्यसमाथि विभिन्न ठाउँ तोकेर धर्ना जुलुस निषेधित क्षेत्र तोक्नुपर्छ भनेर झगडाको बीउ कसले रोपेको ? बिनाकारण एकाएक आएको निषेधित क्षेत्रबारे के कार्यकर्ताले प्रतिरक्षा गरेका थिएनन् ?

उमेर ढल्केका वृद्धवृद्धालाई ५ हजार रुपैयाँ भत्ता दिने घोषणा निर्वाचनपूर्व गर्नुभयो । निर्वाचनपछि बजेट वक्तव्यमा बिमा र अन्य कार्यक्रमबाट सम्बोधन गरिएको र यो सुरुवाती वर्ष भएकाले नआत्तिन र अरु ४ ओटा बजेट आउने भन्दै के कार्यकर्ताले ती ४ वर्ष पनि आफ्नो आयु बढाउन नसक्ने वृद्ध बुबाआमालाई थुमथुम्याएको यति छिट्टै बिसर्नुभयो ?

तपाईं प्रधानमन्त्री हुँदा कार्यकर्ताको शिर जुन किसिमले उचो थियो, अहिले त्यस्तो अवस्था छैन । कार्यकर्ताले शिर ठाडो बनाएर हिँड्न पनि सकेका छैनन्, अनि प्रतिरक्षा कसरी हुन्छ प्रधानमन्त्रीज्यू ?

साढे ३३ किलो सुन प्रकरणको अनुसन्धान सुरु भएको समाचारले कार्यकर्तामा कति धेरै उत्साह थियो । तर, आज त्यो उत्साह कहाँ गयो ? साढे ३३ किलो सुनको निष्कर्ष नआउँदै जनस्तरमा निष्कर्ष निकालिसकिएको छ कि सुन तस्करी प्रकरणमा तपाईंको भाग प्राप्त भयो, अध्ययन सकियो । अनि के कार्यकर्ताले हाम्रो पार्टीले राखेको माग पूरा भयो, अनि अध्ययन प्रतिवेदन आयो, करिब करिब सबै जना निर्दोष रहेछन्, जेलबाट छुट्ने तयारीमा छन् भनेर प्रतिरक्षा गर्ने हो ?

डा. केसी प्रकरणमा कार्यकर्ता प्रतिरक्षामा उत्रिएकै हुन् । हरेक कार्यकर्ताको भावना बुझ्ने ल्याकत पार्टी अध्ययक्षसँग छैन भन्ने कुरा हुँदैन । जसले तपार्ईंसँग भात खाएको फोटा सार्वजनिक गरेर तपाईंको अस्तित्व दाउमा हालेका छन्, के कार्यकर्ता भएर त्यसको प्रतिरक्षा गर्नुपर्ने हो ? हाम्रा अध्यक्षले जे भन्छन्, त्यो सही सत्य हो भनेर जताततै डङ्का पिट्दै हिँड्नुपर्ने हो ? त्यसो हो भने कार्यकर्ताबाट यस्तो अपेक्षा नगर्नु्, किनभने कार्यकर्ता पार्टीका भए पनि हालसम्म मात्रै हुन् । भोलि उनीहरुले नयाँ पार्टीका सदस्य र तपाईंसँगको बराबरी हैसियत बनाउने स्थिति तय गर्न सक्छन् । भर्खर, आफैले उत्पादन गरेका कार्यकर्तालाई जेल पठाएर आफ्नो पुरानो पार्टी छाडेर नयाँ पार्टी गठन गरेर निर्वाचन जितेर मोहम्मद महाथिर प्रधानमन्त्री भएको मलेसियालाई नै हेर्न सक्नुहुन्छ, के सरकारले जे गर्छ, खराब कामको पनि कार्यकर्ताले प्रतिरक्षा गरिदिनुपर्ने ?

जनता र कार्यकर्ता फरक हुन् भन्ने हजुरको सोचले पनि अलिकति अन्योल सिर्जना गरेको छ । आफ्नो पार्टीको सरकार छ भन्दैमा खाल्डो परेको र फोहोर नउठेको सडकमा हिँड्दा एउटा कार्यकर्ताले प्रतिपक्षलाई प्रश्न सोध्नुपर्ने हो ? हरेक समस्यामा कार्यकर्ता पर्न थालेपछि उनीहरु पनि आम जनताजस्तै भएर बस्न बाध्य हुन्छन् । त्यस्तो कुनै दिन नआओस्, आफ्नो कार्यकर्ताले आफ्नै सरकारविरुद्ध आन्दोलन गर्न परोस् । हेक्का रहोस्, प्रधानमन्त्रीज्यू यस्तो आन्दोलन सबैभन्दा डरलाग्दो र भयङ्कर हुन्छ ।

कार्यकर्ताले त पार्टी लेबी बुझाएर एउटा विचारलाई आत्मसात् गरेकै हुन् । उनीहरु जतिखेरै पनि त्यहाँबाट बाहिरिन सक्छन् । पटकपटक अवसर प्रयोग गर्नेहरु त एक पटक केही गरी अवसर गुमाए भने अनायासै अवसर पाउने ठाउँमा स्थानान्तरण हुन्छन् भने कहिल्यै कुनै लाभ हासिल नगर्ने कार्यकर्ताले तपाईंको प्रतिरक्षा गर्ने ?

भोलि बिहीबारदेखि देशभर आकस्मिकबाहेकका सेवा बन्द गर्ने चिकित्सक सङ्घको घोषणा आएको छ । यसले कसलाई असर गर्ला प्रधानमन्त्रीज्यू ? यस्तो अवस्थामा कार्यकर्ताका घरका बिरामीलाई त्यत्तिकै छाडेर ‘हाम्रो सरकार, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै रमाउँदै विपक्षीको प्रतिकारमा उत्रनुपर्ने हो ?

हामीले विद्यार्थीकालमा पढेको नेल्सन मन्डेलाको एउटा भनाइले अहिले तपाईंका बारम्बारका अभिव्यक्ति सुन्दा मथिङ्गल खलबलाइदिन्छ— ‘एउटा राजनीतिज्ञले आउँदो निर्वाचनको बारेमा मात्र सोच्छ । तर, एउटा असल नेताले आउँदो पुस्ताबारे ।’ हो, अब कार्यकर्ताले प्रतिरक्षा गर्नेछन् प्रधानमन्त्रीज्यू, तपाईं एउटा राजनीनिज्ञ हो, असल नेता होइन । तपाईंले हिजो कार्यकर्ता र जनस्तरलाई मूल प्रवाहमा पार्न र आफू प्रधानमन्त्री बन्न हुने/नहुने सबै खालका कुरा गर्नुभयो र जनतालाई भ्रममा राख्न सफल हुनुभयो । जब तपाईं प्रधानमन्त्री हुनुभयो, अब भन्नेबित्तिकै सबै कुरा कहाँ पाइन्छ र समय कुर्नुपर्छ भन्न थाल्नुभएको छ ।

हो, जनस्तरलाई थाहा छ । तुरुन्तै हुँदैन । तर, तपाईंले त आफैंले घोषणापत्रमा लेखेका कुरालाई पनि बिर्सेर जनतामाथि अत्याचारको रड बर्साउनुभएको छ । कार्यकर्ताले यसको प्रतिरक्षा गर्ने भन्नुभएको हो ?

पछिल्लो समय सरकारको विपक्षमा माहोल बन्दै गएपछि दुईतिहाइ बहुमतको सरकार पनि अत्तालिन थालेको छ । तर, यो अवस्था किन आयो ? कसले यस्तो अवस्था आउने वातावरण बनायो ? सीमित दायरा र निद्रामा रहेको प्रतिपक्षीलाई समेत अहिले निकै ठूलो विपक्षीझैं देशव्यापी आन्दोलनमा जाने वातावरण कसले बनाएको हो ? कि अब नेकपाका कार्यकर्ता जुलुसमा हस्तक्षेप गर्न जानु भनेको हो ?

प्रधानमन्त्री र मन्त्रीहरु पदको मैमत्त बेहोसीमा मनलाग्दी बोल्दै जाने अनि जनस्तरमा रहेका र कहिल्यै नेतृत्वदायी भूमिका नपाउने कार्यकर्ताले सरकारको काँध बोकिदिनुपर्ने हो ? कानुनी शासन सञ्चालनमा तपाईंको सरकार पूर्ण रुपले सक्षम छ भन्ने कुरामा कार्यकर्तालाई कुनै द्विविधा छैन ।

किनभने बितेको ५ महिनामा तपाईंहरुले भनेका र व्यवहारमा लागू गरेका कुराले नै पुष्टि भइसकेको छ । प्रधानमन्त्री, मन्त्री, सांसद र मेयरहरुले भनेका कुरा मात्रै पत्याउँदै र तपाईंहरुलाई कालो सिसाभित्र राखेर बाहिरबाट कार्यकर्ताले सुरक्षा दिनुपर्ने र कार्यकर्ता हिलो, धूलो, फोहोर, बाढीपहिरो केही नभनी तपाईंको जयजयकार गरी प्रतिरक्षा गर्न तयार भएपछि तपाईंले घोषणापत्रमा उल्लेख गरेको र रारा तालबाट घोषणा गरेको समृद्धि कसो नआउला ?