चीनले दिएको जहाज मर्मत गर्न चिनियाँ प्राविधिक नआउने

नेपाल वायुसेवा निगमले पटकपटक पत्राचार गर्दा चिनियाँ प्राविधिकले नेपालमा मर्मत गर्न आउन नसक्ने जवाफ दिएका छन् ।

चिनियाँ सरकारले नेपाललाई उपलब्ध गराएको ६ मध्ये ५ जहाजको मर्मत नहुँदा जहाज उड्न सकेको छैन । नेपाल वायुसेवा निगमले पटकपटक पत्राचार गर्दा चिनियाँ प्राविधिकले नेपालमा मर्मत गर्न आउन नसक्ने जवाफ दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वैशाख ४ गते सरकारको १ सय दिनभित्र सबै जहाज उडाउन निर्देशन दिए । मन्त्रीले निर्देशन दिए पनि अहिलेसम्म जहाज मर्मत हुन सकेको छैन ।

इन्जिनमा आएको समस्याका कारण चिनियाँ जहाज सञ्चालन गर्न नसकिएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले क्यापिटल नेपाललाई बताए । ‘हामीले चीन सरकारसँग आवश्यक प्राविधिक पठाउन पटकपटक पत्र पठाएका छौं, तर उताबाट प्राविधिक आएका छैन, न त कुनै जवाफ आएको छ,’ उनले भने ।
प्राविधिक पठाउने विषयमा चीन मौनजस्तै हुनु भनेको नेपालमा मर्मत गर्न नआउनु रहेको मन्त्रालयका एक उच्च अधिकारीले बताए । ‘हामीसँगको मौखिक कुराकानीमा पनि उनीहरु नेपालमा जहाज मर्मत गर्न आउन नसक्ने बताइसकेका छन्,’ उनले भने, ‘पत्र पठाएर प्राविधिक नआएको भन्ने कुरा कूटनीतिक कुरा हो खासमा उनीहरुले आउदिनँ नै भनेका छन् ।’

६ ओटा विमानमध्ये दुई विमान वाई १२ र ५६ सिटर एमए ६० विमान चीनको अनुदानमा ल्याइएको हो भने बाँकी एक एमए ६० र तीन वाई १२ गरी चार विमान सहुलियत ऋणमा खरिद गरिएको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले एक साताअघि पत्रकार सम्मेलन गरी पाइलट अभाव भएकाले सबै जहाज सञ्चालन गर्न नसकेको बताएका थिए ।