मलेसियाका मानवसंसाधन मन्त्रीले नेपाली वार्ताटोलीलाई भेट्न मानेनन्

मलेसियास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलसहितको टोलीले मङ्गलबार मलेसियाका मानव संसाधन मन्त्री कुलासेगरनलाई भेट्न पुत्राजय गएपनि मन्त्री कुलासेगरनले भेट्न अस्वीकार गरेका हुन् ।

नेपाली कामदारको समस्या समाधानका लागि वार्ता गर्न खोजेको नेपाली टोलीलाई मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनले भेट नै दिएनन् ।

मलेसियास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलसहितको टोलीले मङ्गलबार मलेसियाका मानव संसाधन मन्त्री कुलासेगरनलाई भेट्न पुत्राजय गएपनि मन्त्री कुलासेगरनले भेट्न अस्वीकार गरेका हुन् ।

नेपाली कामदारलाई आर्थिक भार पारेर ठगी गरेको भन्दै श्रममन्त्री गोकर्ण विष्टले गत जेठ २ गते बायोमेट्रिक, भीएलएन, माइग्राम्स, वान स्टप सेन्टर र जीएसजी संस्थालाई खारेज गरी कारबाहीको दायरामा ल्याएपछि मलेसियामा नेपाली कामदार जान बन्द छ । यही विषयमा जानकारी गराउन मलेसियास्थित नेपाली दूतावासका कार्यबाहक राजदूत खरेलको टोलीले पुत्राजयमा मलेसियाका मानव संसाधन मन्त्री कुलासेगरनलाई भेटी जानकारी गराउन खोजेपनि मन्त्री कुलासेगरनले नभेटी मन्त्रालयका अधिकारीहरुसँग मात्र वार्ता गराएका थिए ।

गत बिहीबार मलेसियास्थित नेपाली दूतावासमा कार्यवाहक राजदूत खरेलसँग मन्त्री कुलासेगरनसँग अनौपचारिक भेट गरी औपचारिक रुपमा पुत्राजयमा वार्ता हुने बताएको दूतावासले जनाएको थियो ।

मलेसियाका व्यवसायी दातो प्रदीपकुमार कुकरेजाको घरमा नेपाली दूतावास भाडामा बस्दै आएको छ । हिमालय एयरलाइन्स, एयर इन्डियाको मलेसियाको जीएसए कुकरेजाले लिएका छन् । गत बिहीबार मन्त्री कुलासेगरन कुकरेजालाई भेट्न गएको बेला दातो प्रदीपले नै दूतावासमा कार्यवाहक राजदूतलाई अनौपचारिक भेट गराइदिएका थिए । सोही भेटमा नेपाली कामदार र नेपाल सरकारले गरेका पछिल्ला निर्णयका विषयमा पुत्राजयमा वार्ता गर्ने बताएको कार्यवाहक राजदूत खरेलले जानकारी गराएका थिए ।

वार्ताका लागि पुत्राजय गएका नेपाली टोलीमा कार्यवाहक राजदूत खरेलसहित ४ जना थिए । वार्तामा मलेसियाका मानव संसाधन मन्त्रालयका नीति तथा योजना विभागका प्रमुख बासाह बिन वाचिकले नेपाली टोलीसँग छलफल गरेका थिए ।

‘गत बिहीबार भएको अनौपचारिक वार्तापछि आज वार्ता गर्न हामी पुत्राजय गएका थियौं,’ मन्त्रीसँग वार्ता नभएपनि नीति तथा योजना विभागका प्रमुखसँग वार्ता भएको मलेसियास्थित नेपाली दूतावाका कार्यवाहक राजदूत कुमारराज खरेलले टेलिफोनमा क्यापिटनेपाललाई बताए । वार्तामा नेपाल सरकारले गरेको निर्णय र कामदारका विषयमा छलफल भएको उनले बताए । हामीले राखेका विषयमा उनीहरुले सकारात्मक रुपमा लिए यस विषयमा मन्त्रीलाई जानकारी गराउने र पुनर्विचार गर्ने उनीहरुले बताएका छन्, खरेलले भने ।

नेपालमा एक्कासी विभिन्न कम्पनी बन्द हुँदा त्यसपछिको विकल्प के छ भनेर मलेसिया सरकारले अध्ययन र छलफल गरिरहेको उनीहरुले बताएको खरेलले जानकारी गराए ।

नयाँ व्यवस्था नभएसम्म कामदार मलेसिया आउन नसक्ने विषयमा जानकारी गराउँदा मलेसियाले त्यो नेपालको अधिकारको कुरा भएको जानकारीसमेत दिएको उनले बताए । ‘अहिले कामदार पठाउने नपठाउने अधिकार नेपालको हो भन्ने जवाफ आएको छ,’ खरेलले भने । हामीले छिटोभन्दा छिटो अर्काे व्यवस्था लागू भए नेपाली कामदार आउन सक्ने भएकाले छिटो निर्णय गर्न भनेका छौं, मलेसिया नेपालजस्तै हावापानी भएकाले रोजगार गुमाउन हुँदैन भनेर नै हामीले अनुरोध गरको उनले बताए ।