‘फेक रेस्क्यु’का नाममा ठगी धन्दा चलाउने विरुद्ध कारबाही सुरु

विदेशी मुद्रा कारोबार गर्ने अनुमति नलिएको तर पर्यटकवापत विदेशी मुद्रामा उद्धार भाडा वापत भुक्तानी दाबी गरेको विवरण पेश गर्ने ५ ओटा कम्पनीलाई राष्ट्र बैङ्कबाट विदेशी विनिमय ऐनअनुसार छानबिन गर्न, उद्धारको क्रममा महँगो शुल्क लिने ६ अस्पतालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट छानबिन गरी कारबाही गर्न ,महँगोमा उद्धार गर्ने ८ ट्राभल, ४ अस्पताल, ३ हेलिकप्टरको राजस्व चुहावटअनुसार छानबिन गरी कारबाही गर्न राजस्व अनुसन्धान विभागलाई पत्र पठाइसकिएकाे छ ।

रेस्क्युका नाममा ठगी धन्दा चलाउँदै आएका व्यवसायीमाथि सरकारले कारबाही सुरु गरेको छ । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन कार्यदलको प्रतिवेदनअनुसार फेक रेस्क्युमा संलग्न कम्पनी तथा विभिन्न संस्थामाथि कारबाही सुरु गरिएको मन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए ।

केही व्यवसायी तथा कम्पनीका कारण अन्तर्राष्ट्रिय रुपमै पर्यटन क्षेत्रको बदनामी भएको बताउँदै त्यस्ता कम्पनीहरुलाई कारवाही गरेरै छाड्ने मन्त्री अधिकारीको भनाइ छ । ‘सम्बन्धित निकायमा पत्रचार भइसकेको छ, मन्त्री अधिकारीले क्यापिटल नेपालसँग कुराकानी गर्दै भने, ‘आवश्यकताअनुसार प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढ्छ’ ।

नेपाल आएर पदयात्राको क्रममा विभिन्न भागमा पुग्ने पर्यटकलाई बिरामी बनाउने, नक्कली उद्धार गरी बिमा रकम असुल्ने र उद्धारको चर्काे भाडा लिई ठगी गरेको गुनासो बढेपछि मन्त्रालयले गत जेठ २१ गते छानबिन समिति बनाएको थियो ।

मन्त्री अधिकारीले छानबिन कार्यदलले बुझाएको प्रतिवेदनअनुसार विदेशी मुद्रा कारोबार गर्ने अनुमति नलिएको तर पर्यटकवापत विदेशी मुद्रामा उद्धार भाडा वापत भुक्तानी दाबी गरेको विवरण पेश गर्ने ५ ओटा कम्पनीलाई राष्ट्र बैङ्कबाट विदेशी विनिमय ऐनअनुसार छानबिन गर्न, उद्धारको क्रममा महँगो शुल्क लिने ६ अस्पतालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट छानबिन गरी कारबाही गर्न ,महँगोमा उद्धार गर्ने ८ ट्राभल, ४ अस्पताल, ३ हेलिकप्टरको राजस्व चुहावटअनुसार छानबिन गरी कारबाही गर्न राजस्व अनुसन्धान विभागलाई पत्र पठाइसकेको अधिकारीले जानकारी दिए ।

यस्तै पर्यटकलाई नियोजित रुपमा बिरामी गराउन खानेकुरामा मिसावट समेत गरी गराइ सङ्गठित तवरले बिमा रकम दाबी गर्ने गराउने कार्य गरेको वा एउटै उडानमा धेरै पर्यटक ल्याई प्रत्येक पर्यटकका आधारमा अलग अलग बिल जारी गर्ने गरेको वा उद्धार उडान तथा उपचार समेत नगराई कागजातहरु तयार पारी बिमा रकम दाबी गर्ने विवरण प्राप्त भएमा गृहमन्त्रालय तथा उक्त मन्त्रालयअन्तर्गत रहेको नेपाल प्रहरीबाट सघन रुपमा अनुसन्धान गर्ने विशिष्टिकृत एकाइ रहेको हुँदा उक्त निकायबाट सङ्गठित अपराध तथा ठगीको कसुरमा अनुसन्धान गरी आवश्यक कारबाही अघि बढाउन गृह मन्त्रालयलाई पत्र पठाएको जानकारी दिए ।