कामदारलाई मलेसिया बन्द हुँदा भिसा लगाएका १७ हजारको २६ करोड गुम्यो

मलेसिया जान भिसा लगाएर बसेका १७ हजार ५ सय कामदार मलेसिया जान नपाएपछि कामदारको २६ करोड गुमेको छ ।

दुतावासबाट भिसा प्राप्त गरेका २५ सय र कलिङ भिसा प्राप्त गरेका १५ हजार कामदारहरुले खर्च गरिसकेपनि सरकारको पछिल्लो व्यवस्थाका कारण मलेसिया जान नपाएको नेपाल बैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने नेपाली कामदार माथी आर्थिक भार पार्ने पाँच संस्था खारेज गर्दै कारवाहीको दायरमा ल्याएपछि तीन महिनादेखि रोजगारका लागि मलेसिया जाने प्रक्रिया बन्द छ । सरकारले मलेसिया जान रोक लगाएपछि भिसा लगाएका २५ सय कामदारसमेत जान नपाउँदा त्यसको २६ करोड ५५ लाख गुमेको संघले तथ्याँक निकालेको हो ।
संघले सोमबार एक तथ्याँक सार्वजनिक गर्दै २५ सय कामदारबाट जिएसजीको ८० लाख, बायोमेट्रिक मेडिकलको १ करोड १२ लाख, भीएलएनको ८० लाख, वान स्टेप सेन्टरको ७० लाख र होटल तथा यातायात खर्च गरेर २ करोड ५० लाख कामदारले खर्च गरिसकेर पनि कामदार मलेसिया जानबाट बञ्चित भएको जनाएको हो ।

त्यस्तै कलिङ भिसा प्राप्त गरेका १५ हजार कामदारको जिएसजीवापत ४ करोड ८० लाख, बायोमेट्रिक मेडिकलको ६ करोड ७५ लाख, १५ हजार कामदारको होटल तथा यातायात खर्च १५ करोड भैसकेको संघले जनाएको हो ।

‘मलेसियाको रोजगारीमा सरकारले नयाँ निर्णय नगर्दा भिसा पाएका कामदार पनि जानबाट बञ्चित भए,’ संघका अध्यक्ष रोहन गुरुङले भने । ‘कारवाही हुनुपर्ने संस्थालाई कारवाही गर्दै गरेपनि भिसा लगाएका कामदारलाई जान दिनुपर्ने हो तर सरकारले कुनै व्यवस्था नगर्दा गरिब कामदारकै २६ करोड व्यर्थेमा गयो,’ उनले भने । भिसा लगाएर पनि मलेसिया जान नपाएपछि ती कामदारलाई मलेसिया ५ बर्षका लागि कालो सूचिमा पनि राख्छ यतातिर पनि सरकारले ध्यान नदिएको उनले बताए