केन्द्रिय बैङ्कले स्थानीय तह तोकेरै २०७५ असारभित्र बैङ्क शाखा खोल्न निर्देशन दिएको थियो । योसँगै मुलुकका ७ सय ५३ मध्ये ६ सय ३६ स्थानीय तहमा बैङ्क पुगेको छ ।
दुर्गम जिल्लाका ग्रामीण भेगमा गत आर्थिक वर्षमा ३ सय ४२ स्थानीय तहमा बैङ्क खुलेका छन् । राष्ट्र बैङ्कको निर्देशन कार्यान्वयन गर्दै बैङ्कहरु एक वर्षभित्र ती स्थानमा पुगेका हुन् । यसअघि केन्द्रिय बैङ्कले स्थानीय तह तोकेरै २०७५ असारभित्र बैङ्क शाखा खोल्न निर्देशन दिएको थियो । योसँगै मुलुकका ७ सय ५३ मध्ये ६ सय ३६ स्थानीय तहमा बैङ्क पुगेको छ ।
केन्द्रीय बैङ्कको निर्देशनको बावजुद अझै १ सय १७ स्थानीय तहमा बैङ्क पुग्न सकेका छैनन् । सरकारी कारोबार वाणिज्य बैङ्कबाट मात्रै हुने भएकाले पनि बैङ्कहरु हरेक स्थानीय तहमा पुग्न बाध्य छन् । विद्युत्, इन्टरनेट, सुरक्षित भवन र सुरक्षाको चुनौतीका बावजुद एक वर्षमा ६ सय ३६ स्थानीय तहमा बैङ्क पुग्न सफल भएका हुन् । एक वर्षअगाडि २ सय ९४ स्थानीय तहमा मात्र बैङ्क खोलिए पनि एकै वर्षमा ठूलो फड्को मारिएको जानकारी राष्ट्र बैङ्कले दिएको छ ।
नेपाल राष्ट्र बैङ्कका प्रवक्ता नारायणप्रसाद पौडेलले असार २९ गते रसुवामा बैङ्क स्थापना गर्न जाँदा राजनीतिक दलका स्थानीय कार्यकर्ताले आफ्ना ५ जनालाई जागिर दिएमात्र बैङ्क खोल्न पाउने नभए खोल्न नपाउने धम्की आएको बताए । उनले यस्ता विभिन्न प्रकारका समस्याका कारण सबै स्थानीय तहमा तोकिएको समयमै बैङ्क खोल्न नसकिएको बताउँदै भने, ‘तोकिएको समयमा बैङ्क नखोले कारबाही गर्ने नीति राष्ट्र बैङ्कले बनाएको छैन ।’
सहज परिस्थिति भएको स्थानमा बैङ्क खोलिएको तर अति दुर्गम र समस्याग्रस्त स्थानीय तहमा मात्र बैङ्क खोल्न ढिलाइ भएको उनले बताए । कुनै स्थानीय तहमा सार्वजनिक सूचना जारी गर्दै घर भाडामा मागिए पनि बैङ्क राख्न मिल्ने भवन फेला नपरेको उनले बताए ।