नेपाल भ्रमण वर्ष : सम्भव छ २० लाख पर्यटक ?

अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्नेहरुले सुरुमै काठमाडौं देख्छन् । तर, काठमाडौंको स्वागतले पर्यटकलाई निराश बनाउने अवस्था छ । केही साताअघि भारतीय चर्चित अभिनेत्री जुही चावला नेपाल आएर मास्क लगाएको तस्बिर सामाजिक सञ्जालमा राख्दै यहाँको धूवाँ र धूलोको बारेमा लेखिकी थिइन्, जसले नेपाल आउन चाहने पर्यटकलाई प्रभाव पार्न सक्छ ।

राजनीतिक स्थिरता र बलियो सरकार बनेसँगै पर्यटन क्षेत्रमा पनि दरिलो सङ्केत देखा पर्न थालेका छन् । नेपाललाई अन्तर्राष्ट्रियस्तरमा पर्यटकीय मुलुकका रुपमा प्रचार गर्दै सरकारले सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने महङ्खवाकाङ्क्षी योजना सार्वजनिक गरेको छ ।

सीमित पूर्वाधारबीच सरकारले नेपाल भ्रमण वर्ष २०२० अभियान सार्वजनिक गरेको हो । सरकारले यसअघि पनि सन् १९९८ र २०११ लाई पनि भ्रमण वर्षका रुपमा मनाइसकेको छ । रवीन्द्र अधिकारीे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त भएलगत्तै सन् २०२० मा १५ लाख पर्यटक भित्र्याउने घोषणा गरेका थिए । तर, अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमा २० लाख पर्यटक भित्र्याउने योजनासहित भ्रमण वर्षको घोषणा गरिदिए । बजेटमै भ्रमण वर्षको विषय र पर्यटक सङ्ख्या तोकिएपछि १८ महिनापछि हुने अभियानलाई सार्थक तुल्याउन मन्त्रालय र पर्यटनमन्त्री कस्सिएका छन् ।

मन्त्री अधिकारीले आफ्ना केही सुधारका योेजना सार्वजनिक गर्दै केही कामलाई तीव्रतासमेत दिएका छन् । १८ घण्टा सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा आएको छ । नेपाल वायुसेवा निगमले आफ्नै जहाज भिœयाएको छ । यसबाट धेरै पर्यटकलाई नेपाल भित्र्याउन सकिने सरकारी आशा छ ।

भ्रमण वर्ष २०२० लाई दृष्टिगत गरी सरकारले सम्पूर्ण हिमालहरुको प्रोफाइल तयार पारिरहेको छ । नेपाल पर्वतारोहण सङ्घले तयार पारिरहेको प्रोफाइलमा नेपालका सबै हिमालको सम्पूर्ण जानकारी पाइनेछ । प्रोफाइलबाटै हिमालसम्म कसरी जाने, कहाँबाट जाने, कति दिनमा पुगिने र सुरक्षा अवस्थादेखि कसरी सुरक्षित रुपमा आरोहण गर्ने भन्ने विषयसमेत थाहा हुने नेपाल पवतारोही सङ्घका अध्यक्ष सन्तवीर लामाको भनाइ छ । नेपालमा धेरै हिमाल आरोहणका लागि योग्य हुँदाहुँदै पनि प्रचारप्रसार नभएकै कारण ओझेलमा परेकाले प्रोफाइल तयार भएपछि सहयोग मिल्नेछ ।

प्रोफाइलमा आरोहणका लागि खुला गरिएका ३ सय २६ र आरोहणका लागि खुला गर्न सम्भव भनी पहिचान भएका १ सय ६५ सहित ४ सय ९१ ओटा हिमालको जानकारी समेटिनेछ । नेपाल पर्यटन बोर्डले पनि चिनियाँ पर्यटकहरुलाई लक्ष्य गरेर चिनियाँ भाषामा वेबसाइट निर्माण गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएको बेला नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारका लागि छलफल गरेका थिए । छलफलमा त्यहाँको सरकारले पर्यटक नेपाल पठाउने प्रतिबद्धता जनाएको छ ।

सरकारको महत्त्वाकाङ्क्षी घोषणालाई पूरा गर्न हाल पाँच भाषामा प्रचारप्रसार सुरु भइसकेको छ । इतिहासकै पहिलो पटक पर्यटन बोर्डले भ्रमण वर्षको लोगो पाँच भाषामा अनुवाद गरी बनाएर अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसारलाई अघि बढाएको हो ।

चिनियाँ, जापानी, रसियन, फ्रेन्च र जर्मन भाषामा अनुवाद गरेर अन्तर्राष्ट्रिय स्तरमा प्रचार सुरु भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । ‘भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन प्रचारप्रसार सुरु गरेका छौं,’ उनले भने । बिस्तारै अन्य ठूला र महत्त्वपूर्ण देशको भाषामा अनुवाद गर्ने तयारी भइरहेको उनले बताए । भ्रमण वर्षलाई सफल बनाउन हाल पर्यटन बोर्डले विभिन्न कार्यक्रम तयार पारिरहेको सीईओ जोशीको भनाइ छ । प्रचारप्रसारकै लागि पर्यटन बोर्ड विभिन्न उपसमिति गठनमा लागेको छ ।

सरकारले यो वर्ष भिजिट २०२० का लागि १० करोड रुपैयाँ विनियोजन गरिसकेको छ भने पर्यटन बोर्डले पनि भ्रमण वर्षलाई नै केन्द्रमा राखेर बजेट बनाउन लागिएको जनाएको छ । अबको कार्यक्रम छिमेकी राष्ट्र केन्द्रित रहन्छ । जसमा भारत र चीनमा गएर नेपालका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने र अर्को नेपालभित्रै पनि आन्तरिक पर्यटकहरुलाई बढावा दिन प्रचारप्रसारलाई तीव्र पारिने बोर्डले जनाएको छ ।

पर्यटन क्षेत्रमा बढ्दै गरेको लगानी वृद्धिले पनि धेरै पर्यटक भित्र्याउने सम्भावनालाई टेवा दिएको छ । गैरआवासीय नेपालीको पर्यटन प्रवर्द्धनमा बढ्दो क्रियाशीलता र अन्तर्राािष्ट्रय मिडियामा भ्रमण सूचीमा नेपालको गन्तव्य रहनुले पनि सकारात्मक सन्देश दिइरहेको छ ।

पूर्वाधार नै चुनौती

अहिलेको पूर्वधारले २० लाख पर्यटक भित्र्याउन एकदमै गाह्रो हुने होटल एसोसियन अफ नेपाल (हान)का महासचिव विनायक शाह बताउँछन् । ‘अन्तर्राष्ट्रिय एयरपोर्ट एउटा मात्र छ । त्यहाँ पनि ट्राफिक जाम हुने गरेको छ । अरु एयरपोर्ट बन्दै छन् । अबको १८ महिनामा त बनिसक्दैनन् । हवाईजहाजको सेवाबाटै धेरै पर्यटक नेपाल आउने हुन् । त्यसैले एकदमै चुनौती देखिन्छ,’ उनले भने ।

होटल उद्योगलाई सन् २०१७ मा १० लाखको हाराहारीमा पर्यटक आउँदा धेरै उत्साहको सञ्चार गराएको थियो । २०२० मा २० लाख पर्यटक भित्र्याउन सके झनै राम्रो हुने थियो । ‘अहिलेकै अवस्थामा जसरी पर्यटक वृद्धि हुँदै गएको अवस्थामा भने व्यवसायी, नीति निर्माता सबैलाई खुसीको आभास हुँदै जान्छ,’ उनले भने, ‘तर हामी तयार भएर भएन, पूर्वाधार तयार हुनुपर्छ ।’

यस्ता अभियानलाई निरन्तरता दिनुपर्छ । सरकारले लक्ष्य लिनु राम्रो हो । तर आवश्यक पूर्वधार पनि बनाउँदै जान आवश्यक रहेको उनले बताए । हवाईजहाजबाहेक सडकमार्गबाट पनि धेरै पर्यटक नेपाल भित्र्याउन सकिन्छ । तर भारतीय र चिनियाँ पर्यटक भित्र्याउन पनि सडकको अवस्था नाजुक रहेको शाह बताउँछन् । ‘चीनसँग जोडिएको रसुवागढी नाकाबाट ठूला गाडी सञ्चालन गर्न सकिएको छैन,’ उनी भन्छन् ।

सिन्धुपाल्चोकको तातोपानी नाका भूकम्पपछि बन्द छ । यस्तै भारतमा २२ ओटा नाकाबाट आवतजावत गर्ने गरे पनि सामान ढुवानीलाई मात्र बढी प्राथमिकता दिने गरिएकाले नेपाल आगमनमा समस्या रहेको उनले बताए । ‘ती नाकालाई पर्यटक भित्र्याउने किसिमले विकास गरिएको नै छैन,’ शाहले भने ।

भारतमा अहिले स्कुल होलिडे, समर होलिडे चलिरहेको छ । अहिले बालबच्चा लिएर आफ्नो पारिवारिक घुमघाममा धेरै भारतीय निस्कने गर्छन् । उनीहरु आफ्नो निजी गाडी लिएर नेपाल पनि आउँछन् । तर नेपाल आउँदा रजिस्ट्रेसन गर्ने ठाउँसमेत छैन । यस्ता विषयमा पनि आवश्यक सुधार गर्नका लागि सरकार उदासीन जस्तै देखिन्छ ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्नेहरुले सुरुमै काठमाडौं देख्छन् । तर, काठमाडौंको स्वागतले पर्यटकलाई निराश बनाउने अवस्था छ । केही साताअघि भारतीय चर्चित अभिनेत्री जुही चावला नेपाल आएर मास्क लगाएको तस्बिर सामाजिक सञ्जालमा राख्दै यहाँको धूवाँ र धूलोको बारेमा लेखिकी थिइन्, जसले नेपाल आउन चाहने पर्यटकलाई प्रभाव पार्न सक्छ ।

‘ठमेल जस्तो पर्यटकीय ठाउँमा स्थानीय विरोधस्वरुप धान रोप्छन् । बौद्ध जस्तो ठाउँमा धान रोप्छन् । सरकार त छ नि, हाम्रो सडक विभाग छ, मन्त्रालय छ, बजेट छ । तर काम देखिँदैन,’ शाहले भने, ‘हामीले पर्यटन क्षेत्रमा गति लिन सकिरहेका छैनौं । सडकमा कुचो लगाउन त सक्छौं नि । ब्रुरमर किन्ने भनेर हल्ला फिँजाइयो । अहिलेसम्म त्यसबारे केही काम हुन सकेको छैन । हल्ला मात्र गरेर भएन । अब काम गर्नुपर्यो । काठमाडौंमा ट्राफिक लाइटसमेत छैन । सडकभरि खाल्डाखुल्डी छन् ।’

होटलको हिसाबले २० लाख पर्यटक ल्याउन समस्या छैन । व्यवसायी पर्यटकलाई राख्न तयार छन् । तर त्यसका लागि पर्यटक आइदिनुपर्ने उनको भनाइ छ । राष्ट्र बैङ्कको तथ्याङकमा नेपालका होटलमा २५ लाख कोठा रहेका छन् । २ वर्षभित्र अन्तर्राष्ट्रिय चेन होटलहरुमा २ हजार कोठा थप हुन्छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का महासचिव आङपेम्बा शेर्पा पनि २०२० लाई भ्रमण वर्षको घोषणा गर्नु राम्रो भए पनि २० लाख पर्यटक भित्र्याउन चुनौती रहेको बताउँछन् । ‘हामीलाई हाम्रो पूर्वाधारले साथ दिँदैन, अहिलेदेखि नै तीव्र रुपमा पूर्वाधार बनाउने हो भने मात्र, नत्र समस्या छ,’ उनी भन्छन् ।

पर्यटकीय सिजनमा अहिले पनि काठमाडाैंका होटलहरुमा पर्याप्त मात्रामा कोठा पाइँदैन । त्यसैले एयरपोर्ट, सडकसँगै होटलको सङ्ख्यामा वृद्धि गर्नुपर्नेमा उनले जोड दिए ।

अरु पनि छन् चुनौती

पूर्वाधारको चुनौती एकातिर छँदै छ अर्काेतिर जनशक्तिको गुणस्तर र दक्ष जनशक्तिको अभाव पनि देखिन्छ । होटललगायत पर्यटनका अन्य क्षेत्रमा आवश्यक जनशक्तिको अभाव सिर्जना भइरहेको छ । पर्यटकलाई दिने सेवा तथा सुविधा, पदयात्राका क्रम उपलब्ध हुनुपर्ने न्यूनतम सेवाहरु पनि उपलब्ध नहुँदा त्यसले झन् नराम्रो असर पार्छ ।

भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुननिर्माण सकिएको छैन । भूकम्प गएपछि ३ वर्षमा कुनै क्षेत्रमा कामसमेत भएको छैन । यस्तो अवस्थामा १८ महिनामा काम सकिन्छ भन्ने अनुमान गर्नु पनि गलत हुन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा परेको नकारात्मक प्रभावलाई निराकरण भइसकेको अवस्था पनि छैन ।

खर्च र पर्यटक बढे, तर बसाइ घट्यो
पछिल्लो समय नेपाल आउने बाह्य पर्यटकको सङ्ख्या बढिरहेको छ । सरकारले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७४/७५ का अनुसार हवाईमार्ग सन् २०१६ मा ५ लाख ७२ हजार ५ सय ६३, सन् २०१५ मा ४ लाख ७ हजार ४ सय १२ र सन् २०१३ मा ५ लाख ९४ हजार ८ सय ४८ पर्यटक हवाईमार्गबाट नेपाल आएका थिए ।

यस्तै स्थलमार्गबाट १ लाख ७९ हजार ६ सय ४१ जना पर्यटक नेपाल भित्रिएका छन् । यो सङ्ख्यामा स्थलमार्गबाट नेपाल भित्रने भारतीय पर्यटकलाई समावेश गरिएको छैन । सन् २०१६ मा १ लाख ८० हजार ४ सय ३९, सन् २०१५ मा १ लाख ३१ हजार ५ सय ५८, सन् २०१४ मा २ लाख ४ हजार ३७ र सन् २०१३ मा २ लाख २ हजार ७ सय ६८ पर्यटक नेपाल भित्रिएको तथ्याङ्कमा उल्लेख छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्कअनुसार २०१७ मा भारत, चीन, अमेरिका, बेलायत र श्रीलङ्काबाट पर्यटक सबैभन्दा बढी नेपाल आएका छन् । ती पाँच देशका पर्यटकले कुल पर्यटकको ४७ प्रतिशत अंश ओगटेका छन् । पछिल्लो समय पर्यटक आगमनमा भारत र अमेरिकाको हिस्सा बढ्दै गएको छ । भारतबाट १७ दशमलव १ प्रतिशत पर्यटक नेपाल भित्रिएका छन् भने अमेरिकाबाट ८ दशमलव ४ प्रतिशत भित्रिएका छन् ।

यस्तै चीन ११ दशमलव १, बेलायत ५ दशमलव ४, श्रीलङ्का ४ दशमलव ८ र अन्य देशबाट ५३ दशमलव २ प्रतिशत पर्यटक नेपाल आउने गरेका छन् ।
मन्त्रालयको तथ्याङ्कमा नेपाल आउने पर्यटकको बसाइ अवधि घटेको र खर्च बढेको उल्लेख छ । सन् २०१७ मा प्रतिपर्यटक औसत १२ दशमलव ६ दिनको बसाइ अवधि छ भने प्रतिदिन प्रतिपर्यटक खर्च ५४ अमेरिकी डलर पुगेको छ । सन् २०१६ मा प्रतिपर्यटक बसाइ अवधि औसत १३ दशमलव ४ दिन र प्रतिदिनप्रति पर्यटक खर्च ५३ अमेरिकी डलर थियो । हाल पर्यटकले दैनिक ६५ डलर खर्च गर्ने गरेको पर्यटन बोर्डको भनाइ छ ।

सन् १९९८ र २०११ को अवस्था नदोहोरियोस्

सरकारले यसअघि मनाएको सन् १९९८ र २०११ को भ्रमण वर्षमा लक्ष्यभन्दा कम पर्यटक नेपाल भित्रिएका थिए । सरकारले १९९८ मा ५ लाख पर्यटक भित्र्याउने भने पनि ४ लाख ६३ हजार ६ सय ८४ र सन् २०११ मा १० लाख पर्यटकको लक्ष्य रहेकोमा ७ लाख ३६ हजार २ सय १५ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

पर्याप्त तयारी र पूर्वाधाबिना घोषणा मात्र गर्दा यसअघिका अभियानले लक्ष्य हासिल गरेका थिएनन् । भूकम्पका बेला २०१५ मा नेपालमा जम्मा ५ लाख ३८ हजार ९ सय ७० पर्यटक भित्रिएका थिए । भूकम्पपछिको पुनर्निर्माणको सुस्तता र अन्तर्राष्ट्रिय क्षेत्रमा परेको नकारात्मक सन्देशलाई अझ चिर्न नसकेको अवस्थामा सरकारलाई यो २०२० मा पनि २० लाख पर्यटक भित्र्याउन मुस्किल पर्ने पर्यटन व्यवसायी गणेश शर्मा बताउँछन् ।