क्षेत्रमा उदाएर केन्द्रमा जम्दै विकास बैङ्क

बैङ्कमा ग्राहक सङ्ख्या बढ्नु, रेमिट्यान्सले जीवनस्तर माथि उठ्नु, विकास बैङ्कप्रति ग्राहकको विश्वास बढ्दै जानु जस्ता कारणले क्षेत्रीयस्तरका विकास बैङ्कहरु राष्ट्रिय रुपमा आउन सकेका छन् । यसले गुणस्तरीय सेवा विस्तार गर्नुपर्छ भन्ने भावना बैङ्कहरुमा पलाएको छ ।

जुन बेला बैङ्कहरु सहरकेन्द्रित थिए, त्यसबेला गाउँगाउँमा बैङ्क पुग्नुपर्छ भनेर क्षेत्रीयस्तरमा विकास बैङ्कहरु खुले । एक जिल्ला, तीन जिल्ला र १० जिल्ला कार्यक्षेत्र बनाएर खुलेका विकास बैङ्कहरु पछिल्लो समयमा भने काठमाडौंकेन्द्रित देखिन थालेका छन् । कार्यक्षेत्र विस्तार गर्ने भन्दै क्षेत्रीयस्तरमा खुलेका विकास बैङ्कहरु धमाधम काठमाडौंमा सिफ्ट भएका छन् ।

वित्तीय सेवाको अधिक हिस्सा ओगट्ने काठमाडौं उपत्यकामा आउन क्षेत्रीयस्तरका विकास बैङ्कहरुले निकै मेहनत पनि गर्नुपरेको छ । राजधानीमा आएपछि मात्रै मुलुकका अन्य क्षेत्रमा विस्तार हुन सहज ठान्ने भएकाले पनि क्षेत्रीयस्तरका विकास बैङ्क राजधानी केन्द्रित देखिएका हुन् । राजधानीमा आएसँगै ती विकास बैङ्कहरुले मुलुकभर शाखा विस्तारलाई जोड दिन थालेका छन् । ससानो क्षेत्रमा मात्रै कारोबार सीमित गर्दा त्यसले संस्था चलाउनै धौधौ हुने र सानो काम पर्नेबित्तिकै राजधानी हुत्तिइहाल्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि उनीहरु राजधानी आउने बहाना बनाइरहेका थिए । पछिल्लो समय केन्द्रीय बैङ्कले बैङ्क तथा वित्तीय संस्था गाभ्ने/गाभिने रणनीति अङ्गालेपछि फाइदा क्षेत्रीयस्तरका विकास बैङ्कहरुले उठाएका छन् ।

खासगरी क्षेत्रीयस्तरका खुलेर एकआपसमा एकीकृत हुँदै गरिमा विकास बैङ्क, ओम विकास बैङ्क, मुक्तिनाथ विकास बैङ्क, साङ्ग्रिला विकास बैङ्क, गण्डकी विकास बैङ्क र कामना सेवा विकास बैङ्क राजधानी सिफ्ट भएका छन् । केन्द्रमा आइरहेका यी सबै विकास बैङ्कहरु कुनै न कुनै रुपले कास्कीसँग जोडिएका पनि छन् ।

गरिमा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्दप्रसाद ढकालले ग्राहकका सेवा सुविधालाई ध्यान दिँदै गएकाले यो उचाइ हासिल गर्न सकेको बताए । उनले अबका दिनमा पनि बैङ्कले सशक्त ढङ्गबाट सेवा प्रदान गर्दै व्यासाय योग्य क्षेत्रमा सेवा विस्तार गर्दै जाने उनको भनाइ छ ।

बैङ्कमा ग्राहक सङ्ख्या बढ्नु, रेमिट्यान्सले जीवनस्तर माथि उठ्नु, विकास बैङ्कप्रति ग्राहकको विश्वास बढ्दै जानु जस्ता कारणले क्षेत्रीयस्तरका विकास बैङ्कहरु राष्ट्रिय रुपमा आउन सकेका छन् । यसले गुणस्तरीय सेवा विस्तार गर्नुपर्छ भन्ने भावना बैङ्कहरुमा पलाएको छ ।

गरिमा विकास बैङ्क कास्कीको पोखरालाई आधार बनाएर वित्तीय सेवा सुरु गरेको थियो । हाल काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय छ । गत आर्थिक वर्षसम्ममा बैङ्कको चुक्ता पुँजी दुई अर्ब ५३ करोड ४८ लाख रुपैयाँ छ भने देशभर २७ शाखा छन् । तीन जिल्ला कार्यक्षेत्र रहेको गरिमामा म्याग्दीको एक जिल्ले नीलगिरि विकास बैङ्क र अर्को तीनजिल्ले चितवनको शुभेच्छा विकास बैङ्क एकीकृत भएका छन् ।

क्षेत्रीयस्तरबाट आफ्नै नाममा उदाएको अर्को मुक्तिनाथ विकास बैङ्क हो । खासगरी लघुवित्त क्षेत्रमा नाम कहलिएको मुक्तानाथ सहरी क्षेत्रमाभन्दा ग्रामीण क्षेत्रको व्यवसाय विस्तारमा केन्द्रित भएको छ । मुक्तिनाथको कुल कर्जामा ३० प्रतिशत लघुवित्त क्षेत्रमा भएको बताइन्छ । क्षेत्रीयस्तरबाट राष्ट्रियस्तरमा आउनुभन्दा अब राष्ट्रियस्तरको विकास बैङ्क बनिसकेपछि चुनौती बढेको मुक्तिनाथका प्रमुख वित्त अधिकृत रुपेश लुइँटेलले बताए । हाल ९५ शाखा रहेको मुक्तिनाथ आगामी दिनमा आउने चुनौतीलाई समाधान गर्न बैङ्क सतर्क रहेको उनको भनाइ छ । पोखराको पृथ्वी चोकमा केन्द्रीय कार्यालय राखेर तीन जिल्लामा सीमित भएको मुक्तिनाथ एकजिल्ले धादिङको सिभिक विकास बैङ्कलाई गाभेपछि राष्ट्रियस्तरको विकास बैङ्कमा परिणत भएको हो । ९३ शाखा र २ अर्ब ५९ करोड १७ लाख रुपैयाँ चुक्ता पुँजी भएको मुक्तिनाथको प्रधान कार्यालय काठमाडौंको कमलादीमा स्थानान्तरण गरिएको छ ।

पोखरामै केन्द्रित १० जिल्ला कार्यक्षेत्र भएको साङ्ग्रिला विकास बैङ्कमा नेपालगन्ज मुख्य कार्यक्षेत्र रहेको तीनजिल्ले वागेश्वरी डेभलपमेन्ट बैङ्क गाभिएपछि राष्ट्रियस्तरको साङ्ग्रिला डेभलपमेन्ट बैङ्क बनेको हो । केन्द्रीय कार्यालय पोखरा र कर्पोरेट कार्यालय काठमाडौंको बालुवाटारमा रहेको साङ्ग्रिलाको ५४ शाखा छन् भने साढे २ अर्ब पुँजी रहेको छ । साङ्ग्रिलामा पछि गोरखाको एकजिल्ले कसमस डेभलपमेन्ट बैङ्क गाभिएको थियो । साङ्ग्रिलाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र पौडेल क्षेत्रीयस्तरबाट राष्ट्रियस्तरमा आइसकेपछि यसको कार्यक्षेत्र नै विस्तार भएको बताउँछन् । खासगरी सरकारले आफू र आफूअन्तर्गतको सार्वजनिक संस्थाको निक्षेप विकास बैङ्कमा पनि राख्न दिएमा राष्ट्रियस्तरका विकास बैङ्कहरु सहज सहजतासँग अघि बढ्ने उनको भनाइ छ ।
सप्तगण्डकी विकास बैङ्कका सहायक म्रमुख कार्यकारी अधिकृत तारानाथ लम्सालले पूर्वाधार, प्रविधि र व्यवस्थापनलाई ध्यान दिएर बैङ्क सञ्चालन गर्दा बैङ्क केन्द्रका साथै राष्ट्रियस्तरको प्रतिस्पर्धामा उत्रिएको बताए । उनले गण्डकी बैङ्क वाणिज्य बैङ्कसँगको प्रतिस्पर्धाका लागि पनि तयार रहेकाले आगामी दिनमा आउने सबैखाले चुनौतीलाई बैङ्कले समाधान गर्दै जाने बताए । बैङ्कले भविष्यमा ग्राहकमैत्री वातावरणमा सेवा दिँदै बजारमा खरो प्रतिस्पर्धामा उत्रिने योजना बनाएको छ ।

सुरुमा पोखराको फेवा फाइनान्स र पोखराकै तीनजिल्ले विश्व विकास बैङ्क एकीकृत भएर राष्ट्रियस्तरको फेवा विकास बैङ्क बनेको थियो । तर, पोखराकै १० जिल्ले गण्डकी विकास बैङ्कमा फेवा गाभिएपछि गण्डकी विकास बैङ्कका रुपमा कम्पनीले कारोबार सुरु गरेको हो । चुक्ता पुँजी हाल २ अर्ब ७५ करोड रुपैयाँ रहेको गन्डकीको ८० शाखा सञ्चालनमा छन् । केन्द्रीय कार्यालय पोखरामा भए पनि काठमाडौंमा सेवा विस्तार गरिसकेको छ ।

सुरुमा १० जिल्ला कार्यक्षेत्र भएको कामना विकास बैङ्कमा कास्कीकै कास्की फाइनान्ससँग मर्ज भएर राष्ट्रियस्तरको कामना विकास बैङ्क बन्यो । केही समयपछि नै त्यसमा बुटवलकेन्द्रित १० जिल्ले सेवा विकास बैङ्क एकीकृत भएपछि राष्ट्रियस्तरको कामना सेवा विकास बैङ्कको रुपमा कारोबार सुरु गरेको हो । हाल बैङ्कको चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख रुपैयाँ छ । केन्द्रीय कार्यालय पोखरमा भए पनि कामना सेवाले काठमाडौंका सेवा विस्तार गरिसकेको छ ।

त्यस्तै पोखरामै केन्द्रित भएको ओम फाइनान्सले पनि पोखराकै सिटी डेभलपमेन्ट बैङ्कसँग एकीकृत भएर राष्ट्रियस्तरको ओम विकास बैङ्कको नाममा अहिले कारोबार गरिरहेको छ । हाल कम्पनीको केन्द्रीय कार्यालय पोखरामै रहेको ओममा तीन जिल्ला कार्यक्षेत्र भएको मनास्लु विकास बैङ्क पनि गाभिएको छ । ओमले काठमाडौंमै तीन शाखा विस्तार गरेको छ । ५० शाखा रहेको ओमको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५२ लाख रुपैयाँ छ ।