फेक रेस्क्युमा ७ हेलिकप्टर कम्पनीमाथि पुनः छानबिन

प्राधिकरणले अहिले सिम्रिक, माउन्टेन, कैलाश, श्री, प्रभु, अल्टिच्युड, समिट हेलिकप्टर कम्पनीमाथि पुुनः छानबिन थालेको हो ।

फेक रेस्क्युमा ट्राभल र अस्पतालसँग मिलेमतोमा नेपाल आउने पर्यटकसँग चर्काे शुल्क उठाएर ठगी गरेको विषयमा नेपाल नागरिक उडड्यन प्राधिकरणले ७ कम्पनीमाथि पुनः छानबिन थालेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विदेशी पर्यटकलाई पदयात्राका क्रममा बिरामीको अवस्थामा उद्धार गर्ने तथा फेक रेस्क्यु गरेर चर्काे रकम असुली ठगी गर्ने ट्राभल/ट्रेकिङ एजेन्सी, अस्पताल, उद्धार संस्था तथा हेलिकोप्टर कम्पनीलाई छानबिन गरेको थियो । छानबिन गर्न मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा ६ सदस्यीय समिति गठन भएको थियो । छानबिन समितिले साउन १४ आफ्नो ७ सय पृष्ठको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीलाई बुझाएको थियो । प्रतिवेदनमा १५ संस्थालाई कारबाहीका लागि सिफारिस गरिएको छ । जसमा ३ हेलिकप्टर कम्पनी छन् ।

छानबिन समितिकै प्रतिवेदनअनुसार थप ७ हेलिकोप्टर कम्पनीमाथि पुनः छानबिन गर्न लागिएको समितिका सदस्य तथा प्राधिकरणका उपमहानिर्देशक सुवास झाले बताए । ‘अबको छानबिन प्राधिकरणले गर्ने हो । तर छानबिन समितिकै प्रतिवेदनका आधारमा छानबिन हुन्छ,’ उनले भने ।

पर्यटकसँग चर्काे शुल्क असुल्ने केही हेलिकोप्टर कम्पनीको नाम प्रतिवेदनमा छुटेकै कारण फेरि छानविन हुन थालेको छानविन समितिमा रहेका अर्काे एक सदस्यले क्यापिटलनेपाललाई बताए । उनका अनुसार सामान्य उडानमा पनि अत्यधिक शुल्क उठाएका केही हेलिकप्टर कम्पनी छुटेका कारण प्राधिकरण आफंैले छानबिन गर्नेछ ।

समितिले यसअघि बुझाएको प्रतिवेदनमा मनाङ एयर, एयर डायनेस्टी र हेली एभरेस्टले पर्यटकसँग चर्काे शुल्क उठाएको भन्दै कारबाही सिफारिस गरिएको छ । प्राधिकरणले गत जेठमा १० हेलिकोप्टर कम्पनीलाई उद्धार गरेको मिति, समय र स्थान, हेलिकोप्टर बुक गर्ने कम्पनी, बिरामीको नाम र देश, हेलिकोप्टरको भाडा रकम, बिरामी लगिएको अस्पतालको नाम र ठेगाना उपलब्ध गराउन पत्र काटेको थियो । प्राधिकरणको पत्रपछि सबै हेलिकोप्टर कम्पनीले विवरण बुझाएका थिए ।

प्राधिकरणले अहिले सिम्रिक, माउन्टेन, कैलाश, श्री, प्रभु, अल्टिच्युड, समिट हेलिकप्टर कम्पनीमाथि पुुनः छानबिन थालेको हो ।