बिमा कम्पनीको कर्पोरेट एजेन्टका रुपमा बिमा पोलिसी बेच्दै बैङ्कहरु

बैङ्कसँग सम्झौता गर्ने बिमा कम्पनीमा नेसनल लाइफ, आईएमई लाइफ, गुराँस लाइफ, युनियन लाइफ, आईएमई जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, गुराँस लाइफ, एभरेस्ट इन्स्योरेन्स, एलआइसी, सानिमा लाइफ, रिलायबल लाइफ, प्रभु लाइफ, प्राइम लाइफ अग्रस्थानमा छन् ।

पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाहरु बिमा कम्पनीको कर्पोरेट एजेन्टका रुपमा आफ्ना ग्राहकलाई बिमा पोलिसी बेच्दै आएका छन् । बिमा कम्पनी र बैङ्कबीच कर्पोरेट एजेन्टका रुपमा सम्झौता भए पनि कम्पनीहरुले बैङ्कास्योरेन्सको नाम दिइरहेका छन् ।

बैङ्कले बिमा कम्पनीसँग बैङ्कास्योरेन्स सम्झौता भन्दै आफ्ना ग्राहकलाई बिमा पोलिसी बेच्दै आएका छन् । जसबाट आएको नाफाको सीमित प्रतिशत बिमा कम्पनीबाट बैङ्कले खाँदै आएका छन् । तर, बिमा समिति बैङ्क र इन्स्योरेन्सबीच भएको सम्झौतालाई बैङ्कास्योरेन्स मान्न तयार छैन । हालसम्म बैङ्कास्योरेन्ससम्बन्धी नियम नबनेको बिमा समितिको भनाइ छ । समिति आगामी दिनमा बैङ्कास्योरेन्ससम्बन्धी छुट्टै नियम ल्याउने तयारीमा जुटेको छ ।

हाल बैङ्क र बिमा कम्पनीबीच भएको भनिएको बैङ्कास्यारेन्स सम्झौता गर्न बिमा समितिबाट स्वीकृति नलिएको बिमा विज्ञ तथा बिमा समितिका सल्लाहकार भोजराज शर्माले बताए । अहिलेसम्म बिमा कम्पनी र बैङ्कबीच भएको सहमतिको कुनै तथ्याङ्क बिमा समितिसँग नभएको उनको भनाइ छ ।

बिमा कम्पनीले हाल बैङ्कलाई आकस्मिक दुर्घटना, आगलागी, बाढीपहिरो, रोग, मृत्युलगायतका समिति क्षेत्रका बिमा पोलिसी प्रतिशतका आधारमा बेच्न दिइरहेका छन् । बिमा कम्पनी र बैङ्कबीच वास्तविक बैङ्कास्योरेन्स भएमा बैङ्कले आफ्नो वेबसाइटमा बिमा कम्पनीको कारोबार खुलाउने छन् ।

यसैबीच एनआइसी एसिया बैङ्क बिमा कम्पनीसँग मिलेर बिमा पोलिसी बेच्ने सहकार्य गर्ने बैङ्कहरुको अग्रस्थानमा छ । बैङ्कले हालसम्म ६ बिमा कम्पनीसँग सम्झौता गरिसकेको छ । युनियन लाइफ, रिलायबल लाइफ, युनाइटेड लाइफ, प्रुडेन्सियल इन्स्योरेन्स, नेसनल लाइफ र सूर्या लाइफसँग एनआईसीले सम्झौता गरेको छ ।

यस्तै ग्लोबल आईएमई, सेन्चुरी कमर्सियल, एनसीसी, एभरेस्ट, कुमारी, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क, सिभिल, बैङ्क अफ काठमान्डू, माछापुच्छ«ेलगायतका बैङ्कले पनि बिमा पोलिसी बेच्ने सम्झौता गरेका छन् । बैङ्कसँग सम्झौता गर्ने बिमा कम्पनीमा नेसनल लाइफ, आईएमई लाइफ, गुराँस लाइफ, युनियन लाइफ, आईएमई जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, गुराँस लाइफ, एभरेस्ट इन्स्योरेन्स, एलआइसी, सानिमा लाइफ, रिलायबल लाइफ, प्रभु लाइफ, प्राइम लाइफ अग्रस्थानमा छन् ।

साथै, बिमा कम्पनीको कर्पोरेट एजेन्टको भूमिकामा विकास बैङ्क पनि रहँदै आएका छन् । मुक्तिनाथ, साङ्ग्रिला, लुम्बिनी, कैलाश, महालक्ष्मी र गण्डकी विकास बैङ्कले पनि बिमा कम्पनीसँग बिमा पोलिसी बेच्ने सम्झौता गरेका छन् ।