पर्यटक उद्धारका नाममा भइरहेको ठगी रोक्न कानुन बनाइँदै

व्यवसायीको ज्यादती बढेको र त्यसको असर अन्तर्राष्ट्रिय समुदायसम्म परेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन उद्धारको कार्यविधि बनाउन लागेको हो ।

पदयात्राका क्रममा पर्यटकलाई बिरामी पारेर उद्धारका नाममा ठगीधन्दा चलाइरहेका व्यवसायीलाई सरकारले कानुनी दायरामा ल्याउने भएको छ ।

व्यवसायीको ज्यादती बढेको र त्यसको असर अन्तर्राष्ट्रिय समुदायसम्म परेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन उद्धारको कार्यविधि बनाउन लागेको हो ।

ट्राभल, ट्रेकिङ एजेन्सी, अस्पताल, उद्धार संस्था तथा हेलिकप्टर कम्पनीले पछिल्लो समय विदेशी पर्यटकलाई पदयात्राका क्रममा बिरामी बनाउने र उद्धार गर्ने तथा फेक रेस्क्यु गरेर चर्काे रकम असुली गरी ठगी गर्ने क्रम बढेपछि मन्त्रालयले नयाँ कार्वविधि बनाउन लागेको हो ।

’कार्यविधिको ड्राफ्ट बनिरहेको छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘केही समयभित्रै सार्वजनिक गर्छौ ।‘ उनले कार्यविधि छिटोभन्दा छिटो सार्वजनिक गर्ने गरी काम भइरहेको बताएका छन् । कार्यविधिमा पर्यटक उद्धारका लागि दर–रेट निर्धारण गर्न लागेको समेत जानकारी दिए । उद्धारका लागि हालसम्म हेलिकप्टर कम्पनीहरुलाई सरकारी दर–रेट निर्धारण गरिएको छैन ।

मन्त्रालयले बनाउन लागेको ड्राफ्टमा पर्वतारोहण र पदयात्रा गराउन अनिवार्य इजाजत लिनुपर्ने, पर्यटक उद्धारका लागि प्रहरीमा छुट्टै युनिट खडा गर्ने, पर्यटकलाई थप आर्थिक दायित्व पार्न नहुने, बिरामी परेका पर्यटकलाई सुरुमा नजिकको अस्पतालमा लैजाने र बिरामीको अवस्था हेरी अन्य अस्पतालमा लैजानुपर्ने, उद्धारपछि हुने भुक्तानीलाई व्यवस्थित बनाउनु पर्ने लगायतका विषयहरु समेट्न लागिरहेको ती अधिकारीले जानकारी दिए ।

पर्यटन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता घनश्याम उपाध्यायले पर्यटक उद्धारको कार्यविधि बनाइरहेको बताए । पर्यटक उद्धारमा देखिएको विकृतिलाई व्यवस्थित गर्न लागिपरेको प्रवक्ता उपाध्यायको भनाइ छ । अन्तर्राष्ट्रिय जगतमा पर्वतारोहण र पदयात्राको विषयमा नकारात्मक सन्देश फैलिएकाले पनि त्यसलाई साम्य पार्न कार्यविधि बनिरहेको जानकारी दिए ।

नेपाल आउने विदेशी पर्यटकलाई पदयात्राका क्रममा उद्धार गर्दा चर्काे शुल्क लिइएको विषयमा मन्त्रालयले छानबिन समिति बनाई १५ संस्थालाई दोषी ठहर्याउँदै कारबाहीका लागि विभिन्न निकायमा सिफारिस गरिसकेको छ । सरकारले विदेशी पर्यटकलाई पदयात्राका क्रममा बिरामीको अवस्थामा उद्धार गर्ने तथा फेक रेस्क्यु गरेर चर्काे रकम असुली ठगी गर्ने ट्राभल÷ट्रेकिङ एजेन्सी, अस्पताल, उद्धार संस्था तथा हेलिकप्टर कम्पनीलाई छानबिन गर्दै अनुसन्धान गरेको थियो ।