केजीएच ग्रुप ५० वर्षमा, कर्ण शाक्य भन्छन्— म श्रमजीवी उद्यमी हुँ

श्रमबिना सफलता मिल्दैन भन्ने सोचका साथ अघि बढेका शाक्यले अहिले काठमाडौंसहित विभिन्न ठाउँमा सात ओटा होटल सञ्चालन गरेका छन् ।

म अहिले ७६ वर्षमा लागेँ । महिनामा तीन ओटा जिल्ला घुम्छु । धेरै हिँड्छु र श्रम गर्छु । त्यही कारण अहिलेसम्म स्वस्थ छु । यो भनाइ हो,काठमाडौं गेष्ट हाउस ग्रुप ‘केजीएच’का संस्थापक कर्ण शाक्यको । उनी भन्छन्, ‘म श्रमजीवी उद्यमी हुँ ।’

श्रमबिना सफलता मिल्दैन भन्ने सोचका साथ अघि बढेका शाक्यले अहिले काठमाडौंसहित विभिन्न ठाउँमा सात ओटा होटल सञ्चालन गर्छन् । ‘उमेर ढल्किँदै गए पनि मेरो मनमा जोशजाँगर अझै घटेको छैन,’ शाक्यले भने, ‘श्रम नगरे लामो समय बाँच्न सक्दिन जस्तो लाग्छ ।’ उनी अहिले पनि होटलमा विभिन्न पेन्टिङ गर्छन् भने पुस्तक लेखनमा पनि सक्रिय छन् ।

वन कार्यालयका पूर्वजागिरे केजीएच ग्रुपका संयोजक शाक्यले सन् १९६८ मा काठमाडौं गेष्ट हाउसबाट होटल व्यवसाय सुरु गरेका थिए । नेपाल प्राकृतिक सुन्दरताको धनी देश भएकाले कुनै दिन नेपालमा धेरै पर्यटक आउँछन् भन्ने भएकाले नै आफूले होटल व्यवसायमा हात हालेको बताए । प्रकृतिमैत्री होटल सञ्चालन गर्ने सोचका साथ अघि बढेका शाक्यले बूढानीलकण्ठमा पार्क भिलेज होटल सञ्चालनमा ल्याए । होटल सञ्चालनअघि उनले तीन हजार पाँच सय ओटा रुख रोपेको बताउँछन् । उनै शाक्यले सुरु गरेको होटल व्यवसायले ५० वर्षमा प्रवेश गरेको छ । केजीएच ग्रुपमा अहिले करिब ८ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

केजीएच ग्रुपका काठमाडौंको ठमेलमा काठमाडौं गेस्ट हाउस, बूढानीलकण्ठमा पार्क भिलेज होटल, नक्सालमा माया म्यानोर बुटिक होटल, पोखरामा हिमालयन फ्रन्ट होटल र वाटरफ्रन्ट रिसोर्ट, लुम्बिनीमा बुद्धमाया ग्रान्ड होटल तथा चितवन राष्ट्रिय निकुञ्जमा मारुणी सेन्चुरी लज सञ्चालनमा छन् ।

तेस्रो पुस्ताले नेतृत्व गर्दै

केजीएच ग्रुप विशुद्ध पारिवारिक समूह हो । यहाँ तीन पुस्ताले व्यवसाय सञ्चालन गर्दै आएका छन् । ग्रुपका संस्थापक कर्ण शाक्यले विस्तारै नयाँ पुस्तालाई व्यवसाय हस्तान्तरण गर्दै गएको बताए । केजीएच ग्रुपमा कर्ण शाक्यका छोरा सुनिल शाक्यले पार्क भिलेज होटलको व्यवस्थापन गर्दै आएका छन् भने अर्का छोराबुहारी राजु शाक्य र सगुनी सिंह शाक्यले काठमाडौं गेष्ट हाउसको जिम्मा लिएका छन् ।

यसैगरी नातिनी अमृताञ्जली शाक्यले लुम्बिनीको बुद्धमाया ग्रान्ड होटल सम्हाल्दै आएकी छिन् । छोरी त्रिशाग्नि शाक्य केही समयअघि मात्र अमेरिकाबाट अध्ययन सकेर नक्सालमा रहेको माया म्यानोर बुटिक होटल हेरिरहेकी छिन् ।
कर्ण भन्छन्, ‘मेरो परिवारलाई नै होटल व्यवसायमा लगाएको छु । होटल सञ्चालनको बेला जे समस्या परे पनि उनीहरुले नै समाधान गर्ने गरेका छन् । मैले मात्र बाटो देखाउने काम गरेको हुँ ।’

पार्क भिलेज अर्थात् शिक्षण होटल
पार्क भिलेज होटल शिक्षण होटलको रुपमा विस्तार हुँदै गएको छ । होटलका सञ्चालक सुनिल शाक्यले होटल व्यवसायमा देखिएको दक्ष कामदारको अभाव हटाउन शिक्षण होटलको रुपमा विकास गर्दै गएको बताए । नेपालमा पर्यटकको आगमन दिनानुदिन बढ्दै गएसँगै सुविधासम्पन्न ठूला होटल सञ्चालन हुने क्रम जारी छ ।

ती होटलमा अहिले पनि आवश्यक जनशक्तिको अभाव देखिएको छ । त्यही अभाव पूर्ति गर्न विगत ७÷८ महिनादेखि होटल एकेडेमी सञ्चालन गरेको केजीएच ग्रुपका चिफ अपरेटिङ अफिसर सञ्जीव थापाले जानकारी दिए । हालसम्म यहाँ उत्पादित २५÷३० जनाले रोजगारी पाइसकेका छन् । केजीएच ग्रुपले अधिकांशलाई त्यहीं रोजगारी दिने गरेको छ ।

तीन महिने कोर्सको ५० हजार र ६ महिने कोर्सको ७५ हजार रुपैयाँ शुल्क लाग्ने बताउँदै प्रशिक्षार्थीलाई खानाको व्यवस्था भने होटलले नै गर्ने गरेको चिफ अपरेटिङ अफिसर थापाको भनाइ छ । उनले होटलमै पढ्ने, होटलमै कामको अनुभव लिने र त्यहीँ करिअर विकास गर्न मिल्ने संस्थाको रुपमा शिक्षण होटललाई लिने गरिएको बताए ।