कानुन नै नभएको बैङ्कास्योरेन्स सम्झौता गर्दै बिमा कम्पनी र बैङ्क

समितिका अुनसार बैङ्कास्योरेन्स हुनका लागि बैङ्क तथा बिमा कम्पनीले बिमा समितिसँग स्वीकृति लिनुपर्छ । नेपालमा अहिले एक दर्जन बैङ्क तथा बिमा कम्पनीले बैङ्कास्योरेन्स गरे पनि बिमा समितिबाट स्वीकृति लिएका छैनन् ।

बिमा कम्पनी र बैङ्कबीच धमाधम बैङ्कास्योरेन्स सम्झौता भइरहँदा बिमा समितिले भने नेपालमा बैङ्कास्योरेन्ससम्बन्धी कानुन नभएको बताएको छ । समितिले बैङ्कास्योरेन्ससम्बन्धी कानुन बन्ने प्रक्रियामा रहेको तर अहिले दुई वित्तीय संस्थाबीच बिमाका विषयमा कुनै कानुन नभएको जनाएको हो ।

पछिल्लो समय बैङ्क र बिमा कम्पनीहरुले ग्राहलाई सेवा दिने बाहनामा गरिरहेको सम्झौताको स्वीकृति बिमा समतिसँग लिने गरेका छैनन् । जति पनि कम्पनीबीच सम्झौता भएका छन्, त्यो आफुखुसी गरेका हुन् ।

यसैगरी बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीले बिमा पोलिसी बेच्ने सहमति गरिरहँदा बिमा कम्पनीको नियामक निकाय बिमा समिति भने यसलाई बैङ्कास्योरेन्स मान्न तयार छैन । समितिका अुनसार बैङ्कास्योरेन्स हुनका लागि बैङ्क तथा बिमा कम्पनीले बिमा समितिसँग स्वीकृति लिनुपर्छ । नेपालमा अहिले एक दर्जन बैङ्क तथा बिमा कम्पनीले बैङ्कास्योरेन्स गरे पनि बिमा समितिबाट स्वीकृति लिएका छैनन् ।

बिमा समितिले बैङ्कास्योरेन्सको व्यवस्था नगरेको हुँदा बैङ्क र बिमा कम्पनीले आफुखुसी कर्पोरेट एजेन्टका रुपमा बैङ्कास्योरेन्स सम्झौता गरिरहेका छन् । कम्पनीहरुले त्यसलाई बैङ्कास्योरेन्सको नाम दिइ रहँदा बिमा समितिले आगामी दिनमा यससम्बन्धी कानुन बन्ने बताउँदै आएको छ ।

बिमा विज्ञ तथा बिमा समितिका सल्लाहाकार भोजराज शर्माले कम्पनीहरुले गरेको सम्झौताको तथ्याङ्क समितिसँग नभएको दाबी गरे । उनले भने, ‘हालसम्म कति ओटा बैङ्क तथा बिमा कम्पनीबीच सम्झौता भयो, त्यसको तथ्याङ्क बिमा समितिसँग छैन ।’ शर्माका अनुसार स्वीकृती नलिए पनि बैङ्क तथा बिमा कम्पनीलाई समितिले कारबाही गर्दैन ।

उनले बैङ्कास्योरेन्सको कानुन नै नभएका कारण कम्पनीबीच भएको सम्झौतालाई स्वीकृति नचाहिने बताए । वास्तविक बैङ्कास्योरेन्सका लागि बिमा समितिले कानुन बनाएर लागू गरेपछि भने सम्झौताका लागि स्वीकृति लिनु पर्छ ।

तर, बिमा कम्पनीसँगको सहकार्यमा बैङ्कले देशभर रहेका ग्राहकसमक्ष बिमा कम्पनीका जीवन तथा निर्जीवन बिमा पोलिसी बेच्ने गरेका छन् । अधिकांश बैङ्कले बिमा कम्पनीसँग बैङ्कास्योरेन्स सम्झौता गर्दै आफ्ना ग्राहकलाई देशभर बिमा कम्पनीका पोलिसी बेच्दै आएका छन् ।

बैङ्कास्योरेन्स सम्झौता गर्दै बिमा पोलिसी बेच्ने अग्रस्थानमा एनआईसी एसिया बैङ्क छ । बैङ्कले हालसम्म ६ ओटा बिमा कम्पनीसँग सम्झौता गरिसकेको छ । युनियन लाइफ, रिलायबल लाइफ, युनाइटेड लाइफ, प्रुडेन्सियल इन्स्योरेन्स, नेशनल लाइफ र सुर्या लाइफसँग एनआईसीले सम्झौता गरेको छ ।

यस्तै ग्लोबल आईएमई, सेन्चुरी कर्मसियल, एनसीसी, एभरेष्ट, कुमारी, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क, सिभिल, बैङ्क अफ काठमाण्डू, माछापुच्छ«े लगायतका बैङ्कले पनि बिमा पोलिसी बेच्ने सम्झौता गरेका छन् । बैङ्कसँग सम्झौता गर्ने बिमा कम्पनीमा नेशनल लाइफ, आईएमई लाइफ, गुँरास लाइफ, युनियन लाइफ, आईएमई जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, एलआईसी, सानिमा लाइफ, रिलायबल लाइफ, प्रभु लाइफ तथा प्राइम लाइफ अग्रस्थानमा छन् ।

मुक्तिनाथ, साङ्ग्रिला, लुम्बिनी, कैलाश, महालक्ष्मी र गण्डकी विकास बैङ्कले पनि बिमा पोलिसी बेच्ने सम्झौता गरेका छन् । बिमा कम्पनीले हाल बैङ्कलाई आकस्मिक दुर्घटना, आगलागी, बाढी पहिरो, रोग, मृत्यु लगायतका सीमित क्षेत्रका बिमा पोलिसी बेच्न दिइरहेका छन् ।