श्रम मन्त्रालयले कलिङ भिसाको तथ्याङ्क माग्यो

करिब ४ महिनादेखि मलेसियामा नेपाली कामदार जाने प्रक्रिया बन्द भएपछि अहिले नेपाल र मलेसियाबीच रोजगार खुलाउन कुटनीतिक पहल भैरहँदा मन्त्रालयले कलिङ भिसा पाएका कामदारको तथ्याङ्क मागेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार व्यवसायीसँग मलेसिया जाने कामदारको कलिङ भिसाको तथ्याङ्क मागेको छ ।

करिब ४ महिनादेखि मलेसियामा नेपाली कामदार जाने प्रक्रिया बन्द भएपछि अहिले नेपाल र मलेसियाबीच रोजगार खुलाउन कुटनीतिक पहल भैरहँदा मन्त्रालयले कलिङ भिसा पाएका कामदारको तथ्याङ्क मागेको हो ।

गत जेठ २ गते श्रममन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारहरुसँग चर्काे रकम लिएर ठगी गरेको भन्दै बायोमेट्रिक, भीएलएन, माइग्राम्स, वान स्टप सेन्टर र जीएसजीलाई खारेजी गर्दै कारवाही गरेका थिए । पाँच संस्थालाई कारवाही गरेपछि मलेसिया जाने प्रक्रिया बन्द भएको थियो । पछिल्लो पटक नेपाली कामदारका लागि नेपालसँग श्रम समझदारी गर्न मलेसिया सरकारले नेपाललाई मस्यौदा पठाएको थियो । नेपालले गत साता मस्यौदामा संशोधन गरेर जवाफ फर्काइसकेको छ । मलेसियाको रोजगार खुलाउन कुटनीटिक पहल थालेको सरकारले कलिङ भिसाको तथ्याङ्क व्यवसायीसँग मागेको हो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङले मन्त्रालयबाट कलिङ भिसाको तथ्याङ्क मागिएको बताए । ‘मन्त्रालयले सबै व्यवसायीसँग कलिङ भिसा लागेको कामदारको जानकारी मागेको छ, अहिले सङ्घले सबै व्यवसायीसँग समन्वय गरेर तथ्याङ्क सङ्कलन गरिरहेको छ,’ उनले भने । मङ्गलबारसम्म १० हजार कलिङ भिसा लागेका कामदारको तथ्याङ्क प्राप्त भैसकेको र बुधबार पनि तथ्याङ्क लिएपछि मन्त्रालयमा बुझाइने उनले बताए ।

कलिङ भिसाको तथ्याङ्क सङ्कलन गरेर पहिला कलिङ भिसा लागेका कामदारलाई मलेसिया पठाउने र बाँकीलाई श्रम समझदारीमा हस्ताक्षर भएपछि पठाइने मन्त्रालयका एक सहसचिवले क्यापिटल नेपाललाई बताए । नेपालबाट मस्यौदा संशोधनसहित मलेसिया पठाइएको छ, मलेसियाले ढिला गरेन भने सेप्टेम्बरको दोस्रो सातासम्म मलेसियाको रोजगारी खुल्ने उनले बताए ।

मन्त्रालयले यसअघि गत जेठ २ गतेसम्म भिसा स्ट्याम्पिङ भइसकेका नेपाली कामदारलाई मलेसिया जान केही समय खुला गरेको थियो । सो अवधिमा चार सय ५३ जना कामदार मलेसिया पुगेका थिए ।