पर्यटक उद्धारको जिम्मा निजी क्षेत्रलाई, शुल्क सरकारले तोक्ने

खोज तथा उद्धारको जिम्मा निजी क्षेत्रलाई दिनु पर्ने र त्यसको शुल्क सरकारले निर्धारण गर्नु पर्ने सुझाव पेस गरेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष सीएन पाण्डेले जानकारी दिए ।

पर्यटक उद्धारको जिम्मा आफूलाई दिनु पर्ने भन्दै निजी क्षेत्रले सरकारलाई प्रतिवेदन बुझाएको छ । खोज तथा उद्धारको जिम्मा निजी क्षेत्रलाई दिनु पर्ने र त्यसको शुल्क सरकारले निर्धारण गर्नु पर्ने सुझाव पेस गरेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष सीएन पाण्डेले जानकारी दिए ।

पदयात्राका क्रममा पर्यटकलाई बिरामी पारेर उद्धारका नाममा ठगीधन्दा चलाइरहेका व्यवसायीलाई सरकारले कानुनी दायरामा ल्याउन नयाँ कार्यविधि बनाइरहेको छ । सोही कार्यविधि निर्माणका लागि पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसङ्गठनका छाता सङ्गठनहरुलाई पनि सुझाव पेस गर्न सरकारले आग्रह गरेको थियो ।

पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाका छाता सङ्गठनहरुले आज पर्यटन विभागलाई प्रतिवेदन बुझाउँदै सरकारले निर्धारण गरेको शुल्कमा आफूहरु उद्धार गर्न तयार रहेको बताएका छन् । ट्राभल तथा ट्रेकिङ एजेन्सी, अस्पताल, उद्धार संस्था तथा हेलिकप्टर कम्पनीले पछिल्लो समय विदेशी पर्यटकलाई पदयात्राका क्रममा बिरामी बनाउने र उद्धार गर्ने तथा फेक रेस्क्यु गरेर चर्काे रकम असुली गरी ठगी गर्ने क्रम बढेपछि सरकारले पर्यटक उद्धारको जिम्मा प्रहरीलाई दिने तयारी गरिरहेको छ ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेले निजी क्षेत्रका तर्फबाट सुझावसहितको प्रतिवेदन प्राप्त भएको जानकारी दिए । उनले सरकारी स्तरबाट बनेको कार्यविधिको ड्राफ्ट तयार भइसकेको र बिहीबारभित्र फाइनल गरिसक्ने बताए । सरकारले बनाएको कार्यविधिमा पर्वतारोहण र पदयात्रा गराउन अनिवार्य इजाजत लिनुपर्ने, पर्यटक उद्धारका लागि प्रहरीमा छुट्टै युनिट खडा गर्ने, पर्यटकलाई थप आर्थिक दायित्व पार्न नहुने, बिरामी परेका पर्यटकलाई सुरुमा नजिकको अस्पतालमा लैजाने र बिरामीको अवस्था हेरी अन्य अस्पतालमा लैजानुपर्ने, उद्धारपछि हुने भुक्तानीलाई व्यवस्थित बनाउनु पर्ने लगायतका विषयहरु समावेश गरिएको जनाएको छ ।

नेपाल आउने विदेशी पर्यटकलाई पदयात्राका क्रममा उद्धार गर्दा चर्काे शुल्क लिइएको विषयमा मन्त्रालयले छानबिन समिति बनाई १५ संस्थालाई दोषी ठहर्याउँदै कारबाहीका लागि विभिन्न निकायमा सिफारिस गरिसकेको छ । सरकारले विदेशी पर्यटकलाई पदयात्राका क्रममा बिरामीको अवस्थामा उद्धार गर्ने तथा फेक रेस्क्यु गरेर चर्काे रकम असुली ठगी गर्ने ट्राभल÷ट्रेकिङ एजेन्सी, अस्पताल, उद्धार संस्था तथा हेलिकप्टर कम्पनीलाई छानबिन गर्दै अनुसन्धान गरेको थियो ।