अन्ततः पर्यटक उद्धारको जिम्मा निजी क्षेत्रलाई

ट्राभल, ट्रेकिङ एजेन्सी, अस्पताल, उद्धार संस्था तथा हेलिकप्टर कम्पनीले पछिल्लो समय विदेशी पर्यटकलाई पदयात्राका क्रममा बिरामी बनाउने र उद्धार गर्ने तथा फेक रेस्क्यु गरेर चर्काे रकम असुली गरी ठगी गर्ने क्रम बढेको भन्दै पर्यटन मन्त्रालयले बनाएको छानबिन समितिले १५ संस्थालाई दोषी ठहर्याउँदै पर्यटक उद्धारको जिम्मा प्रहरीलाई दिन सिफारीस गरेको थियो ।

अन्ततः पर्यटक उद्धारको जिम्मा निजी क्षेत्रले नै पाएको छ । सरकारले पर्यटक उद्धारको जिम्मा प्रहरीलाई दिने तयारी गरेपनि निजी क्षेत्रको चर्को दबाबपछि खोज तथा उद्धारको जिम्मा निजी क्षेत्रले नै पाउने भएको हो ।

ट्राभल, ट्रेकिङ एजेन्सी, अस्पताल, उद्धार संस्था तथा हेलिकप्टर कम्पनीले पछिल्लो समय विदेशी पर्यटकलाई पदयात्राका क्रममा बिरामी बनाउने र उद्धार गर्ने तथा फेक रेस्क्यु गरेर चर्काे रकम असुली गरी ठगी गर्ने क्रम बढेको भन्दै पर्यटन मन्त्रालयले बनाएको छानबिन समितिले १५ संस्थालाई दोषी ठहर्याउँदै पर्यटक उद्धारको जिम्मा प्रहरीलाई दिन सिफारीस गरेको थियो ।

पर्यटन विभागले बनाएको कार्यविधिमा खोज तथा उद्धारका लागि सहयोगी व्यक्ति, सङ्घ–संस्था, एजेन्सी, वायु सेवा वा हेलिकप्टर कम्पनीहरुको सहयोगको लागि अनुरोध गर्दा उद्धार गर्नुपर्ने पर्यटकको नाम, राष्ट्रियता, राहदानी नम्बर, पहिचान हुन सक्ने अन्य कुनै परिचय खुल्ने कागजात, खोज तथा उद्धार गर्न जाने स्थान वा क्षेत्रको यकिन विवरण खुलाउनु पर्ने उल्लेख गरिएको छ । यस्तै खोज तथा उद्धार गर्नु परेको अवस्थामा सम्बन्धित एजेन्सीले सोको सूचना पर्यटक प्रहरी तथा पर्यटन विभागलाई अनिवार्य रुपमा दिनुपर्ने, पर्यटक उद्धार गरिएको साधान, उद्धार लागत, उद्धार गरी उपचारका लागि लगिएको अस्पताल वा स्वास्थ्य संस्था र पर्यटकको अवस्थाको जानकारी यथाशीघ्र पर्यटक प्रहरी तथा पर्यटन विभागलाई दिनुपर्ने छ ।

यसैगरी पर्यटकको खोज, उद्धार तथा उपचारको सम्पूर्ण खर्चको विवरण र पर्यटकको बिमा गर्ने कम्पनीमा बिमा दाबी गरिएको रकम समेतको विवरण सम्बन्धित एजेन्सीले पर्यटक प्रहरी, पर्यटन विभाग र समितिलाई दिनु पर्ने उल्लेख गरिएको छ । साथै खोज, उद्धार र उपचारमा संलग्न व्यक्ति, संस्था तथा कम्पनीहरुले लागेको सम्पूर्ण लागतको बिल भरपाईसहित रकम भुक्तानीका लागि सम्बन्धित एजेन्सीलाई निवेदन दिनुपर्ने र कोही कसैले पनि पर्यटकको खोज, उद्धार तथा उपचार खर्चको अस्वाभाविक तथा नक्कली दाबी र भुक्तानी गर्न नहुने जनाएको छ ।

यस्तै विभागबाट इजाजतपत्र नलिई कसैले पनि पर्यटकलाई साहसिक गतिविधिमा संलग्न गराउन नहुने, एजेन्सीले पथप्रदर्शक साथमा लगाएर मात्र पर्यटकलाई साहसिक गतिविधिमा संलग्न गराउनु पर्ने, बिमा गरेको पर्यटकलाई मात्र साहसिक गतिविधिमा पठाउनुपर्ने जनाएको छ ।

यस्तै पर्यटकलाई साहसिक गतिविधिमा संलग्न हुन पठाउँदा सुरक्षित तवरले गन्तव्यमा पु¥याउने र फर्काउने दायित्व सम्बन्धित एजेन्सी र निजले साथ लगाई पठाएको पथप्रदर्शकको हुने, साहसिक गतिविधिमा संलग्न पर्यटकलाई प्राथमिक उपचार सामग्रीको व्यवस्था गर्नुपर्ने, स्वस्थ्यकर खानपानको व्यवस्था मिलाउनु पर्ने र बसाइको उचित प्रबन्ध मिलाउनु पर्ने बताएको छ ।

यसैगरी साहसिक गतिविधिको क्रममा हुने प्राकृतिक तथा गैरप्राकृतिक विपदबाट प्रभावित भई कुनै पर्यटक वा सहयोगी कामदार हराए वा बेपत्ता भएमा तत्काल खोजी गर्नु सम्बन्धित एजेन्सीको प्राथमिक दायित्व हुने जनाएको छ ।

यसैबीच विभागका महानिर्देशक संयोजक रहने गरी पर्यटक खोज तथा उद्धार निर्देशक समिति समेत गठन गरिएको छ । समितिले विपदमा परेका पर्यटकको खोज, उद्धार तथा उपचारका सम्बन्धमा सरकारी निकाय, वायु सेवा वा हेलिकप्टर कम्पनी, एजेन्सी, अस्पताल तथा सरोकारवालालाई समन्वय गर्नुको साथै हेलिकप्टरको भाडा निर्धारण समेत गर्ने छ ।