वैदेशिक रोजगारीमा जानेलाई अब सञ्चय कोषको व्यवस्था

विदेशमा रहने नेपाली कामदारका लागि सञ्चय कोषले खाता नम्बरको व्यवस्था गरिदिने र सोही खातामा मासिक बचत गर्ने सचिव दाहालले जानकारी दिए ।

वैदेशिक रोजगारीमा जाने नेपालीलाई सञ्चय कोषको व्यवस्था हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा जाने कामदारहरुलाई लक्ष्य गरी यो व्यवस्था लागू गर्न लागेको हो ।

मन्त्रालयका सचिव महेश्वरप्रसाद दाहालले विदेशमा जाने नयाँ कामदार र पुनः जाने कामदारले अनिवार्य रुपमा सञ्चय कोषमा खाता खोली रकम जम्मा गर्नुपर्ने विषयमा छलफल अघि बढेको बताए । विदेशमा रहने नेपाली कामदारका लागि सञ्चय कोषले खाता नम्बरको व्यवस्था गरिदिने र सोही खातामा मासिक बचत गर्ने सचिव दाहालले जानकारी दिए । यसका लागि आइतबारबाट मन्त्रालयमा आवश्यक छलफल सुरु भएको र केही समयभित्रै निर्णयमा पुगेर कार्यन्वयनमा लाग्ने सचिव दाहालको भनाइ छ ।

विदेशमा रहँदा कमाएको केही रकम सञ्चय कोषमा जम्मा गर्दा पछि भविष्यमा कामलाग्ने भएकाले यो नियम लागु गर्न लागिएको सचिव दाहालको भनाइ छ । मन्त्रालयले गठन गरेको वैदेशिक रोजगार सुधार सुझाव कार्यदलको सुझावअनुसार सञ्चय कोषको व्यवस्था गर्न लागेको हो । श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा देखिएको समस्या समाधान गर्न र व्यवस्थित बनाउनका लागि कार्यदल गठन गरी सुझाव माग गरेका थिए । यसअघि विदेशमा काम गर्न जाने कामदारहरुलाई सञ्चय कोषको व्यवस्था थिएन ।

नेपालबाट वैदेशिक रोजगारीका लागि हालसम्म ५० लाख ६९ हजार ४०५ जना कामदार विदेश गएका वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्याङ्कमा उल्लेख छ । नेपालले एक सय १० मुलुकलाई संस्थागत रुपमा वैदेशिक रोजगारमा जान खुला गरेको छ भने व्यक्तिगत श्रम स्वीकृतिमा करिब एक सय ७३ मुलुकमा नेपालीहरु कामका लागि गएको पाइन्छ । नेपाली कामदारको मुख्य गन्तव्यका रुपमा मलेसिया, कतार, साउदी अरेबेया र यूएई हुन् । पछिल्लो आँकडाअनुसार मलेसिया र खाडी मुलुकहरुमा नेपालीहरुले ८६.४२ प्रतिशत हिस्सा ओगटेको प्रवद्र्धन बोर्डको भनाइ छ ।