नेपाल एयरलाइन्ससँग किनेको बोइङ बिक्री गर्दै बीबी एयरवेज

टीबीआई गु्रप अन्तर्गतको बीबी एयरवेजले नेपाल एयरलाइन्सको ३० वर्ष पुरानो जहाज १५ करोड १७ लाखमा खरिद गरेको थियो ।

बीबी एयरवेजले साढे दुइ वर्षअघि नेपाल एयरलाइन्ससँग किनेको बोइङ ७५७–२०० जहाज बिक्रीको तयारीमा लागेको छ । टीबीआई गु्रप अन्तर्गतको बीबी एयरवेजले नेपाल एयरलाइन्सको ३० वर्ष पुरानो जहाज १५ करोड १७ लाखमा खरिद गरेको थियो ।

टीबीआई गु्रपका निर्देशक शिशिर भट्टले बोइङ बिक्री गर्न लागिएको बताए । ’जहाज खरिदका लागि तीन ओटा समूहले इच्छा व्यक्त गरेका छन्,’ निर्देशक भट्टले भने, ‘छिट्टै बिक्री गरी विमानस्थल खाली गर्छौं ।’ उनले बोइङको पार्टपुर्जा प्राविधिकहरुले यही सातादेखि निरीक्षण गर्ने बताए । तर उनले कतिमा बिक्री गर्न लागिएको भने खुलाउन चाहेनन् ।

यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बीबी एयरवेजले खरिद गरेको बोइङ आफैले सारेको छ । विमानस्थलले बोइङ हटाउन धेरै पटक ताकेता गरेपनि बीबीले नमानेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आफैंले हटाएकोे जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले वेमा रहेको जहाजलाई सारेर हेलिप्याडको छेउमा लगेर राखिएको जानकारी दिए । खरिद गरेको जहाज लामो समयदेखि विमानस्थलमै पार्किङ गरेर राखेको भन्दै व्यवस्थापन गर्न गत जेठमा २ महिनाको समयसीमा तोकेको थियो । विमानस्थलले दिएको समयसीमाभित्र जहाज नहटाए आफ्नै तरिकाले व्यवस्थापन गर्ने चेतावनी दिएको थियो ।

विमानस्थलमा साढे दुई वर्षदेखि ग्राउन्डेड जहाज गत असोजमा टीबीआईले खरिदका लागि बैना गरेर गत माघमा पूरा रकम भुक्तान गरेको थियो । टीबीआई गु्रपअन्तर्गतको बीबी एयरवेजले नेपाल एयरलाइन्सको जहाज खरिद गरे पनि बीबी एयरवेजसँग वायुसेवा सञ्चालन अनुमतिपत्र खारेज भएका कारण स्वामित्व भने हस्तान्तरण भएको छैन ।