किन भएन फेक रेस्क्युमा संलग्नलाई कारबाही ?

फेक रेस्क्युमा संलग्नलाई कारबाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन १४ गते सम्बन्धित निकायहरुलाई पत्रचार गरेको थियो । पत्राचार गरेको डेढ महिना भइसक्दा पनि कुनै निकायले कुनै पनि कम्पनीलाई कारबाही गर्न सकेको छैन ।

नेपाल आउने पर्यटकलाई नक्कली उद्धारको नाममा ठगी गरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले १५ संस्थालाई कारबाहीको सिफारिस गरे पनि डेढ महिनासम्म कसैलाई कारबाही गरिएको छैन ।

फेक रेस्क्युमा संलग्नलाई कारबाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन १४ गते सम्बन्धित निकायहरुलाई पत्रचार गरेको थियो । पत्राचार गरेको डेढ महिना भइसक्दा पनि कुनै निकायले कुनै पनि कम्पनीलाई कारबाही गर्न सकेको छैन ।

मन्त्रालयले नेपाल आउने विदेशी पर्यटकलाई पदयात्राका क्रममा उद्धार गर्दा चर्काे असुली गरेको विषयमा छानबिन समितिले १५ संस्थालाई दोषी ठहर्याउँदै कारबाहीका लागि विभिन्न निकायमा सिफारिस गरेको थियो ।

मन्त्रालयले बनाएको छानबिन समितिले ३ हेलिकप्टर कम्पनी, ८ ट्राभल तथा उद्धार संस्था र ४ अस्पताललाई कारबाहीको सिफरिस गरेको थियो । हेलिकप्टर कम्पनीमा मनाङ एयर, एयर डाइनेस्टी र हेली एभरेष्ट छन् । त्यस्तै ट्राभल तथा उद्धार संस्थामा हिमालय सोसल जर्नी, माउन्टेन रेस्क्यू, कैलाश चार्टर्ड, इजी हेली, इगल हेली, फ्लाइट कनेक्सन, अल्पाइन रेस्क्यु र माउन्टेन हेली परेका छन् । त्यस्तै अस्पतालमा बयोधा, स्वागन, न्यू ईरा र सिविक छन् ।

पर्यटन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता घनश्याम उपाध्यायले आवश्यक कारबाहीका लागि प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, राष्ट्र बैङ्क, राजस्व अनुसन्धान विभाग, स्वास्थ्य मन्त्रालय, महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीलाई प्रतिवेदनसहित पत्रचार गरेको बताए । कारबाहीको प्रक्रिया कहाँ पुग्यो भन्ने विषयमा ती संस्थाहरुले आफूहरुलाई अहिले कुनै जानकारी नआएको बताए । ‘हामीले छानबिन गरेर कारबाहीका लागि सिफारिस गरेका छौं, तर कारबाही प्रक्रिया कहाँ पुग्यो त्यो हामीलाई थाहा भएन,’ प्रवक्ता उपाध्यायले भने ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का महासचिव आङपेम्बा शेर्पाले सरकारले कारबाहीको नाममा प्रचार गरी विश्वमा पर्यटन क्षेत्रको उल्टै नकारात्मक सन्देश फैलाएको बताए । सरकारले गरेको छानबिन न्यायोचित नभएको बताउँदै छानबिनका नाममा सबै व्यवसायीलाई तर्साउने काम मात्र गरेको महासचिव शेर्पाले आरोप लगाए । ‘सरकारले तत्काल दोषी देखिएका कम्पनीलाई कारबाही गरी विश्व बजारमा सकारात्मक सन्देस फैलाउन आवश्यक छ,’ उनले भने ।

छानबिन समितिले बुझाएको प्रतिवेदनमा एउटै अस्पतालले उद्धारपछि उपचारको बिमा रकम ६० लाखसम्म दाबी गरेको उल्लेख छ । त्यस्तै उद्धार संस्थाले पर्यटकसँग उद्धारका नाममा ६५ लाख बिमा दाबी गरेको भेटिएको छ ।

पदयात्रामा जाने पर्यटकलाई बिरामी बनाएर वा बिरामी अवस्थामा उद्धार गरेर हेलिकप्टर, ट्राभल कम्पनी र अस्पतालले आपसी मिलेमतोमा बिमा रकम दाबी गर्दै ठगी गर्दै आइरहेका थिए । प्रतिवेदनमा पर्यटकलाई दूषित खाना दिएर बिरामी बनाउने, नक्कली उद्धार गर्ने, नक्कली उपचार गर्ने र पर्यटकलाई ठगी गर्ने संस्थाको उल्लेख गरिएको छ ।