विशाल ग्रुपले लियो एयर एसियाको सेल्स एजेन्ट

नेपालबाट मलेसिया जाने यात्रुको सङ्ख्या कम भएसँगै एयर एसियाले आफ्नो सेल्स एजेन्टको रुपमा नयाँ समूह भित्र्याएको हो । सम्झौताअनुसार एयर एसियाले नेपालमा आफ्नै अनलाइन कार्यालय खोलेर सेल्स एजेन्टको जिम्मा नेपालको व्यावसायिक घराना विशाल ग्रुपलाई दिएको हो ।

मलेसियाको बजेट एयरलाइन्स एयर एसियाले नेपालका लागि सेल्स एजेन्ट (पीएसए) को जिम्मा व्यावसायिक घराना विशाल ग्रुपलाई दिएको छ ।
नेपालबाट मलेसिया जाने कामदार घट्न थालेपछि नेपाल उडान कटौती गर्दै एक वर्षका लागि उडान स्थगित गर्ने घोषणा गरेको एयर एसियाले नेपालमा आफ्नो व्यापार रणनीति परिवर्तन गरेको हो ।

नेपालबाट मलेसिया जाने यात्रुको सङ्ख्या कम भएसँगै एयर एसियाले आफ्नो सेल्स एजेन्टको रुपमा नयाँ समूह भित्र्याएको हो । सम्झौताअनुसार एयर एसियाले नेपालमा आफ्नै अनलाइन कार्यालय खोलेर सेल्स एजेन्टको जिम्मा नेपालको व्यावसायिक घराना विशाल ग्रुपलाई दिएको हो । यसअघि एयर एसियाको जीएसए इन्सेन्टिभ टुर्स एन्ड ट्राभलसँग थियो ।

६ वर्षअघि नेपालमा उडान सुरु गरेको एयर एसियाले नेपाल नागरिक उडड्यन प्राधिकरणलाई ४० करोड बक्यौता तिर्न बाँकी छ । एयर एसिया मलेसियाले प्राधिकरणलाई पत्र लेखेर बक्यौता रकम किस्ताबन्दीमा तिर्ने प्रतिबद्धता जनाउँदै आएको छ ।

नेपालमा बक्यौता रकम तिर्ने विषयमा विवाद भएपछि एयर एसियाका प्रमुख कार्यकारी अधिकृत बेनामिन इस्माइल डेढ महिनाअघि नेपाल आएका थिए । उनी नेपाल आएपछि दुई व्यापारिक घरानाका व्यवसायीसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका थिए ।

नेपालबाट फर्केपछि एयर एसियाले नेपालको उडान स्थगित गर्ने पत्र पठाएको थियो । तर, सँगै नेपालको सेल्स एजेन्टको रुपमा विशाल ग्रुपअन्तर्गतको एक ट्राभल कम्पनीलाई दिने गरी सम्झौता पनि गरेको छ ।

नेपालको बक्यौता रकमको हिसाब मिलेपछि विशाल गु्रपले आधिकारिक रुपमा एयर एसियाका विषयमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
सँस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका एक उच्च अधिकारीले एयर एसियाको नेपाल जिम्मा विशाल ग्रुपलाई गएको बताए ।

प्रधानमन्त्रीलाई भेटेपछि एयर एसियाको नेपाल रणनीति परिवर्तन भएको छ, विशाल ग्रुपलाई अहिले पीएस दिएर पछि जीएसए दिने तयारी भएको उनले बताए ।