चार वर्षमा १३ हजार विदेशीलाई बिजनेस भिसा

पछिल्लो पटक बिजेनस भिसामा नेपाल आउनेको सङ्ख्या वार्षिक रुपमा बढ्दै गएको छ । व्यवसाय गर्ने उद्देश्यले विभिन्न देशका नागरिकले बिजनेस भिसा लिने गरेका छन् ।

चार वर्षमा १३ हजार ३३ विदेशी नागरिक बिजनेस भिसामा नेपाल आएका छन् । नेपालमा आएका विदेशीमध्ये ७५ प्रतिशत चिनियाँ रहेको अध्यागमन विभागले जनाएको छ ।

पछिल्लो पटक बिजेनस भिसामा नेपाल आउनेको सङ्ख्या वार्षिक रुपमा बढ्दै गएको छ । व्यवसाय गर्ने उद्देश्यले विभिन्न देशका नागरिकले बिजनेस भिसा लिने गरेका छन् ।

अध्यागमन विभागको तथ्याङकअनुसार सन् २०१५ मा तीन हजार तीन सय ९७, २०१६ मा तीन हजार छ सय ५६, २०१७ मा तीन हजार तीन सय ७५ र २०१८ को अक्टोबरसम्ममा दुई हजार छ सय पाँच जना विदेशी बिजनेस भिसामा नेपाल आएका हुन् ।

विभागका निर्देशक जनार्दन गौतमले बिजनेस भिसा लिएर नेपाल आउने विदेशीको सङ्ख्या बढिरहेको बताए । नेपालमा सानो ठूलो व्यवसाय गर्ने उद्देश्यले विदेशीहरुले बिजनेस भिसाका लागि निवेदन दिने गरेको उनले बताए । ‘बिजनेस भिसा लिने विदेशीमध्ये ७५ प्रतिशत चिनियाँ छन्,’ उनले भने । व्यवसाय, औद्योगिक तथा निकासीका लागि बिजनेस भिसा लिने गरेको उनले बताए ।

पछिल्लो समय चिनियाँ लगानीमा होटल, रेष्टुरेन्ट, पूर्वाधारहरु बनिरहेका छन् । त्यसका लागि वैदेशिक लगानी पनि धेरै भित्रिन थालेको छ । लगानी भित्रिएसँगै बिजनेस भिसा लिएर आउनेको सङ्ख्या पनि बढ्दै गएको हो ।

नेपालमा प्रविधि हस्तान्तरण, एक करोड रुपैयाँसम्मको लगानीमा नेपालमा उत्पादित सामान खरिद गरी निर्यात गर्न पनि सरकारले बिजनेस भिसा दिने गरेको छ । लगानी कर्ता, तीनका आश्रित परिवार र संस्थाका कर्मचारीलाई पनि बिजनेस भिसाको प्रावधान रहेको विभागले जनाएको छ ।