हालसम्म करिब दर्जन बैङक तथा अस्पतालले एक आपसमा सहकार्य गर्दा त्यसको प्रत्यक्ष फाइदा सेवाग्राहीलाई भएको हो ।
पछिल्लो समय बैङ्क र अस्पतालले आफ्नो व्यापार बढाउन एक आपसमा सहकार्य गर्न लागेका छन् । यी दुई फरक धारका सेवा प्रदायक कम्पनीको सहकार्यले सेवाग्राहीलाई भने धेरथोर फाइदा पुगेको छ । हालसम्म करिब दर्जन बैङक तथा अस्पतालले एक आपसमा सहकार्य गर्दा त्यसको प्रत्यक्ष फाइदा सेवाग्राहीलाई भएको हो ।
बैङ्कले आफ्नो ग्राहकको सङ्ख्या बढाउन तथा अस्पतालले व्यापार बढाउनका लागि यी दुई कम्पनीबीच सम्झौता हुन थालेको हो । विभिन्न बैङ्क तथा अस्पतालबीच पछिल्लो समय सम्झौता भएसँगै बैङ्कका कार्डवाहक ग्राहकले अस्पतालको सेवामा छुट पाउन थालेका छन् ।
आफ्नो सहकार्य घोषणापछि बैङ्क तथा अस्पतालले एक अर्काको प्रचार गर्दै आआफ्नो व्यापार बढाउन लागि परेको देखिन्छ । बैङ्क तथा अस्पतालबीच सहकार्यको सम्झौता भएपछि बैङ्कका डेबिट/क्रेडिट कार्ड भएका ग्राहकले अस्पतालमा छुट पाउने भएका हुन् ।
नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले आफ्नो व्यापार वृद्धिका लागि दुई कम्पनीले आपसमा सम्झौता गरिरहेको बताए । उनले भने, ‘यस प्रकारको सम्झौताबाट अस्पताल, बैङ्क र बैङ्कका कर्मचारी तथा ग्राहक तीनै पक्षलाई फाइदा पुग्छ ।’ उनका अनुसार बैङ्कले कुनै अस्पतालसँग भएको सम्झौता देखाएर ग्राहक सङ्ख्या वृद्धि गर्छ भने बैङ्कका कर्मचारी तथा ग्राहकलाई सेवा दिँदै अस्पतालले आफ्नो व्यापार वृद्धि गर्छ । त्यसैगरी, बैङ्कका कर्मचारी तथा ग्राहकले सहुलियत दरमा सेवा प्राप्त गर्छन् । ढुङ्गानाले यस प्रकारको सम्झौता हुँदा सबैलाई फाइदा पुग्ने भएकाले यसलाई नराम्रो भन्न नमिल्ने बताए ।
सम्झौतामा सम्बन्धित बैङ्कका कर्मचारी तथा ग्राहकले सहमति भएका सम्बन्धित अस्पतालमा गएर सेवा लिँदा तोकिएको छुट पाउँछन् । छुट पाउन सम्झौता भएको प्रमाण देखाउनु पर्नेछ ।
नबिल बैङ्कका सीईओ अनिलकेशरी शाहले बैङ्क र हस्पिटलबीच भइरहेको सम्झौताले ग्राहकलाई ठूलो सहुलियत मिलेको बताए । उनले बैङ्कको ग्राहक सङ्ख्यामा पनि उल्लेख्य वृद्धि हुनुका साथै अस्पतालको व्यापार पनि यस सम्झौताले बढाउने बताए । नेपालीले स्वास्थ्य क्षेत्रमा धेरै लगानी गर्ने भएकाले नेपालमा नाम चलेका हस्पिटलसँग सहकार्य गरेको उनको भनाइ थियो ।
यस किसिमको सम्झौता गरेको एभरेष्ट बैङ्कका ग्राहकलाई स्टार हस्पिटलमा छुट मिल्छ । नर्भिक हस्पिटलमा एनएमबी, एनआईसी एसिया र मेगा बैङ्कका ग्राहकले छुट पाउने सम्झौता भएको छ भने एपोलो हस्पिटलमा साङ्ग्रीला बैङ्कका कर्मचारी तथा ग्राहकलाई छुट मिल्छ । यस्तै ग्लोबल आईएमई बैङ्कले दीर्घायु हस्पिटलसँग सम्झौता गरेर आफ्ना ग्राहकलाई छुटको व्यवस्था मिलाएको छ । ग्लोबल आईएमईले भारतको इन्द«प्रस्थ अपोलो अन्तर्राष्ट्रिय हस्पिटलसँग समेत सम्झौता गरेका छ । उक्त हस्पिटलले ग्लोबल आईएमईका डेबिट÷क्रेडिट कार्ड भएका ग्राहकलाई २० प्रतिशतसम्म छुट दिन्छ ।
यस्तै, सिटिजन्सका कर्मचारी तथा ग्राहकले ग्राण्डी, स्टार र किष्ट हस्पिटलमा विभिन्न प्रकारका छुट पाउँछन् । एनएमबी बैङ्कले नर्भिकका अतिरिक्त ब्लु क्रस र नेपाल क्यान्सर हस्पिटलसँग, हिमालयन बैङ्कले नेपाल मेडिसिटी तथा सिद्धार्थ हस्पिटलसँग सम्झौता गरेका छन् । कुमारी बैङ्कका कर्मचारी तथा ग्राहकले नर्भिक, वयोधा, चिरायु र ग्राण्डी हस्पिटलमा छुट पाउने व्यवस्था छ । साथै अन्य बैङ्क तथा अस्पतालले पनि यस्तो सम्झौता गरेका छन् ।