सलाम एयरले यात्रु ल्यायो, पाँच दिनसम्म पनि लगेज ल्याएन

कतारबाट मङ्गलबार र बिहीबार ओमान हुँदै आएको सलाम एयरले १ सय ६८ जनाको लगेज नल्याएपछि यात्रुहरु दैनिक एयरपोर्ट धाउन थालेका छन् । खोटाङ घर भएका पेशल थापाले बुधबार ९ बजे काठमाडौं आइपुगे पनि हालसम्म लगेज लिन नपाएको बताए ।

दसैं मनाउन कतारबाट नेपाल आएका एक सय बढी यात्रुको सलाम एयरले लगेज नल्याउँदा घर पुग्नुपर्ने यात्रु पाँचदिनदेखि एयरपोर्ट धाइरहेका छन् । सलाम एयरले पाँच दिनदेखि लगेज नल्याइदिँदा यात्रुहरु काठमाडौंमै अलपत्र परेका हुन् ।
कतारबाट मङ्गलबार र बिहीबार ओमान हुँदै आएको सलाम एयरले १ सय ६८ जनाको लगेज नल्याएपछि यात्रुहरु दैनिक एयरपोर्ट धाउन थालेका छन् । खोटाङ घर भएका पेशल थापाले बुधबार ९ वजे काठमाडौं आइपुगे पनि हाल सम्म लगेज लिन नपाएको बताए ।

कतारबाट हिँड्दा लगेज पनिसँगै पुग्छ भनेपनि पाँच दिन बितिसक्दा अत्तोपत्तो नभएको उनको भनाइ छ । ‘लगेजमा महँगो सामानहरु ल्याएका थियौं, अहिलेसम्म सामानको अवस्था के छ त्यो पनि थाहा छैन,’ थापाले भने । दसैंको बेला घर जाने कि सामान कुर्ने जस्तै भएको उनले बताए ।

थापा जस्तै सर्लाही घर भएका दुर्गा थिङ पनि पाँच दिनदेखि लगेजको पर्खाइमा एयरपोर्ट धाइरहेका छन् । कतारमा बस्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको समाचार पढेको थिए । अहिले विमानस्थलको कारण हो कि एयरलाइन्सको कारण कसले गर्दा लगेज नपाएको त्योसम्म पनि थाहा नपाएको उनले बताए ।

तीन बर्षपछि घर आउदा आमा बुबालाई भेट्न हतारो लागिरहदा लगेज नआएकै कारण अलपत्र परेको थिङले बताए । ‘दसैंको बेला पारेर आउँदा धेरैलाई गिफ्ट पनि ल्याएका थिए, अब कहिलेसम्म कुर्ने केहि ठेगान छैन,’ उनले भने । ‘आएको पाँचदिनदेखि होटलमा बसिरहनुपरेको छ,एयरलाइन्सले अहिलेसम्म कहिले लगेज आउँछ पनि भनेको छैन’ ।

यस्तै बिहिबार काठमाडौं आइपुगेका झापा निवासी सरोज किसानको पनि लगेज आइपुगेको छैन् । ‘घरमा कहिले आउने भनेर दैनिक रुपमा फोन गरिरहेका छन्, किसानले भने, कति दिन लगेज आएको छैन् भनेर ढाट्नु’ । विमानस्थलमै भेटिएका हर्कराज विकको पनि गुनासो उस्तै रहेको छ ।

‘लगेज लिनका लागि शुक्रबार बोलाएका थिए । तर आइतबार सम्म पाएका छैनौं,’ उनले भने । सलाम एयरको नेपालको जिएसए आइएमई ट्राभलका सीईओ विनोद सापकोटाले लगेज ल्याउनका लागि पहल भइरहेको बताए । ‘विभिन्न एयरलाइन्सहरु सँग कुरा भइरहेकोले केहि दिन भित्रै लगेज नेपाल आइपुग्छ,’ उनले भने । जहाजको क्षमताअनुसार नै प्यासेन्जर ल्याएकोले लगेज पछि ल्याउने गरी आएको सापकोटाले बताए । ‘कार्गोमार्फत भए पनि रोकिएको लगेज ल्याउने प्रक्रिया अघि बढाइरहेका छौं’, उनले भने ।