सौर्य एयरलाइन्सले तलब नदिएपछि उडान नै रोक्ने पाइलट र कर्मचारीको चेतावनी

लामो समयसम्म तलब उपलब्ध नगराउँदा पाइलटहरुले समेत जहाज ग्राउन्डेड गराउने चेतावनी दिएका हुन् । ‘दैनिक घर खर्च टार्नैै मुस्किल भइरहेको छ,’ एक पाइलटले क्यापिटल नेपालसँग भने, ‘मानसिक तनाव लिएर कहिलेसम्म जहाज उडाउने ?’ सौर्य एयरलाइन्समा भएका कर्मचारीले विगत तीन महिनादेखि तलब पाएका छैनन् ।

तीन महिनादेखि सौर्य एयरलाइन्सले तलब नदिँदा पाइलट र कर्मचारीले उडान रोक्ने चेतावनी दिएका छन् । समयमा तलब उपलब्ध नगराउँदा कर्मचारीहरुले शुक्रबार सौर्य एयरलाइन्सको काठमाडौं एयरपोर्टभित्रको कार्यालयमा ताला लगाएका छन् ।

लामो समयसम्म तलब उपलब्ध नगराउँदा पाइलटहरुले समेत जहाज ग्राउन्डेड गराउने चेतावनी दिएका हुन् । ‘दैनिक घर खर्च टार्नैै मुस्किल भइरहेको छ,’ एक पाइलटले क्यापिटल नेपालसँग भने, ‘मानसिक तनाव लिएर कहिलेसम्म जहाज उडाउने ?’ सौर्य एयरलाइन्समा भएका कर्मचारीले विगत तीन महिनादेखि तलब पाएका छैनन् ।

कर्मचारीले लामो समयदेखि तलब सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् । कम्पनीका बजार प्रमुख मुकेश खनालले सौर्य एयरलाइन्सलाई नयाँ ग्रुपले लिएपछि अहिले तलबको समस्या हटेको दाबी गरे । ‘नयाँ व्यवस्थापन आउनुपूर्व धेरै समस्या थियो,’ उनले भने, ‘तर, अहिले छैन ।’

तर, सौर्य एयरलाइन्सका एयरपोर्टका कर्मचारीले शुक्रबार काम रोकेका थिए । कम्पनीले छिटोभन्दा छिटो तलब उपलब्ध गराउने सहमति गरेपछि काम सुचारु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको छ ।

पाइलटहरुले यसअघि नै कम्पनीका सञ्चालकहरुसँग तलबको बारेमा कुरा गरिसकेका थिए । ‘तोकिएको सेवा सुविधा उपलब्ध नगराउने हो भने जहाज उडाउन सकिन्न,’ एक पाइलटले भने, सधैंभरि तनाव लिएर जहाज उडाउँदा भोलि ठूलो समस्या आउन सक्छ ।’

दसैंको मुखमा समेत तलब नपाएपछि कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । नयाँ व्यवस्थापनसहित उडान सुरु गरेको सौर्य एयरलाइन्सका कर्मचारीले तलब सुविधा नपाएको भन्दै शुक्रबार केही समय आन्दोलन गरेका थिए ।

‘पटक पटक तलब सुविधाको विषयमा आवाज उठाउँदा व्यवस्थापन पक्षले बेवास्ता गरेपछि हामी आन्दोलनमा उत्रिन बाध्य भएका हौं,’ सौर्यका एक कर्मचारीले भने, ‘पाइलटहरुले पनि तनावमै जहाज उडाइरहेका छन् ।’ तलब सुविधा नपाए पनि यात्रुको सेवा सुरक्षामा हामी दृढ रहेको उनको भनाइ छ । शुक्रबार व्यवस्थापनसँग भएको सहमतिअनुसार केही दिनभित्रै सबै कर्मचारीहरुको तलब सुविधा रिलिज गर्ने प्रतिबद्धता जनाइएको छ ।

सौर्य एयरलाइन्सका बजार प्रमुख खनालले भने नयाँ व्यवस्थापनले जिम्मा लिएलगत्तै सबै कर्मचारीको तबल सुविधा दिइसकिएको बताए । ‘पहिला २ देखि ३ महिनासम्म कर्मचारीले तलब सुविधा पाएका थिएनन्, बजार प्रमुख खनालले भने, ‘तर अहिले सबैलाई दिइसकेका छौं ।’ उनले शुक्रबार दसैं, तिहार र छठपर्वमा कसरी आफ्ना उडानलाई प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको बताउँदै कुनै आन्दोलन नभएको बताए ।

सौर्यले अहिले एउटा जहाजमार्फत् दैनिक पाँच उडान गर्दै आएको छ । दसैं, तिहार र छठपर्वलाई लक्ष्य गरी विषेश छुट दिएको बताए । उनले काठमाडौं–विराटनगर चार हजार सात सयदेखि पाँच हजार पाँच सयसम्म, काठमाडौं–भैरहवामा चार हजार तीन सयदेखि छ हजार चार सय, काठमाडौं–नेपालगञ्ज पाँच हजार छ सयदेखि छ हजार चार सय, काठमाडौं–भद्रपुर पाँच हजार पाँच सयदेखि नौ हजार चार सयसम्ममा उडान भरिरहेको बताए ।

सौर्य एयरलाइन्समा छ जना क्याप्टेन, पाँच जना को–पाइलटसहित दुई सय २८ जना कर्मचारी छन् ।