
कात्तिक ३ गते शनिबारसमेत बैङ्क खुल्नेछ । यसले ग्राहकलाई सहज हुने देखिए पनि बैङ्करलाई भने फसाद परेको छ ।
दसैंमा बिदाको दिन पनि बैङ्क खुल्ने भएपछि बैङ्करहरुका लागि यसपालिको दसैं खल्लो हुने भएको छ । केही वाणिज्य बैङ्कका मुख्य शाखा दसैंको बिदामा पनि सञ्चालन हुने भएपछि बैङ्करहरुलाई दसैं खल्लो हुने भएको हो ।
वाणिज्य बैङ्कहरुले बिदाको समयमा देशभरिका मुख्य शाखा सञ्चालनमा रहने सूचना जारी गरेपछि बिदामा पनि अफिस जानुपर्ने बाध्यता बैङ्करहरुलाई आइपरेको छ ।
बिदाको दिनमा पनि ग्राहकको सुविधालाई ध्यानमा राखेर बैङ्कले निश्चित समय बैङ्कको केही शाखा खोल्ने सूचना जारी गरिसकेका छन् । कात्तिक ३ गते शनिबारसमेत बैङ्क खुल्नेछ । यसले ग्राहकलाई सहज हुने देखिए पनि बैङ्करलाई भने फसाद परेको छ । तर, बिदाको दिन खोलिएको शाखा कार्यालयबाट पैसा झिक्न र राख्न मात्र मिल्ने बैङ्कहरुले जनाएका छन् । त्यसबाहेकका अन्य काम बिदाको दिनमा खुल्ने शाखाबाट हुनेछैन ।
बिदाको दिनमा बैङ्कका शाखा कार्यालय बिहान १० देखि दिउँसो १ बजेसम्म खुल्नेछन् । बैङ्कहरुले मानिसहरुको चहलपहल हुने मुख्य ठाउँहरुमा सेवा सञ्चालन गर्नेछन् । काठमाडौं उपत्यकाको न्युरोड, बानेश्वर, पुतलीसडक, पुल्चोक, गोङ्गबु, सूर्यविनायकलगायतका शाखा खुला रहनेछन् भने नारायणगढ, पोखरा, नेपालगञ्ज, दमक, बागलुङ, हेटौंडा, धरान, भैरहवा, विराटनगर, सुर्खेत, बिर्तामोड, वीरगञ्ज, धनगढी, लाहानलगायत शाखाहरु पनि खुल्नेछन् । यस्तै अधिकांश ठाउँका एटीएम बुथ पनि खुल्नेछन् ।
बिदाका दिनमा नबिल, स्ट्यान्डर्ड चार्टर्ड, एनएमबी बैङक, सानिमा, एनआईसी एसिया, प्रभु, सनराइज, सेन्चुरी, जनता, माछपुच्छ्रे, हिमालयन, नेपाल इन्भेस्टमेन्ट, नेपाल बङ्गलादेश बैङ्क, सिद्धार्थ बैङ्कलगायतले सीमित कारोबार खुला गर्ने सार्वजनिक सूचना जारी गरेका छन् ।