बीबी एयरवेजले १५ करोडमा किनेको विमान १७ करोडमा बेच्यो

बीबी एयरवेजले एक वर्षअघि निगमसँग १५ करोड १७ लाख रुपैयाँमा बोइङ खरिद गरेको थियो । बीबीले अमेरिकन कम्पनीलाई १७ करोड रुपैयाँमा बोइङ बिक्री गरेको हो ।

टीबीआई ग्रुपअन्तर्गतको बीबी एयरवेजले नेपाल वायुसेवा निगमसँग खरिद गरेको बोइङ एक अमेरिकन कम्पनीलाई बिक्री गरेको छ । बीबी एयरवेजले एक वर्षअघि निगमसँग १५ करोड १७ लाख रुपैयाँमा बोइङ खरिद गरेको थियो । बीबीले अमेरिकन कम्पनीलाई १७ करोड रुपैयाँमा बोइङ बिक्री गरेको हो ।
कर्णाली नामको ७५७–२०० बोइङ गैरआवासीय नेपाली सङ्घका अध्यक्षसमेत रहेका भवन भट्टले ग्लोबल टेन्डरमार्फत् किनेका थिए । किनेको केही महिनापछि मर्मत सम्भार गरी भारतमा उडान सुरु गर्ने बताए पनि जहाज मर्मत नै नगरी बिक्री गरिएको हो । एक वर्षसम्म बीबीले विमानस्थल पार्किङमा जहाज राखेपछि विमानस्थल प्रशासनले कि उडाउने प्रक्रिया थाल्न कि एयरपोर्टबाट हटाउन निर्देशन दिएको थियो । लामो समयसम्म पनि विमानस्थलबाट जहाज नहटेपछि विमानस्थल प्रशासनले काटेर हटाउने चेतावनी दिएपछि बीबीले जहाज बिक्री गरेको हो ।

जहाज खरिद गरेको अमेरिकन कम्पनीको नाम बीबीले बाहिर ल्याएको छैन । टीबीआई ग्रुपका निर्देशक शिशिर भट्टले बोइङ एक अमेरिकन कम्पनीलाई बिक्री गरेकोे बताए । अझ केही प्रक्रिया बाँकी रहेकाले कम्पनीको नाम अहिले भन्न नमिल्ने उनले बताए ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बीबीले जहाज बिक्री गरेको औपचारिक जानकारी विमानस्थल प्रशासनलाई आइनपुगेको बताए ।

कम्पनीले एक पटक एक अमेरिकनलाई विमानस्थलमा ल्याएर परिचय मात्र गराएको उनले बताए । ‘बीबी एयरवेजले विमानस्थललाई तिर्नुपर्ने पार्किङ शुल्क तिरेपछि मात्र जहाज नामसारी हुन्छ,’ उनले भने ।