घुमन्ते नेपाली, देशभित्र मुस्ताङ र पोखरा खचाखच, विदेशमा थाइल्यान्डदेखि दुबईसम्म रमाउँदै

थाइल्यान्ड, सिङ्गापुर, मलेसिया, दुबई, इन्डोनेसिया, अजरबैजन, चीन, माल्दिभ्स, भियतनाम, मौरिससमा पनि नेपाली जान थालेका छन् । नेपाल आउने विभिन्न मुलुकका बजेट एयरलाइन्सदेखि सीधा सम्पर्कका अरु एयरलाइन्सका कारण पनि नेपालीहरु विदेश घुम्न सहज भएको हो । विभिन्न मुलुकबाट नेपालमा २७ एयरलाइन्स कम्पनीले उडान गर्दै आएका छन् ।

कुनै जमाना थियो, नेपालीहरु उपचार, व्यापार र परिवारका लागि विदेश जाने गर्थे । तर, अन्तर्राष्ट्रिय एयरलाइन्सको नेपाल प्रवेशसँगै खुलेका ट्राभल एजेन्सीहरुका कारण अहिले घुमघामका लागि नेपालीहरु विदेश पुग्ने गरेका छन् ।

उच्चदेखि मध्यम आर्थिक हैसियत भएका नेपालीहरु घुमघामकै लागि एसिया, युरोप र अमेरिका जान थालेपछि नेपालमा अन्तर्राष्ट्रिय एयरलाइन्स, ट्राभल एजेन्सीको सङ्ख्या पनि बढ्दै गएको छ । सरकारले नेपालमा पर्यटक भिœयाउने उद्देश्यसहित भ्रमण वर्ष २०२० घोषणा गरेर तयारी थाल्दै गर्दा देशबाहिर घुम्ने नेपालीको सङ्ख्या पनि बाक्लिँदै गएको हो ।

अझ चाडपर्वको बेला हुने लामो बिदाकै कारण ट्राभल एजेन्सीहरुले सस्तो प्याकेज सार्वजनिक गरेका छन् । नेपालीहरु बढी घुम्न जाने मुलुक थाइल्यान्ड, मलेसिया, दुबई, सिङ्गापुर, इन्डोनेसियादेखि युरोप र अफ्रिकन मुलुकहरुका लागि पनि ट्राभल कम्पनीहरुले सस्तो प्याकेज घोषणा गरेका छन् ।

दसैं अघि र दसैंपछि नेपालीहरु अहिले देशका विभिन्न भागसँगै विदेशमा घुम्नका लागि निस्किएका छन् । आन्तरिक पर्यटक भएर देशभित्रै धेरै नेपाली घुमिरहँदा हजारौं नेपाली विदेशी पर्यटक भएर विभिन्न मुलुकमा घुमिरहेका छन् । दसैं अघिको प्याकेज लिएर गएका नेपालीहरु भने नेपाल फर्किसकेका छन् । मुस्ताङ, मनाङ, रारा, घारेपानी, सौराहा, पोखरा, लुम्बिनीलगायतका क्षेत्रमा अहिले पर्यटकहरु खचाखच हुँदा विदेशको थाइल्याण्ड, मलेसिया, दुबई, सिंगापुर, इन्डोनेशिसामा पनि नेपालीहरु घुम्नै लागि पुगिरहेका छन् ।

नेपालबाट बाहिर घुम्न जाने आउटबाउन्ड पर्यटकको सङ्ख्या बढ्दै गएको सी लिङ्क्स ट्राभलका प्रबन्ध निर्देशक तथा नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाटा)का सदस्य राजु ढकालले बताए । ट्राभल कम्पनीहरुले उपलब्ध गराउने सस्तो प्याकेजकै कारण नेपालीहरु विदेश घुम्नकै लागि जान थालेको उनको भनाइ छ । ‘नेपाल आउने अन्तर्राष्ट्रिय एयरलाइन्सका कारण टिकट सस्तो हुने र एजेन्सीले होटल तथा घुमघामको व्यवस्था मिलाउँदा नेपालभित्रको कुनै ठाउँ घुमेजत्तिकै खर्चमा जान सकिने भएकाले विदेश घुम्न जाने नेपाली बढेका छन्,’ उनले भने ।

नेपालबाट विदेश घुम्न जाने नेपालीहरुको यकिन तथ्याङ्क कुनै निकायमा नभए पनि पर्यटन व्यवसायी वार्षिक ७ लाख ५० हजार नेपाली घुम्नकै लागि भनेर विदेश जाने गरेको अनुमान गरेका छन् ।

पर्यटन व्यवसायी ओशो वल्र्ड ट्राभलका प्रबन्ध निर्देशक श्याम थपलियाले नेपालीहरु टुरिस्ट भिसा लिएर अधिक घुम्ने मुलुकहरुमा थाइल्यान्ड, सिङ्गापुर, मलेसिया, दुबई, इन्डोनेसिया रहेको बताए । ‘यकिन तथ्याङ्क त कुनै निकायमा छैन । तर ७ लाखभन्दा बढी नेपाली वार्षिक रुपमा घुम्न विदेश जाने गरेको पाइन्छ,’ उनले भने ।

पछिल्लो पटक अजरबैजन, चीन, माल्दिभ्स, भियतनाम, मौरिससमा पनि नेपाली अत्यधिक जान थालेको पर्यटन व्यवसायीको भनाइ छ । नेपाल आउने विभिन्न मुलुकका बजेट एयरलाइन्सदेखि सीधा सम्पर्कका अरु एयरलाइन्सका कारण पनि नेपालीहरु विदेश घुम्न सहज भएको हो । विभिन्न मुलुकबाट नेपालमा २७ एयरलाइन्स कम्पनीले उडान गर्दै आएका छन् ।

चाडपर्वमा सरकारी निकाय तथा निजी संस्थामा काम गर्ने कर्मचारीको बिदा, स्कुल, कलेजहरु पनि बन्द हुने भएकाले परिवार र साथीभाइहरुसहित घुम्न जानेको सङ्ख्या बाक्लिँदै गएको हो । यसबाहेक वार्षिक बिदा र फोर्सलिभका कारण पनि विदेश घुम्न जाने नेपाली बढ्दै गएका छन् । कार्यक्रम, सेमिनार, बैठकमा जाने कर्मचारी पनि बसाइँ अवधि बढाएर घुमफिरमा जाने गर्छन् ।

पछिल्लो पटक विभिन्न कर्पाेरेट हाउसहरुबाट प्रवद्र्धनात्मक कार्यक्रमदेखि डिलरमिटसम्मका कार्यक्रम नेपालबाहिर हुन थालेपछि विदेश घुम्न जाने नेपालीको सङ्ख्या बढेको हो । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा करिब ६० अर्ब रुपैयाँ विदेश भ्रमणका लागि भनेर विभिन्न बैङ्कले डलर सटही गरेका छन् । यो तथ्याङ्कबाट ५० प्रतिशत मात्र घुम्नकै लागि भनेर जानेले पनि ३० अर्ब एक वर्षमा खर्च गर्ने अनुमान पर्यटन व्यवसायीको छ ।

नेपालीहरुको बढी रोजाइको क्षेत्र एसियन मुलुक पर्ने गरेको हेलोे ट्राभलकी प्रकृति राईको भनाइ छ । ‘त्यसमा पनि इन्डोनेसियाको बाली अहिले बढी जान थालेका छन्,’ उनले भनिन्, ‘घुमघामसँगै किनमेलका लागि पनि नेपालीहरु विदेशमा जाने गरेका छन् । एसियन मुलुकमा ५ देखि ७ दिन र युरोपमा १० देखि १५ दिनसम्म बस्ने गरी नेपालीहरु जाने गरेका छन् ।’

एसियन मुलुकमा सबैभन्दा कममा प्रतिव्यक्ति ४५ हजार रुपैयाँसम्ममा पठाउने गरेको राईले जानकारी दिइन् । दसंैतिहारलाई लक्षित गरी हेलो ट्राभल विशेष छुटको योजना सार्वजनिक गरेको छ । हेलो ट्राभलले दसैंतिहारको अफरअनुसार ४ रात ५ दिनका लागि प्रतिव्यक्ति थाइल्यान्डमा ४७ हजार, मलेसिया र सिङ्गापुर ६८ हजार ५ सय, दुबई ६८ हजार ५ सय, बाली ६९ हजार, चीन १ लाख २० हजार, रसिया–दुबई ७ रात ८ दिनका लागि १ लाख १३ हजार रहेको जनाएको छ ।

ट्राभलले दसैंतिहारमा प्याकेज किन्नेहरुलाई मकवानपुरको दामनस्थित एभरेस्ट पानारोमा रिसार्टमा एक रात बस्न निःशुल्क गरेको इजी ट्राभलका सन्तोष गौतमले बताए । ‘यसको फाइदा धेरै कम्पनी, धेरै व्यक्तिहरुले लिइसकेका छन्, यसले आन्तरिक पर्यटनमा पनि टेवा पुग्छ,’ उनले भने ।

 

२७ हजार नेपाली दसैंतिहारको आसपासमा विदेश घुम्छन्

भोलाविक्रम थापा

प्रेसिडेन्ट ट्राभल एन्ड टुर

अहिले इनबाउन्डभन्दा आउटबाउन्ड पर्यटन बढी फस्टाएको छ । हामीले ट्राभल एन्ड टुर सुरु गरेको झन्डै ३५/४० वर्ष भइसक्यो । पहिले र अहिलको पर्यटन व्यवसायमा धेरै परिवर्तन आएको छ । पहिला नेपालमा पर्यटक धेरै भित्रिन्थे । हामीले बढी मात्रामा नेपाल भित्रिने पर्यटकलाई प्राथमिकता दिने गरेका थियौं । हाम्रो मुख्य व्यवसाय त्यही थियो । त्यो बेला धेरै नेपाली बाहिर घुम्ने प्रचलन पनि थिएन । त्यो बेला फ्रान्स, जर्मनी र बेलायतबाट हुलका हुल पर्यटक नेपाल आउँथे । अहिले पनि पर्यटक नआउने होइन, आएका छन् । तर त्यो बेलाको पर्यटकहरुले गर्ने खर्च र अहिलेका पर्यटकले गर्ने खर्चको धेरै अन्तर छ ।

अहिले विश्वका पर्यटक सस्तोको पछि लाग्न थालेका छन् । जुन देशमा सस्तो र राम्रो पाइन्छ, त्यही जान थालेका छन् । नेपालभन्दा धेरै सस्तो र राम्रो देश अरु नै विकास भइसकेका छन् । त्यसैले उनीहरु किन नेपालमा आउन चाहन्छन् त ? अहिले विश्वका धेरै पर्यटक इन्डोनेसियाको बालीमा जाने गरेका छन् । त्यहाँ प्लेन भाडा सस्तो, होटल सस्तो र खाने कुरा पनि सस्तो भएकाले त्यता जान्छन् । नेपालमा त्यस किसिमको सुविधा के छ त ? त्यसैले पनि नेपालीहरु पनि सस्तो प्याकेजकै कारण विदेश घुम्ने क्रम बढेको छ ।

पहिला नेपाल भनेपछि सगरमाथाको देश, बुद्ध जन्मको देश भनेर आउँथे । तर अहिले मान्छेहरु परिवर्तन भइसकेका छन् । उनीहरु सस्तो र राम्रो खोज्न थालेका छन् । पहिला पहिला युरोपियन मुलुकमा तीन हप्ता लामो बिदा हुन्थ्यो, त्यो तीन हप्ता कटाउनका लागि नेपालमा आउँथे र यहीँ समय बिताएर जान्थे । त्यो बिदा अहिले पनि छ । तर ती पर्यटकहरु यहाँ आउँदैनन् । कुनै बेला ३/४ ओटा एयर क्राफ्ट आउँथ्यो, चार्टर आउँथ्यो, जुन चार्टर जर्मनी, अस्ट्रियाबाट आउने गर्थे । गोवा, कोलोम्बो र नेपाललाई संयोजन गर्ने गरेका थिए ।

पछिल्लो समय ग्रुप ट्राभल घटेको छ । अहिले व्यक्तिव्यक्ति आउन थालेका छन् । पहिलेपहिले २०–३० जनाको ग्रुप हुन्थ्यो । अहिले ती ग्रुप बढी मात्रामा चीन र भारतमा जान थालेका छन् । पहिला मैले हरेक हप्ता १५/१६ जनाको ग्रुप ल्याउने गर्थे । तर अहिले त्यस्तो अवस्था छैन ।

ट्रेन्ड अफ बिजनेस चेन्ज भएको छ । अर्को नेपालबाट पनि धेरै मान्छेहरु विदेशमा घुम्न जान थाले । ४/५ वर्षअघि २ हजारदेखि ३ हजारसम्म नेपालीहरु विदेश घुम्न जान्थे । अहिले यो दशैमा मात्र नेपालबाट विदेश घुम्न जानेको सङ्ख्या २७ हजार छ । अहिले विश्वका धेरै देशले सहज रुपमा भिसा दिन लागेका कारण नेपालीहरु घुम्न जानेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । यसले विदेशी मुलुकलाई फाइदा पुगे पनि नेपाललाई फाइदा पुग्न सकेको छैन । पर्याप्त मात्रामा विदेशबाट पर्यटकहरु नेपाल भिœयाउन नसकेपछि नाफा हुने त कुरा भएन ।

ट्राभल एजेन्सीहरुबीच पहिला नेपालभित्र मात्र प्रतिस्पर्धा थियो । तर अहिले बाली, थाइल्यान्ड, हङकङ, इन्डियासँग प्रतिस्पर्धा गर्नुपरेको छ । हाम्रो प्राथमिकता भनेको नेपालमा पर्यटक भिœयाउनेतर्फ नै बढी जोड दिनुपर्छ । नेपालको अर्थतन्त्रलाई प्रत्यक्ष र धेरै फाइदा इनबाउन्डले नै दिन्छ । अहिले नेपालमा पर्यटक पनि घटेका छन् । यस्तो अवस्थामा हाम्रा नेपाली दाजुभाइहरुले पठाएको रेमिट्यान्सको भरमा देश चलेको छ । त्यसैले सरकारले इनबाउन्ड पर्यटनलाई विशेष जोड दिन आवश्यक छ । अहिले प्रेसिडेन्ट ट्राभलबाट सिङ्गापुर, थाइल्यान्ड, बालीलगायत देशमा बढी मात्रामा नेपाली जाने गरेका छन् ।

 

पर्व बिदामा विदेश जाने धेरै छन्

विनायक शाह

महासचिव, होटल एसोसिएसन अफ नेपाल (हान)

पछिल्लो समय दसैंतिहार बिदाको मौकामा घुम्न निस्कने नेपालीको सङ्ख्यामा वृद्धि भएको छ । विशेषगरी उनीहरु यति बेला देश भित्रभन्दा देश बाहिर जाने गरेका छन् ।

दसैंको टीका लगाउन नरुचाउने उच्च परिवारका सदस्यहरु सपरिवार घुम्न जाने गरेका हुन् । श्रीमान् बैङ्कमा जागिरे र श्रीमती कुनै एनजीओ र आइएनजीओमा कार्यरत भएकाहरु धेरै विदेशमा घुम्न जाने गरेको पाइएको छ । उनीहरुलाई अरु बेला लामो बिदा नमिल्ने र दसैंतिहारमा लामो बिदा पाइने भएकाले उनीहरु नेपालभन्दा विदेश जान रुचाउँछन् ।

दसैंतिहारलाई लक्ष्य गरी ट्राभल एजेन्सीहरुले न्यून शुल्कमा प्याकेज ल्याउने गरेका छन्, जसले एक परिवार सन्तोषजनक तरिकाले विदेशमा घुमेर आउन सक्छन् । एजेन्सीले हवाई टिकटभन्दा सस्तोमा तीन रात चार दिनसम्मको प्याकेज मिलाइदिएका हुन्छन् । नेपालीहरुको अहिलेको प्रमुख गन्तव्यका रुपमा थाइल्यान्ड, मलेसिया, इन्डोनिसायाको बाली र युरोप मुलुकहरु पर्ने गरेका छन् ।

त्यस्तै आन्तरिक क्षेत्रमा पनि पर्यटकको सङ्ख्या बढी छ । नेपालभित्रै पनि पोखरा, चितवन, रारा, विभिन्न राष्ट्रिय निकुञ्जहरुमा पारिवारिक घुम्न जाने गर्छन् । तर सरदरमा नेपालीहरु दसैं र तिहारमा स्वदेशभन्दा विदेशमै घुम्न जान रुचाउँछन् ।

पहिला देश अनि विदेश

दीपकराज जोशी

दसैं र तिहारको आसपासमा धेरै नेपाली घुम्न निस्कने गरेका छन् । नेपालीहरुको सबैभन्दा बढी घुमघाम गर्ने सिजन भनेकै यही हो । पछिल्ला दिनमा नेपालभित्रै घुमघामको सङ्ख्या पनि बढेको र विदेशमा जानेहरुको सङ्ख्या पनि बढेको छ ।

खासगरी बजेट एयरलाइन्सहरुको कनेक्सनले सस्तो प्याकेजहरु पाउन थालेका छन् । कतिपय केसमा नेपालको रारा, मुस्ताङ, सिमिकोटलगायत ठाउँमा गएर आउनुभन्दा थाइल्यान्ड, मलेसियालगायत देशहरुको प्याकेज सस्तो भएका छन् । त्यसको प्रभाव नेपाली पर्यटकहरुलाई धेरै परेको छ ।
तर हामी भन्छौं, नेपालीहरुले सकेसम्म आफ्नै देशका सम्पूर्ण पर्यटकीय स्थल नै घुमघाम गर्न आवश्यक छ । यो वर्ष अभियान पनि सञ्चालनमा आएको छ, पहिला देश अनि विदेश । आफ्नै देशभित्र यति धेरै मनोरम एवम सुन्दर ठाउँ छन्, जुन हामीलाई नै थाहा छैन । देशभित्रै घुम्दा पर्यटन क्षेत्रमा आम्दानी पनि हुने र ठाउँको पहिचान पनि हुन्छ ।

पछिल्लो समय नयाँ गन्तव्यमा घुम्न जाने प्रचलन पनि निकै बढेको छ । अझै धेरै घुम्दिनुहोस् भन्ने हाम्रो चाहना हो । तपाईं देशभित्र घुम्दा देशलाई पनि केही मात्रामा फाइदा पुग्छ । दसंैतिहारको सिजन भनेको उच्च पर्यटकीय सिजन हो । यो बेलामा चल्तीका गन्तव्य अन्नपूर्ण आधार शिविर, एभरेस्ट, पोखरा, चितवन, लुम्बिनी, दोलखा र काठमाडांैका क्षेत्रहरुमा पर्यटकहरु प्रायः खचाखच हुन्छन् । यो सिजनमा नेपालीहरु अझ धेरै नयाँ गन्तव्यहरुमा जाँदा अझ राम्रो हुन्छ ।