भ्रमण वर्षको पूर्व सन्ध्यामा नेपालको एेतिहासिक छलाङ, थाइल्यान्डका सबै विमानस्थलमा नेपाली जहाज जान बाटो खुल्यो

थाई पक्षले काठमाडौंका अतिरिक्त नयाँ निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उडान भर्ने भएको छ । अबको १० महिनाभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आउने भएपछि थार्इ सरकारलाई त्यस विमानस्थलमा पनि उडान गर्न अनुरोध गरेको हो ।

नेपालका हवाइजहाजलाई थाइल्यान्डका सबै एयरपोर्टमा अवतरण गर्न बाटो खुला भएको छ । नेपाल र थाइल्यान्डबीच ४७ वर्षपछि हवाई सम्झौता पुनरवलोकन भएसँगै सबै एयरपोर्टमा ‘एक्सेस’ पाएको हो ।

सम्झौताअनुसार हप्तामा २८ उडान गरेर नेपालका जुनसुकै जहाज थाइल्यान्डका सबै विमानस्थलमा अवतरण गर्न पाउने भएका छन् । यस्तै दुवै पक्षले तेस्रो पक्षको मुलुकसँग सम्झौता गरी तेस्रो देशको कोड साझेदारीमा पनि उडान भर्न पाउने भएका छन् ।

थाल्यान्डमा भएको द्विपक्षीय सम्झौतामा नेपाली पक्षका वायुसेवा कम्पनीहरुले २ ओटा दक्षिण एशियाली, दक्षिण पूर्व एशियाली र उत्तर पूर्व एशियाली मुलुकमा मध्यस्थ विन्दुको रुपमा तथा २ ओटा दक्षिण पूर्व एशियाली उत्तर पूर्व एशियाली र प्रशान्त क्षेत्रका मुलुकमा गन्तव्यपछिको विन्दुका रुपमा पाँचौ हवाई ट्राफिक अधिकार उपयोग गर्न सक्ने भएका छन् ।

यस्तै थाई पक्षका वायुसेवा कम्पनीहरुले भारतको दिल्ली बाहेकका २ ओटा दक्षिण एशियाली, दक्षिण पूर्व एशियाली र मध्यपूर्वका मुलुकमा मध्यस्थ विन्दुको रुपमा २ ओटा र भारतको नयाँ दिल्ली बाहेकका अन्य २ ओटा गन्तव्य पश्चातको विन्दुमा पाँचौ हवाई ट्राफिक अधिकार उपयोग गर्न सक्ने उल्लेख गरिएको छ ।

यसैगरी थाई पक्षले काठमाडौंका अतिरिक्त नयाँ निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उडान भर्ने भएको छ । अबको १० महिनाभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आउने भएपछि थार्इ सरकारलाई त्यस विमानस्थलमा पनि उडान गर्न अनुरोध गरेको हो ।

भगवान् गौतम बुद्धको जन्मस्थलको रुपमा परिचित लुम्बिनीमा बुद्ध धर्मावलम्बीहरु धेरै आउने गरेका छन् । थाइल्यान्डमा धेरै बुद्धिष्टहरु रहेका कारण उनीहरुलाई त्यसतर्फ पनि जानकारी गराएको बार्ता टोलीका सदस्यरुको भनाइ छ । यस्तै दुवै पक्षले कार्गो उडान गर्दा कुनै प्रकारको उडान संख्याको सीमा नतोक्ने भएका छन् ।

समझदारी पत्रमा नेपाली पक्षबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य र थाई नागरिक उड्डयन निकायका महानिर्देशक चुला सुकमानोयले हस्ताक्षर गरेका छन् । अहिले थाइल्यान्डका थार्इ एयरवेज र थार्इलायन एयरलान्सले नेपलमा उडान गरिरहेका छन् भने नेपालबाट नेपाल एयरलाइन्सले मात्र उडान भर्दै आएको छ ।

दुई देशबीच भएको हवाई सम्झौतापछि नेपालमा थाइल्यान्डका पर्यटकहरु धेरै भित्रिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको विश्वास छ । भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा भएको द्विपक्षीय सम्झौताले थाइल्यान्डबाट धेरै बुद्धिष्टहरु नेपाल ल्याउन सहयोग पुग्ने मन्त्री अधिकारीको भनाइ छ । उनले थाइल्यान्डका जहाजलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न उत्प्रेरित गर्ने र नेपालले पनि सिधै त्यहिँबाट उडान गर्ने तयारी सरकारको रहेको बताए ।