पर्यटन दूत फेर्दै नेपाल पर्यटन बोर्ड

पहिला नियुक्त भएका धेरै पर्यटन दूतहरु राजनीतिक रङ्ग मिसिएको पाइएकाले उनीहरुले बोर्डले दिएको जिम्मेवारी पूरा नगरेको पाइएका कारण उनीहरुलाई हटाएर नयाँ राख्न लागिएको प्रवक्ता बरालको भनाइ छ ।

विदेशमा रहेका नेपालीमार्फत् प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्नका लागि नेपाल पर्यटन बोर्डले नयाँ दूत नियक्ति गर्ने तयारी गरेको छ । हाल नियुक्त भएका अधिकांश दूतहरु निष्कृय रहेको भन्दै पर्यटन बोर्डले नयाँ नियुक्ति गर्न लागेको हो ।

भएका दूतहरुको म्याद सकिएको र उनीहरुको म्याद थप्न बोर्डबाटै निर्णय गर्नुपर्ने भएकाले अधिकांश देशमा नयाँ राख्ने तयारी भइरहेको पर्यटन बोर्डका प्रवक्ता आदित्य बरालले जानकारी दिए । पहिला नियुक्त भएका धेरै पर्यटन दूतहरु राजनीतिक रङ्ग मिसिएको पाइएकाले उनीहरुले बोर्डले दिएको जिम्मेवारी पूरा नगरेको पाइएका कारण उनीहरुलाई हटाएर नयाँ राख्न लागिएको प्रवक्ता बरालको भनाइ छ । उनीहरुलाई २/३ महिनाभित्र नियुक्त गरिसक्ने तयारी बोर्डको छ । नयाँ पर्यटन दूत नियुक्तिका लागि बोर्डले गृहकार्य गरिरहेको जनाएको छ ।

भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी स्रोतसाधन भएका, उच्च पदस्थ, त्यही देशको नागरिकता लिएका र आफ्नै स्रोतसाधन खर्च गर्न सक्ने खालका व्यक्तिलाई नियुक्त गर्ने तयारी पर्यटन बोर्डको छ । भनसुनका भरमा मात्र पर्यटन दूतमा नियुक्त भएकाहरुलाई हटाएर काम गर्न सक्ने खालका व्यक्तिलाई राख्न लागिएको प्रवक्ता बरालको भनाइ छ ।

बोर्डले पर्यटन दूत नियुक्तिका लागि छनौट समिति समेत बनाउने तयारी गरेको छ । पर्यटन दूत बन्नका लागि सम्बन्धित देशको राजदूतावासको सिफारिस अनिवार्य चाहिने छ । नियुक्त भएका पर्यटन दूतहरुले नेपालको विषयमा प्रचार प्रसार गर्नुपर्ने हुन्छ । प्रचारका लागि प्रचार सामग्री पर्यटन बोर्डले उपलब्ध गराउने छ । उनीहरुले त्यहाँका हवाई कम्पनी, कलेज तथा वैदेशिक नियोगहरुमा नेपालको प्रचार गर्ने, नेपाल जानुपर्छ भनेर उत्प्रेरणा जगाउने, भिसा प्रक्रियाका विषयमा सहयोग गर्ने र नेपाल उद्गमस्थल हो, तपाईंहरु जानुपर्छ भन्ने किसिमको सन्देशमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ ।

पर्यटन दूत बनेवापत् उनीहरुले कुनै सरकारी सुविधा पाउने छैनन् । तर उनीहरु आफैंले सचिवालय स्थापना गराउनु पर्ने प्रावधान छ । हाल क्यानडा, कतार, आयरल्यान्ड, बेलायत, थाइल्यान्ड, न्युजील्यान्ड, कोरिया, स्विट्जरल्यान्ड, पोर्चुगल तथा नर्वेमा एक एक जना पर्यटन दूत छन् भने चीन, डेनमार्क, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड तथा सिङ्गापुरमा दुई दुई जना छन् । यसै गरी जर्मनी, जापान, रसिया र स्वीडेनमा तीन तीन जना र स्पेनमा चार, अष्ट्रे्लियामा पाँच तथा अमेरिकामा आठ जना पर्यटन दूत छन् ।