पहिलो त्रैमासमा २६ बैङ्कको नाफा १३ अर्ब १० करोड, इन्भेष्टमेन्ट अर्ब क्लबमा समावेश

नेपाल इन्भेष्टमेन्ट बैङ्क पहिलो त्रैमासमा १ अर्ब रुपैयाँभन्दा बढी नाफा गर्दै अर्ब क्लबमा समावेश भएको छ ।

चालू आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासमा २६ बैङ्कले १३ अर्ब १० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जसमध्ये नेपाल इन्भेष्टमेन्ट बैङ्क पहिलो त्रैमासमा १ अर्ब रुपैयाँभन्दा बढी नाफा गर्दै अर्ब क्लबमा समावेश भएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको भन्दा १७ दशमलव ८४ प्रतिशतले नाफा बढाउँदै पहिलो त्रैमासमा नै अर्ब क्लबमा समावेश भएको हो ।

नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) अनुसार हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका २६ वाणिज्य बैङ्कलाई पछि पार्दै इन्भेष्टमेन्ट मात्र अर्ब क्लबमा प्रवेश गरेको हो । गत आर्थिक वर्षमा ८९ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस वर्षको पहिलो त्रैमासमा १ अर्ब ५४ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आवको तुलनामा १७ प्रतिशतले बढी हो ।

कात्तिक ३० गते शुक्रबारसम्म राष्ट्रिय वाणिज्य बैङ्कको वित्तीय विवरण सार्वजनिक भएको छैन । इन्भेष्टमेन्टपछि सबैभन्दा बढी नबिल बैङ्कले ९३ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आवको सोही अवधिमा ८५ करोड १४ लाख रुपैयाँ कमाएको थियो, जुन यस वर्षको पहिलो त्रैमासको कमाइभन्दा २३ दशमलव ६१ प्रतिशतले कम हो ।

त्यसपछि ९१ करोड खुद नाफा कमाउने नेपाल बैङ्कले गत आवकोभन्दा ५ दशमलव ९१ प्रतिशत कम नाफा कमाएको छ । कम्पनीले गत आवमा ९७ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।