पैसा नतिरे आइतबारबाट सौर्यको जहाज ग्राउन्डेड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ग्राउन्ड ह्यान्डलिङबापतको करिब १ करोड ८० लाख रुपैयाँ तिर्नुपर्नेछ ।

ग्राउन्ड ह्यान्डलिङ चार्ज नतिरे सौर्य एयरलाइन्सको जहाज आइतबारबाट ग्राउन्डेड हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ग्राउन्ड ह्यान्डलिङबापतको करिब १ करोड ८० लाख रुपैयाँ तिर्नुपर्नेछ ।

आइतबार १२ बजेसम्म रकम नदिए सौर्यको जहाज ग्राउन्डेड गर्ने तयारी भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । ‘हामीले आइतबार १२ बजेसम्मको समय दिएका छौं,’ उनले भने, ‘पैसा नतिरे क्रमशः दैनिक २/३ घण्टा जहाज उडाउन रोक्छौं ।’ सौर्यलाई पैसा तिर्न पटकपटक ताकेता गर्दा पनि बेवास्ता गरेका कारण कडा रुपमा विमानस्थल प्रशासन लाग्न थालेको उनको भनाइ छ । यसअघि सौर्यले विमानस्थललाई १ करोड ६० लाख रुपैयाँ तिरिसकेको छ ।

सौर्यबाहेक अन्य एयरलाइन्सहरुको पनि बक्यौता रकम तत्काल नतिरे उनीहरुलाई पनि कारबाही गरिने उनले बताए । सौर्य एयरलाइन्सलाई केही महिनाअघि मात्र नयाँ व्यवस्थापनले सञ्चालनमा ल्याएको हो । हाल सौर्यसँग एउटा जहाज छ । सो जहाजले दैनिक पाँच उडान गर्दै आएको छ ।