वाइडबडी माघदेखि जापान उड्दै, फागुनमा चीन

केही महिनाअघि मात्र काठमाडौंमा भित्रिएको वाइड बडी विमानले लामो दूरीमा उडान गर्न नपाएको र नयाँ गन्तव्यमा उडान नगरेको आरोप सार्वजनिक भइरहेको बेला एनएसीले नयाँ योजना बनाएको हो । सुरुमा बनाएको योजनाअनुसार विमानले उडान नगरेपछि कार्यकारी अध्यक्ष खरेलले पुनः नयाँ योजना बनाएका हुन् ।

अनुभवी तथा लामो समय नेपाल वायुसेवा निगममा काम गरेका मदन खरेल कार्यकारी अध्यक्ष भएर आएपछि नयाँ व्यावसायिक योजना बनाएका छन् । यसअघिको योजना हावादारी भएपछि उनले नयाँ योजना बनाएका हुन् । आगामी माघदेखि उनी जसरी पनि वाइडबडी जहाज जापान उडाउन लागिपरेका छन् ।

यसअघिको बिजनेसप्लान अनुसार अस्ट्रेलिया तथा लन्डनसमेत उडाउने भनिएको थियो । त्यो तत्काल सम्भव नभएपछि नयाँ योजना बनाएर उनी अघि बढेका हुन् । यसअघि जापानकै नारिता एयरपोर्टमा जहाज ल्यान्ड गर्ने योजना बनाइएको थियो । तर नारिता सफल हुन नसकेपछि खरेलले ओसाका उडाउने तयारी थालेका हुन् ।

‘नेपाल एयरलाइन्सको वाइड बडी जहाज माघमा जापानको ओसाका एयरपोर्टमा ल्यान्ड गर्छ,’ उनले भने, ‘नारिता होइन, त्यहाँको प्रक्रिया नै अघि बढेको छैन ।’ त्यसपछि फागुनबाट चीनमा उडान गर्ने गरी आवश्यक तयारी अगाडि बढेको उनको भनाइ छ ।

जापानको ओसाका र चीनको गोन्जाओमा नियमित उडान गर्ने गरी प्रक्रिया अघि बढाइएको एनएसीका कार्यकारी अध्यक्ष खरेलले बताए । ‘जापान र चीनमा उडान गरेपछि साउदी अरब र दक्षिण कोरियामा उडान गर्नेछौं,’ उनले भने, ‘हामी बिस्तारै नयाँ गन्तव्यमा उडान गर्दै जानेछौं ।’

केही महिनाअघि मात्र काठमाडौंमा भित्रिएको वाइड बडी विमानले लामो दूरीमा उडान गर्न नपाएको र नयाँ गन्तव्यमा उडान नगरेको आरोप सार्वजनिक भइरहेको बेला एनएसीले नयाँ योजना बनाएको हो । सुरुमा बनाएको योजनाअनुसार विमानले उडान नगरेपछि कार्यकारी अध्यक्ष खरेलले पुनः नयाँ योजना बनाएका हुन् ।

एनएसीले असार र साउनमा २ वटा वाइडबडी ‘ए ३३०–२००’ विमान भित्र्याएको छ । जहाजमा बिजनेस क्लासका १८ र इकोनोमी क्लासका २ सय ५६ सिट छन् । प्रत्येक सिटको अघि टचस्क्रिन सुविधासहितको स्मार्ट इन्फोटेनमेन्ट सिस्टम छ, जसमा नेपालीसहित विभिन्न भाषामा राखिएका गीत, सङ्गीत तथा चलचित्र हेर्न सकिनेछ । एनएसीले हाल अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँदिल्ली, बैङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्यान्ड, दोहा र दुबईमा उडान गर्दै आएको छ ।

सरकारले खरेललाई असोजमा निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । अध्यक्षमा नियुक्त भएको सातामै आमाको निधन भएपछि कार्यालयमा उपस्थित नभएका खरेलले केही साताअघि मात्र श्वेतपत्र जारी गरेका थिए । श्वेतपत्रमा निगमको हालको अवस्था र आगामी योजना सार्वजनिक गरेका छन् ।