घोषित लाभांशमा एनएमबी हाबी, यो वर्ष कुन बैङ्कले मार्ला बाजी ?

घोषित लाभांशमध्ये सबैभन्दा बढी एनएमबी बैङ्कले १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश घोषणा गरेको छ । एनएमबीको लाभांश घोषणसँगै यस वर्षको लाभांशमा बाजी कसले मार्ला भनेर विश्लेषण सुरु भएको छ ।

मङ्सिर ७ गते (शुक्रबार)सम्म ७ ओटा वाणिज्य बैङ्कले गत वर्षको नाफाबाट ढिलैगरी भए पनि आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । घोषित लाभांशमध्ये सबैभन्दा बढी एनएमबी बैङ्कले १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश घोषणा गरेको छ । एनएमबीको लाभांश घोषणसँगै यस वर्षको लाभांशमा बाजी कसले मार्ला भनेर विश्लेषण सुरु भएको छ ।

मुलुकमा सञ्चालित २८ वाणिज्य बैङ्कमध्ये २७ वाणिज्य बैङ्कले सर्वसाधारणमा सेयर बिक्री गरेका छन् । २७ बैङ्कहरुमध्ये लगानीकर्तालाई कसले उत्कृष्ट लाभांश देला भन्ने चासो हुनु अन्यथा होइन । विगतमा एकछत्र राज गर्दै आएका बैङ्कहरुको लाभांशमा गिरावट देखिएपछि नयाँ रफ्तारमा अघि बढेका बैङ्कहरुले बाजी मार्ने सम्भावना बढाएका छन् । त्यस्तै मध्येको एक हो, एनएमबी बैङ्क ।

विगतमा केही विकास बैङ्क र फाइनान्स कम्पनीलाई आफूमा गाभेर बलियो बनेको एनएमबीले सबैलाई पछि पार्दै लाभांश घोषणा गरेको छ । यसले नयाँ उदयीमान तथा पुराना बैङ्कहरुलाई पनि लगानीकर्तासमक्ष राम्रो प्रतिफल दिनुपर्ने दबाब सिर्जना गरेको छ ।

लाभांश घोषणा गर्नेमध्ये क्रमशः एभरेस्ट बैङ्क २० प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैङ्क १७ दशमलव ५ प्रतिशत, सानिमा बैङ्क १४ प्रतिशत, सिद्धार्थ बैङ्क बोनस ५ प्रतिशत र नगद ८ दशमलव ३१६ प्रतिशत गरी १३ दशमलव ३१६ प्रतिशत, एनआईसी एसिया बैङ्क १० दशमलव ५ प्रतिशत र माछापुच्छ्रे बैङ्कले १० प्रतिशत लाभांश घोषणा गरेका छन् । एनमबी र सिद्धार्थ बैङ्कबाहेक अन्य सबै बैङ्क नगद लाभांशमा सीमित भएका छन् । खासगरी नियमनकारी निकाय नेपाल राष्ट्र बैङ्कले २०७५ असारमा वाणिज्य बैङ्कहरुको चुक्ता पुँजी ८ अर्ब हुनुपर्ने व्यवस्था गरेअनुरुप पुँजी पुर्याइसकेका सबैजसो बैङ्कले नगद लाभांशलाई नै जोड दिएका छन् ।

गत वर्ष शतप्रतिशत बोनस सेयर दिएको स्ट्याण्डर्ड चार्टर्ड बैङ्क यसपटक पछि परेको छ । त्यति मात्र होइन गत वर्ष ३३ प्रतिशत बोनस सेयर दिएको एभरेस्ट बैङ्क पनि २० प्रतिशत नगद लाभांशमै खुम्चिएको छ । तर, गत वर्ष १५ प्रतिशत बोनस सेयर दिएको एनएबीले यस वर्ष लाभांश दोब्बर बनाएर ३० प्रतिशत पुर्याएको छ ।

गत आवमा एभरेष्टले २ अर्ब ५४ करोड, स्ट्याण्डर्ड चार्टर्डले २ अर्ब ७ करोड, सिद्धार्थले १ अर्ब ८५ करोड, एनएमबीले १ अर्ब ८१ करोड, सानिमा बैङ्कले १ अर्ब ६९ करोड, माछापुच्छ्रेले १ अर्ब २१ करोड तथा एनआईसीले १ अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेका थिए । यसअघि कायम चुक्ता पुँजीमा पनि एनएमबी बैङ्क अगाडि छ भने उसले यस वर्ष पनि १० प्रतिशत बोनस दिँदा चुक्ता पुँजी अझ बढ्ने देखिन्छ । एनएमबीको यसअघि ८ अर्ब ७४ करोड चुक्ता पुँजी हुँदा सिद्धार्थको ८ अर्ब ४६ करोड, स्ट्याण्डर्ड चार्टर्डको ८ अर्ब ११ करोड, सानिमाको ८ अर्ब, एनआईसी एसियाको ८ अर्ब ३ करोड तथा माछापुच्छ्रे बैङ्कको ८ अर्ब ५ करोड रुपैयाँ छ ।

सरसर्ती हेर्दा र विगतको अनुभवलाई नियाल्दा लगानीकर्तालाई लाभांश दिन बाँकी बैङ्कमध्ये नबिल बैङ्क, कृषि विकास बैङ्क र नेपाल इन्भेष्टमेन्ट बैङ्कले मात्र एनएमबीको लाभांशलाई पछाडि पार्न सक्ने सम्भावना छ । उनीहरुले गत वर्ष कमाएको नाफाका आधारमा पनि लाभांश एनएमबीको भन्दा अधिक हुनसक्छ भन्ने आकलन गर्न सकिन्छ । यद्यपि यो हाम्रो अनुमान मात्र हो । त्यसैगरी नबिल बैङ्कले गत वर्ष ३० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी ४५ प्रतिशत लाभांश दिएकोमा यस वर्ष कति देला भनेर लगानीकर्तामा कौतुहलता बढाएको छ । गत वर्ष १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिएको इन्भेस्टमेन्ट बैङ्क र २० प्रतिशत बोनस सेयर दिएको कृषि विकास बैङ्कमा पनि लगानीकर्ताको आँखा तानिएको छ ।

नबिलले गत वर्ष ४ अर्ब ५ करोड, इन्भेष्टमेन्टले ३ अर्ब ५७ करोड र कृषि विकास बैङ्कले ३ अर्ब ६७ करोड रुपैयाँ नाफा कमाएका थिए । त्यसबाहेक गत वर्ष लगानीकर्तालाई २७ प्रतिशत बोनस सेयर दिएको प्राइम कमर्सियल बैङ्कले पनि एनएमबीलाई उछिन्ला कि नउछिन्ला भन्ने प्रश्न खडा गरेको छ । यद्यपि प्राइमको गत वर्ष नाफा १ अर्ब ८९ करोड भएकोमा उसको चुक्ता पुँजी ८ अर्ब ३ करोड रुपैयाँ छ । एनएमबीबाहेक अधिकांश बैङ्कको लाभांश घोषणा दर गत वर्षको भन्दा ह्वात्तै घटेको छ । गत वर्ष एनआईसीले २० प्रतिशत बोनस, सानिमाले १६ प्रतिशत बोनस र माछापुच्छ्रेले ९ प्रतिशत बोनस तथा ६ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश दिएका थिए ।

गत वर्ष सबैभन्दा बढी नाफा कमाएको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले सर्वसाधारणमा सेयर बिक्री नगरेकाले लाभांश घोषणा गर्ने सम्भावना कम छ । घोषणा गरेपनि लगानीकर्ताको चासो रहँदैन । यद्यपि एनआईडीसी डेभलपमेन्ट बैङ्कमा रहेका नगण्य साधारण सेयरधनी राष्ट्रिय वाणिज्य बैङ्कमा छन् । त्यतिखेरका एनआईडीसीका लगानीकर्तालाई प्रतिसेयर ४ हजार ४ सय रुपैयाँका दरले रकम लिन र सेयर स्वामित्व सरकारलाई दिन बैङ्कले आग्रह गरेको थियो । यसको चुक्ता पुँजी ९ अर्ब छ भने उसले गत वर्ष ४ अर्ब ३२ करोड रुपैयाँ नाफा गरेको थियो ।

लामो समयपछि तङ्ग्रिँदै गरेको सरकारी स्वामित्वसमेत भएको नेपाल बैङ्कले यस वर्ष लाभांश घोषणा गर्ला कि नगर्ला भनेर लगानीकर्तामा अधिक चासो देखिन्छ । यद्यपि गत वर्ष थप प्राथमिक निष्कासन (एफपीओ) बिक्री गर्दा बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले यस वर्षबाट लाभांश दिइने घोषणा गरेका थिए । नेपाल बैङ्कको चुक्ता पुँजी ९ अर्ब ८० करोड छ भने उसले गत वर्ष ३ अर्ब ३९ करोड खुद नाफा कमाएको थियो ।