वाइडबडीको डकुमेन्ट माग्दा जोक लाग्यो कंसाकारलाई, रावलले थर्काएपछि माफी मागे

कंसाकार बोलिरहँदा समितिका सदस्य एवम् पूर्व उपप्रधानमन्त्री भीम रावलले तत्काल आपत्ति जनाए । समितिका सभापतिसँग विशेष समय माग गर्दै रावल कंसाकारप्रति जाइलागे ।

नेपाल वायु सेवा निगमले भित्र्याएको दुई ओटा वाइडबडी विमान खरिदको विषयमा शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष, महाप्रबन्धकलगायत सरोकारवाला निकायहरुलाई छलफलका लागि बोलाएको थियो । बैठक सुरु भएलगत्तै पर्यटनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी खरिदको सम्पूर्ण प्रक्रियाहरुका विषयमा जानकारी दिए ।

समितिका अधिकांश सदस्यहरुले विमान खरिदको विषयमा प्रश्न गरेका थिए । माधवकुमार नेपाल, भीम रावल, अग्नि सापकोटा, प्रकाशमान सिंह, पम्फा भुसाल, नारायण खड्का, दिव्यमणि राजभण्डारी, पवित्रा निरौलालगायतले निगमले व्यावसायिक योजनाअनुसार विमानलाई सञ्चालन नगरेको तथा विमान खरिदमा घोटाला भएका आरोपहरु आएको भन्दै सत्यतथ्य तत्काल सार्वजनिक गर्न सम्बन्धित निकायहरुलाई माग गर्दै आएका थिए । अधिकांश सदस्यहरुले विमान खरिदको कागजात सार्वजनिक गर्नुपर्ने बताएका थिए ।

यसैबीच निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको बोल्ने पालो आयो । उनले विमान खरिदको विषयमा भन्दा पनि विमानको आवश्यकताको विषयमा विस्तार लगाइरहेका थिए । उनले विमान खरिदपछि नेपालले ठूलो सफलता हात पारेको र कुनै पनि व्यवसायले तत्काल नाफा नदिने बताउँदै सरकारलाई नआत्तिन अनुरोध समेत गर्न भ्याए । जहाज खरिदमा घोटाला भएको र भाडामा ल्याइएको खबरहरु सुनेर आफू र आफ्ना कर्मचारीहरु जोक सम्झेर कार्यालयमा हाँस्ने गरेको उनले बताए ।

कंसाकारले अघि थपे, लेखा समितिले समेत विमान खरिदको कागजात माग्दा १० हजार पेजको पत्र पठाएको भन्दै व्यङ्ग्य गरे । कंसाकार बोलिरहँदा समितिका सदस्य एवम् पूर्व उपप्रधानमन्त्री भीम रावलले तत्काल आपत्ति जनाए । समितिका सभापतिसँग विशेष समय माग गर्दै रावल कंसाकारप्रति जाइलागे । विमान खरिदको विषयमा सार्वजनिक चासो राख्दा तपाईंहरु जोक सम्झेर हाँस्न मिल्छ ? हामीलाई तपाईंले के असनको भीड सम्झनु भएको छ ? निगमको पारदर्शिता सर्वसाधारणले आवाज उठाउँदा जवाफ दिनु पर्दैन ? हामी जनताले निर्वाचित गरेर पठाएको जननिर्वाचित हौं, तपाईंले तत्काल माफी माग्नुस् र गल्ती स्वीकार्नुस् । तपाईंलाई हामीले नियुक्त गरेका हौं ।

भीम रावलले यति भनेपछि महाप्रबन्धक कंसाकारले आफ्नो बोलीमा गल्ती भएको भन्दै समितिसमक्ष क्षमा मागे । उनले अबका दिनमा यस्ता भाषाहरु प्रयोग नगर्ने प्रतिबद्धता समेत जनाए ।