श्रम समझदारीपछि झन चिसिन थाल्यो नेपाल–मलेसिया सम्बन्ध

मलेसिया दुतावासको निर्देशनपछि अध्यागमन सुरक्षा जाँच गर्ने जीएसजीले सूचना जारी गर्दै काम गर्न सुरु गरेको जनाइसकेको छ । नेपाल र मलेसियाबिचको श्रम समझदारीपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मलेसिया नखुलेको विषयमा श्रम मन्त्री विष्टसँग कार्य सम्पादनका विषयमा पनि सोधपुछ गरिसकेका छन् ।

नेपाल र मलेसियाबीच भएको श्रम समझदारीपछि पनि मलेसियाको रोजगारी नखुल्दा नेपाल र मलेसियाबीचकै कुटनीतिक सम्बन्ध चिसिन थालेको छ । नेपालबाट मलेसिया जाने कामदारमाथि ५ अर्बभन्दा बढि ठगी गरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गत जेठ २ गते पाँच संस्थालाई खारेजीको घोषणा गर्दै कारवाहीको दायरामा ल्याएका थिए ।

त्यसयता बन्द भएको मलेसियाको रोजगारी दुई देशका मन्त्रीबीच गत कार्तिक १२ गते भएको समझदारीपछि पनि खुलेन । दुईमन्त्रबीचको समझदारी र दुई देशको संयुक्त कार्यदलले गरेको छलफलपछि मलेसिया नखुलेपछि मलेसिया नेपालसँग रुष्ट भएको सङ्केत दिएको छ । नेपालस्थित मलेसिया दूतावासले बुधबार मलेसिया जाने कामदारको अध्यगमन सेक्युरिटी, भिसा प्रक्रिया, बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्ने संस्थालाई नेपाल र मलेसियाबीच श्रम समझदारी भएपछि केही कुरा बाँकी नरहेको र मलेसियाको सिष्टमअनुसार उही प्रक्रिया रहेको भन्दै तत्कालका लागि कलिङ भिसाका लागि प्रक्रिया बढाउन निर्देशन दिँदै पत्राचार गर्यो ।

दूतावासले पत्राचार गरेपछि कलिङ भिसाका लागि मलेसिया खुलेको भन्दै म्यानपावर व्यवसायीले प्रक्रिया थाले तर बिहीबार श्रम मन्त्रालयले कलिङ भिसा पनि नखुलेको र यो हल्ला मात्र भएको भन्दै विज्ञप्ति प्रकाशित गर्यो । मन्त्रालयले केही दिनमा सबै कुरा टुङ्गिएपछि मलेसिया खुल्ने जनाएको छ ।

शुक्रबार दूतावासले फेरि परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै नेपाल र मलेसियाको समझदारी भएपछि मलेसियाले आफ्नो सिष्टममै काम गर्ने र नेपाली कामदार लिनका लागि तयारीमा रहेको भन्दै पत्राचार गर्यो ।

कामदार लिने मुलुकले लामो समय मलेसिया जाने प्रक्रिया बन्द भएको र त्यसपछि पर्याप्त छलफलपश्चात श्रम समझदारी गरेकाले सबै कुरा टुङ्गिएको भनिरहँदा नेपालले भने केही संस्था परिवर्तन हुनुपर्ने र अर्काे कुनै व्यवसायीलाई दिनुपर्ने माग राखिरहेको छ । ‘मलेसियाको भिसा प्रक्रियाको अधिकार मलेसियाकै हुन्छ, मलेसियाले जसलाई तोक्छ उसैले गर्ने हो, सबै कुरा सकिएपछि पनि कामदार रोक्नु भनेको कुटनीतिक सम्बन्धमा असर हुनुमात्र हो,’ नेपालका लागि मलेसियाका निमित्त राजदूत अहमद फादिल इस्माइलले बताए ।

मलेसिया दुतावासको निर्देशनपछि अध्यागमन सुरक्षा जाँच गर्ने जीएसजीले सूचना जारी गर्दै काम गर्न सुरु गरेको जनाइसकेको छ ।

नेपाल र मलेसियाबीचको श्रम समझदारीपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मलेसिया नखुलेको विषयमा श्रम मन्त्री विष्टसँग कार्य सम्पादनका विषयमा पनि सोधपुछ गरिसकेका छन् । मन्त्री विष्टले संयुक्त कार्यदलले केही कुरा सक्नुपर्ने भएकाले ढिलो भएको भन्दै जानकारी पनि गराएका थिए । तर, संयुक्त कार्यदलको नेपाल नेतृत्व गर्ने श्रम मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीको श्रम समझदारी भएको भोेलिपल्ट नै प्रदेश ५ मा सरुवा भइसकेको छ । प्रधानमन्त्री ओलीले जतिसक्दो चाँडो टुङ्गोमा पुर्याउन निर्देशनसमेत दिएका छन् ।

६ महिना मलेसिया बन्द भएर मन्त्रीबीच समझदारी पनि भएको र त्यसपछि पनि संयुक्त कार्यदलले पनि काम सकिसकेको अवस्थामा मलेसिया अझै नखुल्नुमा केही स्वार्थ अझै लुकेको वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङ बताउँछन् ।

‘मलेसियाका विषयमा हामी स्टेक होल्डरलाई एकपटक पनि नसोधी बन्द गरियो, श्रम समझदारी गर्ने बेला पनि सुझाव लिइएन तर समझदारीपछि खुलेको छैन,’ उनले भने । हामीले सुरुदेखि नै कामदारलाई आर्थिक भार पार्ने संस्थालाई खारेजी गर्दै नयाँ व्यवस्था गर्नुपर्छ भनेका थियौं तर मन्त्रीले तिनै संस्था जिवित राखेर सम्झौता गर्नुभयो अहिले आफू निकटका व्यवसायीलाई दिने नियतमा मलेसिया नखुलाइएको उनले बताए ।
‘मन्त्रीको अडानले नेपाल र मलेसियाबीचको कुटनीतिक सम्बन्धमा असर पर्न थालेको छ, यसमा अब परराष्ट्र र प्रधानमन्त्री कार्यालयले नै हस्तक्षेप गर्नुपर्छ,’ उनले भने ।