ग्लोबल आईएमई ब्यालेन्स फन्ड, सिटिजन्स म्युचुअल फन्ड, एनएमबी फन्ड, एनआईसी एसिया ब्यालेन्स फन्ड, नबिल ब्यालेन्स फन्ड र एनआईबीएल सहभागिता फन्डले बोर्डमा इकाई सेयरको अनुमति माग गरेका छन् ।
काठमाडौं : आधा दर्जन मर्चेन्ट बैङ्कले सामूहिक लगानी कोष (म्युचअल फण्ड) निष्कासन गर्न लागेका छन् । ती मर्चेन्ट बैङ्कले १० रुपैयाँ अङ्कित मूल्यका ६ अर्ब ३५ करोड रुपैयाँ बराबरका ६३ करोड ५० लाख इकाई म्युचअल फण्ड निष्कासन गर्न लागेका हुन्। म्युचअल फण्ड निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बोर्डबाट अनुमति पाउनसाथ फण्डको निष्कासन हुनेछ ।
ग्लोबल आईएमई क्यापिटलले ग्लोबल आईएमई ब्यालेन्स फन्ड, सीबीअार्इएल क्यापिटलले सिटिजन्स म्युचुअल फन्ड, एनएमबी क्यापिटलले एनएमबी फन्ड, एनआईसी एसिया क्यापिटलले एनआईसी एसिया ब्यालेन्स फन्ड, नबिल इन्भेष्टमेन्ट बैङ्किङले नबिल ब्यालेन्स फन्ड र एनआईबीएल एस क्यापिटलले एनआईबीएल सहभागिता फण्ड ल्याउन बोर्डमा अनुमति माग गरेका छन् । एनआईसी एसिया फण्ड र नबिल ब्यालेन्स फण्डलेबाहेक सबै कम्पनीले गत आवमा आवेदन दिएका थिए ।
चालू आर्थिक वर्ष २०७४/७५ को साउनयता बोर्डले कुनै पनि म्युचअल फण्ड निष्कासन अनुमति दिएको छैन । ग्लोबल आईएमई क्यापिटलले १ अर्ब २० करोड रुपैयाँको ग्लोबल आर्ईएमई ब्यालेन्स फण्ड १, सिटिजन्स बैङ्कले १ अर्ब रुपैयाँको सिटिजन्स म्युचअल फण्ड २, एनएमबी क्यापिटलले १ अर्ब २० करोड रुपैयाँको एनएमबी फण्ड निष्कासन गर्न लागेका छन् ।
यस्तै एनआईसी एसिया क्यापिटलले १ अर्ब २५ करोडको एनआईसी एसिया ब्यालेन्स फण्ड, नबिल इन्भेष्टमेन्टले १ अर्ब २० करोड रुपैयाँको नबिल ब्यालेन्स फण्ड २ र एनआईबीएल एस क्यापिटलले ५० करोड रुपैयाँको एनआईबीएल सहभागिता फण्ड निष्कासन गर्न लागेको बोर्डले जनाएको छ । गतवर्ष ४ मर्चेन्ट बैङ्कले ४ अर्ब ८० करोड रुपैयाँको म्युचअल फण्ड निष्कासन गरेका थिए । सेयर बजार घट्दै गएपछि म्युचअल फण्ड बिक्री हुन छाडेको छ ।
बिक्री होला त म्युचअल फण्ड ?
सेयर बजार घट्दा म्युचअल फण्डको खुद सम्पत्ति पनि कम हुदै गएको छ । म्युचअल फण्डको अधिकांश लगानी सेयरमा हुने गरेको छ । पछिल्लो समयमा बजार घटेपछि यसको असर फण्डको खुद सम्पत्तिमा परेको छ । हाल सञ्चालनमा रहेका १ दर्जन म्युचअल फण्डमध्ये अधिकाँशको खुद सम्पत्ति घटेको छ ।
म्युचअल फण्डको खुद मूल्य घट्दै गएकाले यसलाई नियामक निकायले प्रवर्द्धन गर्नुपर्ने सीबीआईएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहाल बताउँछन् ।
खुद सम्पत्ति घट्दै गएपछि लगानीकर्ताको यसप्रति अविश्वास बढ्दै गएको उनको भनाइ छ । “एकतर्फ बजारमा सेयरको आपूर्ति बढेका बेला संस्थागत लगानीकर्ता छैनन्” उनले भने “संस्थागत लगानीकर्ताको काम म्युचअल फण्डले गरिरहेका बेला बोर्डले नयाँ फण्डलाई अनुमति दिएको छैन । संस्थागत लगानीकर्ता भनेका म्युचअल फण्ड नै हुन् ।”