मेलम्चीमा मिसाइने याङ्ग्री र लार्केको पानी ल्याउन डीपीआर तयार

मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणमा दुई नदीबाट १७/१७ करोड घनमिटर पानी ल्याउने लक्ष्यअनुरुप निर्माणका लागि डीपीआर तयार भएको आयोजनाले जनाएको छ ।

काठमाडौं : याङ्ग्री र लार्के खोलाको पानी मेलम्ची खोलामा मिसाइने आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणमा दुई नदीबाट १७/१७ करोड घनमिटर पानी ल्याउने लक्ष्यअनुरुप निर्माणका लागि डीपीआर तयार भएको आयोजनाले जनाएको छ ।

डीपीआरसम्बन्धी ड्राफ्ट तयार भई एसियाली विकास बैङ्क (एडीबी)लाई बुझाइसकिएको मेलम्ची खानेपानी आयोजना विकास समितिका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रराज पन्तले बताए । उनले डीपीआरसम्बन्धी प्रतिवेदन स्वीकृत भई मङ्सिर महिनाभित्र सार्वजनिक हुने बताए । ‘डीपीआरसम्बन्धी ड्राफ्ट एडीबीलाई बुझाइसकेका छौँ । त्यसमा कुनै समस्या छैन,’ उनले भने, ‘डीपीआर मङ्सिर महिनाभित्रै स्वीकृत भएर आउँछ ।’

याङ्ग्री र लार्केबाट पानी ल्याउने मेलम्ची आयोजनाको दोस्रो चरणको योजनाअनुसार डीपीआर तयार भएको र कमेन्ट रिम्भ्यू भएर आएपछि फाइनल हुने आयोजनाका प्रमुख सूर्यराज कडेँलले बताए । ‘डीपीआर बनिसकेको छ । त्यसमा हाम्रा र कन्सल्टेन्टबाट कमेन्ट दिइएको छ । त्यो रिभ्यू भएर आएपछि काम अघि बढ्छ,’ कडेँलले भने ।

लार्के र याङ्ग्री खोलादेखि मेलम्ची खोलाको हेडवक्र्ससम्म ११ किलोमिटर टनेल बन्नुपर्छ । लार्केदेखि याङ्ग्रीसम्म २ किमी र याङ्ग्रीदेखि हेडवक्र्ससम्म ९ किमी टनेलमार्फत् मेलम्ची खोलाको मुहान अम्बाथानमा ती दुई खोलाको पानी खसालिने छ ।

एडीबीले परियोजनाका लागि थप लगानी गर्ने सोच बनाएको छ । यसअघि १२ करोड अमेरिकी डलर ऋण सम्झौता भइसकेको छ । थप २ करोड डलर डीपीआर निर्माणका लागि सहयोग गर्न विभिन्न सर्त अघि सारेको छ । मुआब्जा विवाद, बाटोको क्लियरेन्स, आयोजना व्यवस्थापनमा परामर्शदाताको राम्रो तयारी भएको खण्डमा थप लगानी दिने सोचमा एडीबी रहेको पन्तको तर्क छ ।

अहिले जग्गाको व्यवस्था, बाटो तथा टनेल निर्माण सर्भेक्षण एवम् परामर्शदाता छनोटको प्रक्रियामा अघि बढेको पन्तको भनाइ छ । दुई खोलाको पानी मेलम्चीमा मिसाउन २१ अर्ब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

आयोजनाले लार्के र याङ्ग्री खोलाको पानी मेलम्चीमा मिसाएर ५१ हजार घनमिटर पानी उपत्यकाबासीलाई वितरण गर्ने लक्ष्य लिइएको छ । सुन्दरीजलमा पानी प्रशोधन केन्द्र तयार भइसकेको छ ।