बैङ्कबाट कर्जाको ब्याजदर बढेको एसएमएस आउने सन्त्रासमा व्यवसायी

३ वर्षदेखि लगातार बैङ्किङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव देखिँदै आएको छ । यसको समाधानका लागि नेपाल राष्ट्र बैङ्कले विदेशबाट डलर र भारुमा प्राथमिक पुँजीको ५० प्रतिशतसम्म ऋण लिन खुला गरेको छ । यस्तै अनिवार्य नगद अनुपात (सीसीआर) घटाएर ४.५ प्रतिशत र पछिल्लो समयमा स्थानीय तहमा गएको बजेटको आधा रकम निक्षेपमा गणना गर्न छुट दिइसकेको छ ।

काठमाडौं । बैङ्कहरुले निक्षेप तान्न धमाधम मुद्दती निक्षेपमा ब्याजदर बढाउन थालेपछि कर्जाको पनि ब्याज बढेको एसएमएस आउने भन्दै व्यवसायीहरु त्रसित बनेका छन् ।

नेपाल बैङ्कर्स सङ्घले व्यक्तिगत मुद्दतीको ब्याजदर बढाउन खुला गरेपछि बढेर १३ प्रतिशतसम्म पुगेको छ । मुद्दतीको ब्याजदर अझ बढ्ने आशङ्का व्यवसायीको छ । युवा उद्यमी प्रवलजङ्ग पाण्डे बैङ्कबाट कर्जाको ब्याजदर बढेको एमएमएस आउन लागेकाले त्रसित बनेको बताएका छन् । क्यापिटल नेपालसँग कुरा गर्दै पाण्डेले भने, ‘बैङ्क ऋणको ब्याजदर बढेको सूचना आउला भनेर डर लागिरहेको छ ।’

अहिले औसत १३ प्रतिशत कर्जाको ब्याज तिरिरहेका उद्योगले अब १६ प्रतिशतभन्दा बढी तिर्नुपर्ने अवस्था आउन लागेको उनको भनाई छ । ‘बैङ्कले हामीसँग सल्लाह नगरी एसएमएस गरेर यति ब्याज बढ्यो भनेर जानकारी गराउँछ,’ उनले भने ।

३ वर्षदेखि लगातार बैङ्किङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव देखिँदै आएको छ । यसको समाधानका लागि नेपाल राष्ट्र बैङ्कले विदेशबाट डलर र भारुमा प्राथमिक पुँजीको ५० प्रतिशतसम्म ऋण लिन खुला गरेको छ । यस्तै अनिवार्य नगद अनुपात (सीसीआर) घटाएर ४.५ प्रतिशत र पछिल्लो समयमा स्थानीय तहमा गएको बजेटको आधा रकम निक्षेपमा गणना गर्न छुट दिइसकेको छ ।

सरकारले ४० अर्ब रुपैयाँ निब्र्याजी दिएकै दिन नेपाल बैङ्कर्स सङ्घले बैठक गरेर ब्याजदरमा भएको भद्र सहमति तोडिएको जानकारी गराएपछि ब्याजदर बढ्न थालेको हो । सरकारले ब्याजदर नबढोस् भनेर ४० अर्ब रुपैयाँ बैङ्कलाई दिएको थियो तर बैङ्कले यसलाई बेवास्ता गर्दै ब्याजदर बढाउन थालेका छन् । राष्ट्र बैङ्कका अनुसार ४० अर्ब थप भएपछि तरलता बढेर ७१ अर्ब रुपैयाँ पुगेको छ । केही बैङ्कमा समस्या देखिएकोमा अहिले यसलाई बढाइचढाइ गरेको राष्ट्र बैङ्कको विश्लेषण छ । यस्तै अन्तर बैङ्क ब्याजदर पनि १ प्रतिशत हाराहारीमा रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

केन्द्रीय बैङ्कले विदेशबाट कर्जा ल्याउन सकेको छैन । अन्तर्राष्ट्रिय बजारमा डलर मजबुत भएपछि निक्षेप लागत बढ्ने आशङ्कामा बैङ्कले ऋण लिएका छैनन् । यस्तै सीसीआर घटाउँदा गत साउनमा ४८ अर्ब रुपैयाँ तरलता थप भएको छ । अहिले बैङ्कको प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७९ प्रतिशत हाराहारीमा छ ।

पूर्वबैङ्कर अनलराज भट्टराई बैङ्कहरु बढी आक्रामक भएर लगानी गर्दा यसको असर ब्याजदरमा परेको बताउँछन् । बैङ्कले निक्षेप परिचालनअनुसार लगानी गर्नुपर्नेमा आक्रामक हुँदा यसको असर परेको उनको भनाइ छ । २ वर्षयता साधारण निक्षेप घट्दै गएको र मुद्दती बढ्दै गएको भट्टराइले बताए । कतिपय ठूला मुद्दती निक्षेप परिपक्व हुन लागेकाले यसलाई रोक्न पनि बैङ्कहरुले ब्याजदर बढाएको उनले जानकारी दिए ।

बैङ्कको ब्याजदर बढेपछि सबैभन्दा बढी सेयर बजारलाई मार परेको व्यसायी पवन गोल्यानको भनाइ छ । ब्याजदर वृद्धि हुँदा कुनै पनि हिसाबले निक्षेप नबढ्ने उनको भनाइ छ । ब्याजदरले नयाँ उद्योग आउने सम्भावना कम रहेको गोल्यान बताउँछन् ।

भारतमा भन्दा नेपालको ब्याजदर बढी भएको चिनी उद्योगी शशिकान्त अग्रवाल बताउँछन् । यसअघि पनि महँगो रहेको ब्याजदर अब झन् बढेको छ । ‘पर्यटन, कृषि र उत्पादनमूलक क्षेत्रका उद्योग चौपट हुनेछन्,’ उनले भने, ‘उत्पादनशील उद्योगका लागि नेपाल राष्ट्र बैङ्कले ब्याजदर तोक्नु पर्यो ।’ कुनै पनि हालतमा उद्योगका लागि ८ प्रतिशतभन्दा बढी ब्याजदर लगाउन नहुने नीति सरकारले ल्याउनु पर्ने उनको भनाइ छ ।

सबै बैङ्कले निक्षेप बढाउन ब्याजदर बढाएको नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह बताउँछन् । ब्याजदर बढाएपछि ख र ग वर्गका बैङ्कको पनि पैसा वाणिज्य बैङ्कमा आउने भएकाले ब्याजदर बढेको उनको तर्क छ । ‘यो अवस्था सधैँभरि रहने छैन, केही समयपछि ब्याजदर पुरानै अवस्थामा आउँछ,’ शाहले भने, ‘ब्याजदर बढाउँदैमा सबै कुरा समाधान हुँदैन ।’