व्यवसायीमाझ बैङ्कको पत्र–आतङ्क

मुद्दती निक्षेपको ब्याजदर बढेको भन्दै बैङ्कले पुरानो कर्जाको ब्याज बढेको जानकारी गराएका हुन् । हाल निक्षेपमा बढेको ब्याजका आधारमा पुरानो कर्जाको ब्याजदर बढाउन पाइँदैन । तर, बैङ्कले पुराना ऋणको पनि ब्याजदर बढाएका छन् ।

काठमाडौं । धमाधम मुद्दती निक्षेपको ब्याज बढाउन थालेका बैङ्कहरुले व्यसायीलाई दिएको पुराना कर्जाको ब्याज बढाएका छन् । बैङ्कहरुले व्यवसायीलाई पत्र र एसएमएसबाट कर्जाको ब्याजदर बढेको जानकारी गराउन थालेका छन् ।

मुद्दती निक्षेपको ब्याजदर बढेको भन्दै बैङ्कले पुरानो कर्जाको ब्याज बढेको जानकारी गराएका हुन् । हाल निक्षेपमा बढेको ब्याजका आधारमा पुरानो कर्जाको ब्याजदर बढाउन पाइँदैन । तर, बैङ्कले पुराना ऋणको पनि ब्याजदर बढाएका छन् ।

जनता, माछापुच्छ्रे र कुमारी बैङ्कले मुद्दती निक्षेपको ब्याजदर बढाएर १३ प्रतिशत पुर्याएका छन् । एनआईसी एसिया बैङ्कले मुद्दतीको सट्टा कर्जाको ब्याजदर बढाएको पत्राचार गरेको व्यवसायीले जानकारी दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङघका निवर्तमान अध्यक्ष तथा उद्योगी पशुपति मुरारकाले बैङ्कबाट ऋणको ब्याज बढेको पत्र आउन थालेको जानकारी दिए । उनले ट्विट गर्दैै लेखेका छन्, ‘बैङ्कहरुको भद्र सहमति भङ्ग । मुद्दती खातामा ब्याज बढाएर पैसा तान्ने होडबाजी सुुरु । नयाँ दरमा निक्षेप आउन सुरु नहुँदै ऋणको ब्याजदर बढाउने पत्र आउन थाल्यो ।’

यता बैङ्करहरु सम्झौता अनुसार मात्र ब्याजदर बढ्ने बताउँछन् । क्यापिटल नेपालसँग कुरा गर्दै सानिमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवनकुमार दाहालले आधारदर (बेसरेट) बढेका आधारमा मात्र ब्याजदरमा हेरफेर हुन सक्ने बताउँछन् । प्रत्येक ३ महिनामा बेसरेटका आधारमा हेरफेर हुन सक्ने तर स्थिर भए ब्याजदर पनि तलमाथि नहुने उनको भनाइ छ ।

बैङ्क र ऋणसँग कस्तो सम्झौता भएको छ, त्यसमा निर्भर हुन्छ । ‘कुनै ऋणीसँग वर्षको एक पटक मात्र ब्याजदर बढाउने सम्झौता भएको हुन्छ,’ उनले भने । सानिमाले मुद्दती निक्षेप र कर्जा दुवैको ब्याजदर नबढाएको दाहालले स्पष्ट पारे ।

नबिल बैङ्कका सीईओ अनिलकेशरी शाह ब्याजदर वृद्धिले बैङ्कहरु आफैँ पनि समस्यामा पर्ने बताउँछन् । यही अन्तरमा ब्याजदर बढ्ने हो भने आगामी दिनमा ब्याजदरको अन्तर निकै फराकिलो हुने उनले बताए ।

युवा व्यवसायी प्रतापजङ्ग पाण्डेले ट्विट गर्दै, ‘मुद्दती निक्षेपको ब्याज एक साताभित्र १४ प्रतिशत पुग्ने, आखिरी मार ऋणलाई,’ भनेका छन् । पाण्डेले बैङ्कबाट कर्जाको ब्याजदर बढेको एमएमएस आउने लागेकाले त्रसित बनेको बताएका छन् । क्यापिटल नेपालसँग कुरा गर्दै पाण्डेले भने, ‘बैङ्कको ब्याजदर बढेको सूचना आउला भनेर डर लागिरहेको छ ।’

अहिले औसत १३ प्रतिशत कर्जाको ब्याज तिरिरहेका उद्योगले अब १६ प्रतिशतभन्दा बढी तिर्नुपर्ने अवस्था आउन लागेको उनको भनाइ छ । ‘बैङ्कले हामीसँग सल्लाह नगरी एसएमएस गरेर यति ब्याज बढ्यो भनेर जानकारी गराउँछ,’ उनले भने ।

जनता बैङ्कले १२ प्रतिशत र माछापुच्छ्रे बैङ्कले १२.५ प्रतिशत ब्याजदर तोकेका थिए । त्यसको एक दिनपछि नै कुमारी बैङ्कले दुवै बैङ्कलाई पछि पार्दै १३ प्रतिशत ब्याजदर तोकेको छ ।

बैङ्कमा लगानीयोग्य पुँजी (क्रेडिट क्रन्च)मा सङ्कट आएपछि बैङ्कहरुले धमाधम निक्षेपमा ब्याजदर बढाएका हुन् । अधिकांश बैङ्कको सीसीडी रेसियो ७९ प्रतिशत हाराहारीमा छ ।